• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   के कोहलीले फाइनलका लागि रन बचाएर राखेका हुन् ? ★   भारत र दक्षिण अफ्रिकाबीचको फाइनलमा पानी पर्ने सम्भावना, आज खेल नभए के हुन्छ ? ★   वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छ: प्रधानमन्त्री ★   एग्रिकल्चर गेम रियालिटि शो ‘र’कोआबेदन खुल्ला: खोकनामा रोपाई गर्दै राजेश हमाल- फोटो फिचर ★   भोलिदेखि सुरु हुने नेकपा एसको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा ★   धान दिवस: रोपाइँको रौनक-फोटो फिचर  ★   युरो कपका नकआउट चरणका खेल आजबाट, जर्मनी र डेनमार्क तथा इटाली र स्वीट्जरल्यान्ड भिड्दै ★   मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी ★   कृषि उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड ★   वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’बाट

एम्बुलेन्स चालकसँग बिरामी ‘खरिद’ गर्ने अस्पतालको रणनीति, एक बिरामी ल्याउनेलाई सात हजार कमिसन



काठमाडौंको नेपाल नेसनल हस्पिटलले एकैपटक ३५ एम्बुलेन्सचालक भेला गरेर चितवनको न्यु पिस फेमिली कटेजमा भोज दियो, हस्पिटलका बिजनेस डेभलपमेन्ट अफिसरले जुनसुकै रोगका बिरामी ल्याएमा सात हजार कमिसन दिने घोषणा गर्दै ज्याकेट पनि वितरण गरे 

काटमाडौं । स्वास्थ्य क्षेत्रमा विकृति बढ्दै जाँदा उपचार र विश्वसनीयताका आधारमा होइन, कमिसनका आधारमा बिरामी जम्मा गर्ने प्रतिस्पर्धा बढेको छ । यही क्रममा काठमाडौंको नेपाल नेसनल हस्पिटलले एउटा बिरामी ल्याउने एम्बुलेन्सचालकलाई सात हजार कमिसन दिने घोषणा गरेको छ । बुधबार चितवनका करिब ३५ एम्बुलेन्सचालकलाई न्यु पिस फेमिली कटेजमा बोलाएर भोजसहित ज्याकेट पनि वितरण गरिएको छ । भरतपुर–१० सप्तगण्डकी रोडमा रहेको न्यु पिस फेमिली कटेज रेस्टुरेन्ट एन्ड लजमा बुधबार एम्बुलेन्स चालकको भेला गरिएको हो ।

उपस्थितमध्ये दुई एम्बुलेन्स चालक बुटवलबाट आएका थिए भने बाँकी चितवनकै हुन् । नेपाल नेसनल हस्पिटल कलंकीका बिजनेस डेभलपमेन्ट अफिसर समीर शर्मा अस्पतालको अफर लिएर सो कटेजमा पुगेका थिए । उनले एम्बुलेन्स मगाउने आफन्तलाई प्रभावित गरेर बिरामीलाई आफ्नो अस्पतालमा ल्याइदिन चालकहरूलाई आग्रह गरेका थिए । जुनसुकै रोगको बिरामी भए पनि आफ्नै अस्पतालमा ल्याइदिन उनको जोड थियो ।

स्वतन्त्र रूपमा अस्पताल छान्न पाउने बिरामी र आफन्तको अधिकार कुण्ठित गर्न यस्तो भेला आयोजना गरिएकोमा चितवन प्रहरीको पनि ध्यानाकर्षण भएको छ । ‘काठमाडौंको कलंकी चोकमा रहेको नेपाल नेसनल हस्पिटलका प्रतिनिधिको उपस्थितिमा एम्बुलेन्स चालक भेला भएका रहेछन्, एकजना बिरामी अस्पताल पुर्याएबापत सात हजार रुपैयाँ कमिसन चालकलाई दिने प्रतिबद्धता अस्पतालका प्रतिनिधिले व्यक्त गरेछन्,’ जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दानबहादुर मल्लले भने, ‘यो चरम विकृति हो, तर समयमै जानकारी नभएकाले उनीहरूलाई पक्राउ गर्न सकिएन ।’

बिरामी र आफन्तलाई शोषण गर्ने यस्तो विकृतिलाई सहन नसकिने उनले बताए । ‘यो गैरकानुनी काम हो, हामी छानबिन गर्छौँ, दोषीमाथि कारबाही गर्छौँ,’ एसपी मल्लले भने । चितवन एम्बुलेन्सचालक समितिका सचिव सुवास तामाङले पनि एम्बुलेन्सचालकहरू भेला भएको स्विकारे । तर, बिरामी ‘किनबेच’को विषयमा छलफल नभएको उनको दाबी छ । ‘भेलामा कुनै भोजभतेर भएको छैन, कमिसन लिने कुरा पनि भएको छैन । सामान्य अन्तक्र्रिया मात्र भएको हो,’ उनले भने, ‘भेलामा ट्राफिक नियमबारे छलफल भयो ।’

उनले ट्राफिक नियमबारे अन्तक्र्रिया भएको बताए पनि कार्यक्रममा एकजना पनि ट्राफिकको उपस्थिति थिएन । उनले भेलामा सहभागी चालकलाई नेपाल नेसनल हस्पिटलले ज्याकेट वितरण गरेको भने स्विकारे । ज्याकेटको भारी र पैसाको प्रलोभन बोकेर चितवन पुगेका अस्पतालका बिजनेस डेभलपमेन्ट अफिसर शर्माले यस्तो विषयमा चासो राख्न नमिल्ने बताए । ‘साथीभाइबीच भेटघाट हो, यसमा तपाईंलाई किन चासो भयो ?’ उनले भने ।

