३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा

पार्टी र जनताबीच दूरी बढ्यो भने राजनीतिक आन्दोलनको मर्म कमजोर हुन्छ

पार्टी र जनताबीच दूरी बढ्यो भने राजनीतिक आन्दोलनको मर्म कमजोर हुन्छ
अ+ अ-

३३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा नेपाली कम्युनिष्ट आन्दोलनका दूरदर्शी नेता, जनताको बहुदलीय जनवाद (जबज)का प्रवर्तक जननेता मदन भण्डारी तथा कुशल संगठक जीवराज आश्रितप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।

साथै, उहाँहरूको स्मृति नेपाली राजनीति, लोकतान्त्रिक आन्दोलन र राष्ट्रिय चेतनामा सदैव सम्मानका साथ जीवित रहनेछ भन्ने विश्वास व्यक्त गर्दछु।

जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितले नेपाली कम्युनिष्ट आन्दोलनलाई केवल संगठनात्मक उचाइमा मात्र होइन, वैचारिक स्पष्टता र जनमुखी राजनीतिक संस्कारको नयाँ चरणमा पुर्‍याउनुभएको थियो।

उहाँहरूले राजनीति भनेको जनताको जीवनसँग जोडिएको विषय हो, जनताको विश्वासबाट निर्देशित हुनुपर्छ भन्ने मान्यतालाई अझ गहिरोसँग स्थापित गर्नुभयो।

आज हामीले गौरवका साथ स्मरण गर्ने नेकपा (एमाले)ले मार्गदर्शक सिद्धान्तका रूपमा अवलम्बन गरेको “जनताको बहुदलीय जनवाद” नेपाली समाजको यथार्थमा आधारित मौलिक राजनीतिक विचार हो। यसलाई हामीले नेपालमा मार्क्सवादको सिर्जनात्मक प्रयोगको रूपमा आत्मसात गरेका छौँ।

यसले लोकतन्त्र, राष्ट्रियता, सामाजिक न्याय र समृद्धिको यात्रालाई मार्गदर्शन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई जनताको भरोसायोग्य राजनीतिक शक्तिका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

जबजको मूल मर्म भनेको जनताको मत, जनताको अधिकार र जनतामाथिको अटुट विश्वास हो। बहुदलीय प्रतिस्पर्धा, लोकतान्त्रिक अभ्यास, राष्ट्रिय स्वाभिमान र सामाजिक रूपान्तरणलाई एकसाथ अघि बढाउने यसको दृष्टिकोण आज पनि उत्तिकै सान्दर्भिक छ।

यसैगरी, जीवराज आश्रितले पार्टी संगठन निर्माण, कार्यकर्ता प्रशिक्षण, अनुशासन र वैचारिक प्रतिबद्धताको विकासमा पुर्‍याउनुभएको योगदान अत्यन्त महत्वपूर्ण छ। उहाँहरूको यही समर्पण, सादगीपन, संगठनप्रतिको निष्ठा र जनतासँगको सम्बन्ध राजनीतिक कार्यकर्ताका लागि सधैँ प्रेरणाको स्रोत बनिरहनेछन्।

विगतका उपलब्धिहरूसँगै वर्तमानका चुनौतीहरूप्रति पनि हामी गम्भीर हुन आवश्यक छ। यदाकदा सिद्धान्त र व्यवहारबीच देखिने असन्तुलनका कारण समाजमा प्रश्नहरू उठ्ने गरेका छन्।

जनताको विश्वास नै कुनै पनि राजनीतिक शक्तिको सबैभन्दा ठूलो शक्ति हो।

यदि पार्टी र जनताबीच दूरी बढ्यो भने राजनीतिक आन्दोलनको मर्म कमजोर हुन्छ। त्यसैले हामीले जनताका भावना, अपेक्षा र समस्यालाई नजिकबाट बुझ्नुपर्छ।

राजनीति जनसेवा र समाज रूपान्तरणको अभियान हो भन्ने मान्यतालाई स्थापित गर्न अविचलित ढङ्गले क्रियाशील हुनै पर्दछ।

आज मदन–आश्रितको स्मृतिको अवसरमा हामीले आत्मसुधार, एकता, जनतासँगको सम्बन्ध सुदृढीकरण तथा राष्ट्र र जनताको हितलाई सर्वोपरि राखेर अघि बढ्न प्रेरणा लिनुपर्छ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र विकासको यात्रामा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।

अब पार्टीले पुनः जनविश्वासलाई अझ सुदृढ बनाउन जनमुखी कार्यशैली, आत्मअनुशासन र सेवा भावलाई व्यवहारमा उतार्नुपर्छ।

कार्यकर्ताहरू जनताको बीचमा पुग्नुपर्छ, जनताको दुःख–सुखमा सहभागी हुनुपर्छ र समाजमा सकारात्मक राजनीतिक संस्कार निर्माणमा सक्रिय हुनुपर्छ।

म विशेष रूपमा युवापुस्ताप्रति केही कुरा भन्न चाहन्छु। युवा शक्ति राष्ट्र निर्माणको सबैभन्दा ठूलो आधार र सम्भावना हो।

शिक्षा, प्रविधि, उद्यमशीलता, उत्पादन र नवप्रवर्तनसँग युवालाई प्रभावकारी रूपमा जोड्न सकियो भने नेपालले विकास, रोजगारी र समृद्धिको नयाँ ढोका खोल्न सक्छ।

त्यसैले युवामा आशा, आत्मविश्वास र स्वदेशमै भविष्य निर्माण गर्ने वातावरण सिर्जना गर्नु आजको प्रमुख आवश्यकता हो। त्यसैले अब हाम्रा क्रियाकलापहरूलाई युवा पुस्तामा केन्द्रित गरिनु आवश्यक छ।

जननेता मदन भण्डारी र जीवराज आश्रितले देख्नुभएको समतामूलक, समृद्ध र आत्मनिर्भर नेपालको सपना अझै पूरा गर्न बाँकी छ।

उहाँहरूप्रति सच्चा श्रद्धाञ्जली भनेको उहाँहरूको विचार, आदर्श र जनमुखी राजनीतिक संस्कारलाई व्यवहारमा उतार्नु हो।

त्यसैले, यो स्मृति दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा होइन वैचारिक पुनर्जागरण र नयाँ संकल्पको अवसरका रूपमा लिन म सबैमा आग्रह गर्दछु।

जनताको बहुदलीय जनवादको मूल मर्मलाई आत्मसात् गर्दै लोकतन्त्र, राष्ट्रिय एकता, सुशासन र समृद्ध नेपालको लक्ष्य प्राप्तिका लागि हामी सबै एकताबद्ध भएर अघि बढौँ।

अन्त्यमा, जननेता मदन भण्डारी र जीवराज आश्रितप्रति पुनः हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूको विचार र आदर्शले राष्ट्रलाई सही दिशातर्फ डोर्‍याइरहोस् भन्ने कामना गर्दछु।

धन्यवाद।

पूर्व राष्ट्रपति श्रीमति विद्यादेवी भण्डारीज्यूले ३३औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा आयोजित समारोहमा गर्नुभएको सम्बोधन