१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध

प्रतिनिधिसभा नियमावली मस्यौदा प्रतिवेदनमाथि सैद्धान्तिक छलफल, बहुमतले प्रस्ताव स्वीकृत

प्रतिनिधिसभा नियमावली मस्यौदा प्रतिवेदनमाथि सैद्धान्तिक छलफल, बहुमतले प्रस्ताव स्वीकृत
अ अ+ अ-

काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ माथि सैद्धान्तिक छलफल भएको छ । छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका मोहनलाल आचार्यले नियमावली विशेष कानुनका रुपमा रहन नहुने भन्ने विपक्षी दलका तर्फबाट उठाइएको प्रश्नबारे टिप्पणी गर्दै संसदीय अभ्यासमा संसद्ले आफ्नो नियम आफैँ बनाउन पाउने संसारभरकै अभ्यास रहेको बताउनुभयो ।

सोही पार्टीका विपिनकुमार आचार्यले सत्ता पक्ष र प्रतिपक्षको समर्थन र विरोधको शैलीलाई गुण र दोषका आधारमा हेर्ने पद्धति नियमावलीले गर्नुपर्नेमा जोड दिनुभयो । सोही पार्टीका मनिष खनालले प्रतिनिधिसभाको विशेषाधिकार कायम राख्दा सदनको गरिमा उच्च हुने टिप्पणी गर्नुभयो । रास्वपाकै गणेश कार्कीले नियमावली बनाउने विषयमा यो पक्ष वा त्यो पक्ष नभई प्रस्तुत हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

बैठकमा समितिका सभापति गणेश पराजुलीले मस्यौदा प्रतिवेदनमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो । नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङले प्रधानमन्त्री र मन्त्रीलाई सदनप्रति जिम्मेवार बनाउन नियमावलीमा स्पष्ट व्यवस्था गर्न माग गर्नुभयो । नेकपा (एमाले) का ऐनबहादुर महरले प्रतिनिधिसभामा जनताका आवाज प्रस्तुत गर्ने थलोका रुपमा स्थापित गर्न शून्य समयको समय बढाउने, प्रधानमन्त्री र मन्त्रीलाई थप जवाफदेही बनाउनुपर्ने लगायतका प्रस्तावहरू मस्यौदा समितिमा सुनुवाइ नभएपछि फरक मत राखिएको बताउनुभयो ।

यसैगरी, सोही पार्टीका मोहम्मद इस्तियाक राईले नेपालको संविधान र प्रचलित कानुनभन्दा माथि प्रतिनिधिसभा नियमावली हुन नसक्ने धारणा व्यक्त गर्दै विगतका नियमावलीमा भएको व्यवस्थालाई हेरफेर गरेर सरकारलाई सदनप्रति जवाफदेही नबनाउन खोजिएको होकि भन्ने आशङ्का व्यक्त गर्नुभयो । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का युवराज दुलालले संसद्लाई देश र जनताका पक्षमा नीतिनियम बनाउने थलोका रुपमा स्थापित गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । सोही पार्टीका बलावती शर्माले सदनलाई मर्यादित र सम्मानित बनाउँदै सरकारलाई जवाफदेही र उत्तरदायी बनाउनुपर्ने खाँचो औँल्याउनुभयो । श्रम संस्कृति पार्टीका आरेन राईले संसदमा प्रतिनिधित्व गर्ने साना दललाई पनि उत्तिकै स्थान दिने गरी नियमावली ल्याउन माग गर्नुभयो ।

सोही पार्टीका पूर्णप्रसाद लिम्बूले पनि प्रस्तावित नियमावलीलाई परिमार्जन गर्न अनुरोध गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका सरस्वती लामाले अन्य कानुनभन्दा माथि हुने गरी नियमावलीका कतिपय व्यवस्था प्रस्ताव गरिएकामा चिन्ता व्यक्त गर्नुभयो । सोही पार्टीका भरत गिरीले सदनमा सत्ता पक्षलाई मात्र नभई विपक्षीका आवाजलाई मुखरित गर्ने प्रबन्ध हुनुपर्ने बताउनुभयो । छलफलमा कांग्रेसका गङ्गालक्ष्मी अवाल, एमालेका साजिदा खातुन सिद्धिकी, यशुदाकुमारी बराल र राप्रपाका ताहिर अलि भाटले भाग लिनुभयो । छलफलमा उठेका विषयमाथि जवाफ दिँदै समितिका सभापति पराजुलीले हालसम्मका संसदीय नियमावलीको अभ्यास र विकासक्रमलाई ध्यान दिएर मस्यौदा प्रस्ताव गरिएको स्पष्ट गर्नुभयो ।

उहाँले मस्यौदामाथि आउने संशोधन प्रस्तावका आधारमा पछि थप छलफल गर्ने आश्वासन दिनुभयो । छलफलपछि समितिको मस्यौदा समितिको प्रतिवेदनमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । प्रतिनिधिसभाको पहिलो अधिवेशनमा गठित १५ सदस्यीय समितिले चालु दोस्रो अधिवेशनको पहिलो बैठक (वैशाख २८) मा मस्यौदा प्रतिवेदन प्रस्तुत गरेको थियो । नयाँ नियमावली नआएको विद्यमान अवस्थामा २०७९ सालको प्रतिनिधिसभा नियमावलीबाट कार्यसञ्चालन भइरहेको छ ।