उनले बुधबार बेलुका नै आफू काठमाडौं फर्किँदै गरेको जानकारी गराउँदै भने, ‘म मुग्लिन आइपुगेँ, कुरा गर्ने भए यहीँ आउनुस्, अरू म थप बोल्दिनँ ।’ संयुक्त एम्बुलेन्स चालक संघका केन्द्रीय अध्यक्ष नवराज लामिछानेले भने चितवनमा त्यस्तो भेला भएको विषयमा आफूहरूलाई कुनै जानकारी नभएको बताए । ‘बिरामीसँग दलाली गर्न अस्पतालले एम्बुलेन्स चालकको भेला राखेको हुन सक्छ,’ उनले भने, ‘त्यस्तो भएको रहेछ भने प्रहरीले समितिका पदाधिकारी र अस्पताललाई कारबाही गर्नुपर्छ ।’

समयमा थाहा नपाउँदा पक्राउ गर्न सकिएन, तर छानबिन हुन्छः दानबहादुर मल्ल, चितवन प्रहरी प्रमुख:काठमाडौंको अस्पतालबाट आएर चितवनका एम्बुलेन्सचालकको भेला बोलाएछन् । प्रत्येक बिरामी अस्पताल पुर्याएबापत सात हजार रुपैयाँ कमिसन दिने प्रलोभन अस्पतालका प्रतिनिधिले दिएछन्, समयमै जानकारी नभएकाले उनीहरूलाई पक्राउ गर्न सकिएन । तर, बिरामी र आफन्तलाई शोषण गर्ने यस्तो विकृतिलाई सहन सकिँदैन । यो गैरकानुनी काम हो, हामी छानबिन गर्छौँ, दोषीमाथि कारबाही गर्छौँ ।

एम्बुलेन्सले झुक्याएर निजी अस्पताल पुर्याउँदा विपन्न परिवारको बिजोग: मकवानपुर, बसामाडी–३ की सोनु तामाङकी नवजात छोरी रेचेन गत साउनमा बिरामी भइन्, रेचेन एक महिना आठ दिनकी मात्र थिइन् । उनलाई श्वासप्रश्वासको समस्या भयो । आफन्तले काठमाडौंको कान्ति बाल अस्पताल पुर्याउन सल्लाह दिए । विपन्न परिवारले ऋण खोजेर एम्बुलेन्स मगायो । काठमाडौं ल्याएर अस्पतालमा उपचार पनि सुरु भयो । बिरामीलाई भेन्टिलेटरमा राखियो । लगत्तै ठूलो रकम डिपोजिट मागियो ।

तब मात्र थाहा भयो, शिशुलाई महाराजगन्जको कान्ति बाल अस्पतालमा होइन, नजिकैको अन्तर्राष्ट्रिय मैत्री बाल अस्पताल लगिएको रहेछ । एम्बुलेन्स चालकले केही हजार कमिसनका लागि ढाँटेर निजी अस्पताल लगे । तर, बिरामीका विपन्न आफन्तलाई लाखौँको भार पर्यो । अस्पतालमा दिनमा १६ हजारका दरले बिल उठिरहेको थियो । रेचेनलाई ल्याउनासाथ भेन्टिलेटरमा राखिएको थियो त्यसैले आफन्तले अस्पताल सार्न सकेनन् । परिवारले एक लाख ५० हजार धरौटी राखेको थियो । २६ दिन राख्दा चार लाख बिल उठ्यो ।

शिशुका पिता वैदेशिक रोजगारमा छन् । उनले विदेश जाँदा लागेको ऋण तिर्न सकेका छैनन् । भर्खरै जन्मिएकी छोरीको उपचारमा लागेको खर्चले परिवार आर्थिक रूपमा थला पर्यो । ‘श्रीमान् विदेश हुनुहुन्छ, मेरो कमाइ छैन, भर्खरकी सुत्केरी हुँ, काठमाडौं आएकी छु । ऋण खोज्न कहाँ जाने ? सरकारी अस्पतालमा भए औषधिको बिल जेनतेन तिर्थेँ होला,’ सोनुले त्यतिवेलै भनेकी थिइन् । उनले छोरीलाई कान्ति अस्पताल सार्न खोजेकी थिइन् । तर, चार लाख बिल तिर्न नसकेकाले अस्पतालले डिस्चार्ज दिएन ।

बिल थपिँदै गयो, तर शिशुको स्वास्थ्यमा सुधार आएन, अन्ततः उनको मृत्यु भयो । बिरामीका आफन्तलाई ढाँटेर निजी अस्पताल पुर्याइएको र आर्थिक शोषण गरिएको नयाँ पत्रिकालगायत मिडियाले समाचार लेखेपछि अस्पतालले बाध्य भएर छुट दियो । एक लाख रुपैयाँ तिरेर सोनुले छोरीको शव अस्पतालबाट लिएर गइन् । यसरी मिडियाको नजरमा पर्ने र आवाज उठेपछि अस्पतालले छुट दिने घटना विरलै हुन्छन् । चुपचाप यसरी ठगिनेको हिसाबकिताब नै छैन । नयाँ पत्रिका दैनिकबाट