२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहिदको छोरी आकृतिको सपना देशको सेवा गर्ने



अ+ अ-

चितवन। भरतपुर महानगरपालिका–११ बसेनीस्थित जेनजी आन्दोलनका सहिद सारकुमार राईको घर (डेरा) मा आज केही समयका लागि पीडा भुलाउने वातावरण बन्यो ।

लामो समयदेखि शोक र पीडामा रहेको परिवारमा सहिद राईकी छोरी आकृति राईले माध्यामिक शिक्षा परीक्षा (एसइई)मा राम्रो अङ्कसहित उत्तीर्ण भएपछि खुसी छाएको हो ।

आकृतिको पढाइको जिम्मेवारी लिएका गोल्याण ग्रुपका अध्यक्ष तथा पदाधिकारीको टोली उहाँलाई बधाई दिन घरमै पुगेको थियो । आकृतिकी आमा सुनिता राईले छोरीको सफलताले परिवारमा आशा र आत्मविश्वास बढाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अब आँट आउन थालेको छ । मेरो नानीले केही गर्छे जस्तो लागेको छ ।” उहाँले छोरीको शिक्षामा सहयोग गर्ने गोल्याण ग्रुपप्रति आभार व्यक्त गर्दै दुःख र अन्योलबीच आएको सहयोग परिवारका लागि मलमसरह बनेको बताउनुभयो । परिवारमा परेको पीडाले छोरी पहिलेभन्दा अझ आत्मविश्वासी र समाजमा केही गर्न सक्ने खालकी बनेको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, “पहिले धेरै नबोल्ने छोरी अहिले तीन–चार जना मानिस भएको ठाउँमा बोल्न सक्ने भएकी छ । उसले मलाई सम्झाउने गर्छे ।” गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्याणले आकृतिले पीडालाई पन्छाएर पढाइमा उत्कृष्ट नतिजा ल्याएको बताउनुभयो ।

उहाँले आफूहरूसँगै शिक्षक र परिवारको सहयोगले आकृतिलाई विज्ञान विषय अध्ययनतर्फ अघि बढ्न थप प्रेरणा मिलेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “पीडाबाट कसरी अगाडि बढ्ने भन्ने कुरा आकृतिको पढाइले सिकाउँछ । राम्रो अभिभावक र शिक्षक पाए विद्यार्थी अझ राम्रो गर्न सक्छन् । आकृतिकी आमाले पीडाका बाबजुद ठूलो साथ दिनुभएको छ ।”

उहाँले विद्यार्थी पास मात्रै नभई आत्मनिर्भर बन्न सक्ने खालको हुनुपर्ने बताउँदै विद्यार्थीको चाहना र क्षमताअनुसार शिक्षा प्राप्त गर्न सहयोग गर्दै आएको जानकारी दिनुभयो ।

उदयपुरको चौदण्डीगढी नगरपालिका स्थायी घर भएकी आकृतिले कक्षा ८ देखि भरतपुरस्थित मनशिक्षा मन्दिर माध्यमिक विद्यालयमा अध्ययन गर्दै आउनुभएको हो । उहाँले विद्यालय परिवार र सहयोगी संस्थाको साथले पढाइ सहज भएको बताउनुभयो । उहाँले भन्नुभयो, “गोल्याण के हो भन्ने पहिले थाहा थिएन । भेट भएपछि आफ्नै परिवार जस्तो लागेको छ ।” आकृतिले अब भरतपुरस्थित आरोमा कलेजमा प्लस टु अध्ययन गर्ने बताउँदै भविष्यप्रति आशावादी रहेको धारणा राख्नुभयो । प्लस टु अध्ययनपछि बिएससी नर्सिङ अध्ययन गरी देशमै सेवा गर्ने इच्छा रहेको उहाँले बताउनुभयो ।

मनशिक्षा मन्दिर माध्यमिक विद्यालय का प्रधानाध्यापक इन्द्रेश शाहले आकृति मेहिनती र जिम्मेवार विद्यार्थी रहेको बताउनुभयो । उहाँले पारिवारिक पीडाका बाबजुद विद्यालय र पछि गोल्याण ग्रुपबाट प्राप्त सहयोगले आकृतिमा थप उत्साह आएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “परिवारमा पीडा नभई अनुकूल वातावरण भएको भए आकृतिको बढी अङ्क ल्याउने सम्भावना थियो ।”
अब आृकतिले अध्ययन गर्ने कलेज आरोमा कलेज भरतपुरका प्रिन्सिपल शेरबहादुर क्षेत्रीले आकृतिको अध्ययनका लागि कलेज पूर्णरूपमा सहयोग गर्न तयार रहेको बताउनुभयो । गोल्याण ग्रुपसँग समन्वय गरेर आवश्यक जिम्मेवारी लिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

गोल्याण ग्रुपका कर्पोरेट अफेयर्स, कम्युनिकेशन्स एण्ड पीआर प्रमुख ज्योति गैरेले आकृतिको सफलताको सम्मान स्वरूप घरमा नै आएर भेटेर बधाई कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार आकृति जेनजी आन्दोलनका सहिद परिवारबाट एसइई उत्तीर्ण गर्ने पहिलो सन्तान हुन् ।

जेनजी आन्दोलनका सहिदका ३२ जना बालबालिकालाई गोल्याण ग्रुपले कक्षा १२ सम्म शैक्षिक वृत्ति प्रदान गरिरहेको छ । प्रत्येक विद्यार्थीलाई मासिक रु ४० हजारका दरले वार्षिक रु चार लाख ८० हजार उपलब्ध गराइँदै आएको छ ।

उहाँले चितवनमा आकृतिसहित कक्षा ४ मा अध्ययनरत अर्का एक सहिद परिवारका बालबालिकालाई सहयोग गरिरहेको बताउनुभयो । देशभरका विद्यालय जाने तयारीमा रहेका तथा विभिन्न कक्षामा अध्ययनरत सहिद परिवारका बालबालिकालाई गोल्याण ग्रुपले सहयोग गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

आकृति राई ३.४० जीपीएसहित एसइई उत्तीर्ण भएकी हुनुभएको हो । उहाँ पहिलो एसइई उत्तीर्ण हुने जेनजी आन्दोलनका सहिद परिवारको सन्तान हुनुुहन्छ । रासस