२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रानीजमरा कुलरिया आयोजनाः उत्पादित विद्युत्को हिसाब गर्न सुझाव



अ+ अ-

काठमाडौँ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको रानीजमरा कुलरिया सिँचाइ परियोजनाले नियमित सिँचाइका साथै विद्युत् पनि उत्पादन गर्दै आएको छ ।

सो बिजुलीको हिसाब किताब नभएको देखिएपछि महालेखापरीक्षकको कार्यालयले आयोजनाबाट उत्पादित विद्युत्को हिसाब किताब गर्न सुझाव दिएको हो । महालेखापरीक्षकको कार्यालयले ६३औँ वार्षिक प्रतिवेदनमा आयोजनाबाट उत्पादित बिजुली यकिन गरी प्राधिकरणबाट विद्युत् बिक्री बापतको रकम असुल गर्न सुझाव दिएको छ ।

सो आयोजनाबाट चार दशमलव ७१ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । आयोजनाका अनुसार विसं २०८० मङ्सिरदेखि नियमित विद्युत् उत्पादन भई नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा जोडिँदै आएको छ ।

सिँचाइ आयोजना भए पनि परियोजनामा बिजुलीसमेत उत्पादन भएपछि स्थानीय र सम्बद्ध आयोजनाका अधिकारी पनि उत्साहित भएका छन्। तराई क्षेत्रमा आठ मिटर बराबरको हेड (उचाइ) उपलब्ध भएपछि बिजुली उत्पादन गरिएको आयोजना कार्यालयले जनाएको छ।

उत्पादित बिजुली र आयोजना सञ्चालनको आवश्यक ढाँचा भने तय हुन सकेको छैन । सोही विषयमा महालेखापरीक्षकको प्रतिवेदनमा प्रश्न उठाइएको छ। सिँचाइसँगै बिजुली पनि उत्पादन सुरु भएकाले के कसरी सञ्चालन गर्ने, त्यसबाट प्राप्त हुने आम्दानीको बाँडफाँट कसरी गर्ने भन्नेबारेमा आवश्यक निर्णय नभएकामा किन त्यसो भएको हो भनेर प्रतिवेदनमा प्रश्न उठाइएको हाे ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले त्यसको आवश्यक तयारी गरिरहेको बताए पनि लामो समयसम्म निर्णय हुन सकेको छैन। सो आयोजनाबाट उत्पादित बिजुली व्यवस्थापन सम्बन्धमा मन्त्रालय र प्राधिकरणबीच विसं २०७८ जेठ ११ मा सम्झौता भएको थियाे ।

साेहीअनुसार मान्य अवधि एक वर्षको हुने उल्लेख थियो । सो अवधिपश्चात् म्याद थप गर्नुपर्ने वा सो अवधिभित्र विद्युत् खरिद सम्झौतामा दुवै पक्षले हस्ताक्षर गर्नुपर्ने व्यवस्था गरिएको थियो ।

सो आयोजनाको सिँचाइ नहरमार्फत उत्पादन भएको विद्युत् गृह सञ्चालनमा ल्याई विसं २०८१ माघ २ गते आयोजनालाई हस्तान्तरणसमेत भइसकेको छ। प्रतिवेदनअनुसार दुई करोड ६० लाख ५६ हजार युनिट प्राधिकरणले प्रयोगमा ल्याइसकेको छ। विद्युत् बिक्रीबाट प्राप्त भएको रकम हालसम्म उपलब्ध हुन सकेको छैन ।

सम्झौता भएको एक वर्षभित्र विद्युत् खरिद सम्झौता गर्नुपर्नेमा तीन वर्षभन्दा बढी अवधि व्यतित हुँदा समेत सम्झौता नभएकामा महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको हाे । रासस