८ आश्विन २०८१, मंगलवार
,
Latest
अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा प्रधानमन्त्री ओलीले भने– नेपाल सधैं शान्तिको पक्षमा मौसममा फेरि फेरबदल : कृषि क्षेत्रमा असर पर्नसक्ने सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने  परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौं : इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् आंशिक फेरबदल हुने



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यसम्पादनमा कमजोर रहेका केही मन्त्रीहरूलाई मात्रै हटाएर मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् । नेकपा सचिवालयको आइतबारको बैठकमा केही मन्त्रीहरू मात्रै हेरफेर गरी पुनर्गठन गर्ने विषयमा सहमति जुटेको सचिवालयका एक सदस्यले जानकारी दिए । ‘यसअघि सबैलाई हटाएर नयाँ अनुहार ल्याउने कि भन्ने पनि थियो तर आज (आइतबार) कार्यसम्पादनका आधारमा केहीलाई हटाउने र अन्यलाई निरन्तरता दिने भन्नेमा मोटामोटी समझदारी बनेको छ,’ ती सदस्यले भने, ‘अरू त प्रधानमन्त्रीको अधिकार हो, हेरौं के गर्नुहुन्छ ।’

उनले मन्त्रीहरूको काम हेरेर राख्ने या बिदाइ गर्ने निर्णय गर्न प्रधानमन्त्रीलाई लगभग सबै सदस्यले सुझाव दिएको बताए । ‘भ्रष्टाचार गर्ने, राम्रो कार्यसम्पादन नगर्ने, आफ्नो मात्रै स्वार्थ हेर्नेहरूलाई बिदाइ गर्नुपर्यो, राम्रा, काबिल र गतिशील साथीहरूलाई मन्त्रिपरिषद्मा समावेश गर्नुपर्यो,’ उनले बैठकमा प्रधानमन्त्रीलाई दिइएको सुझाव उल्लेख गर्दै भने । मन्त्रिपरिषद् हेरफेरबारे अनावश्यक हल्ला नगर्न पनि सदस्यहरूले दुई अध्यक्षलाई सुझाव दिएका छन् ।

मन्त्रिपरिषद् गठन गर्ने हो भने पनि ‘हल्ला नगरी टुंगो लगाउनुस्, यो सुटुक्क गर्ने कुरा हो’ भनेर आफूहरूले प्रधानमन्त्रीलाई सुझाव दिएको ती नेताले बताए । प्रधानमन्त्रीले आफूहरूको कुरा सुनेको र सुझाव मनन गर्ने जवाफ दिएको नेकपा स्रोतको भनाइ छ । ‘उहाँले मन्त्रीहरूको कामकै आधारमा निर्णय गर्ने जानकारी हामीलाई दिनुभएको छ तर हेरफेर गर्ने मिति भने तोक्नुभएन,’ ती नेताले भने । सचिवालय बैठक बोलाउनुअघि प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसँग परामर्श गरेका थिए ।

दुई अध्यक्षबीच सोमबार पनि मन्त्रिपरिषद् पुनर्गठनको विषयमा कुरा हुनेछ । दुई अध्यक्षबीच सोमबार हुने छलफलले मन्त्रिपरिषद् सोमबारै वा अलिक दिनपछि पुनर्गठन गर्ने भन्ने निश्चित हुनेछ । दुई अध्यक्षबीच हटाउने र नयाँ ल्याउने व्यक्तिका बीचमा छलफल हुनेछ । फेरि उठ्यो पोलिटब्युरो गठनको कुराबैठकमा वरिष्ठ नेता माधव नेपालले पार्टीको पोलिटब्युरो गठन गर्नुपर्ने बताएका थिए ।

उनले विधानमै भएको पोलिटब्युरो गठन गरेर पार्टी संगठनलाई चुस्त–दुरुस्त बनाउन आग्रह गरेको सचिवालय स्रोतले जनायो । ‘माधव कमरेड अघिल्ला केही बैठकहरूमा भन्दा यसपालि खुलेर बोल्नुभयो,’ स्रोतले भन्यो, ‘उहाँले पार्टी संगठन सुदृढ बनाउने विषयमा आफ्नाधारणा राख्नुभएको थियो ।’ नेपालको प्रस्तावमा प्रधानमन्त्री ओली सकारात्मक देखिएका छन् । ओलीले सचिवालयको आउँदो बैठकमा पोलिटब्युरो गठनका विषयमा छलफल गर्ने आश्वासन नेता नेपाललाई दिएका छन् ।

बैठकमा नेता नेपालले विभागहरूलाई पूर्णता दिनुपर्ने र पार्टी संगठनका आगामी निर्णय मापदण्डका आधारमा नै हुनुपर्ने बताएका थिए । नेकपाको विधानमा केन्द्रीय समितिको एकतिहाइ नघट्ने गरी पोलिटब्युरो गठन गर्नुपर्ने प्रावधान छ । नेपालले त्यही प्रावधानअनुसार गठन गर्न निरन्तर माग राखिरहे पनि उनको कुरा सुनुवाइ भएको छैन । उनले गत पुसमा बसेको पार्टी स्थायी कमिटी बैठकमा पनि पोलिटब्युरो गठन गर्नुपर्ने बताएका थिए ।

प्रवास समन्वय कमिटी गठन: बैठकले प्रवास समन्वय कमिटीको नेतृत्व टुंगो लगाएको छ । कमिटीको इन्चार्जमा विन्दा पाण्डे, सहइन्चार्ज लक्ष्मण पन्त, अध्यक्ष युवराज चौलागाईं, सचिव श्रीप्रसाद साह र सदस्यमा तिल विक चयन भएका छन् ।

उक्त कमिटीले प्रवासी नेपालीबीचमा सम्बन्ध र समन्वयका लागि काम गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘कमिटीले नेकपामा आस्था राख्ने प्रवासका नेपालीहरूबीच एकता र मेलमिलापको भाव कायम राख्न आवश्यक गर्दा भूमिका खेल्नेछ,’ प्रवक्ता श्रेष्ठले भने । नेकपाले यसअघि नै प्रवासमा पार्टी कमिटी गठन नगर्ने निर्णय गरेको थियो । कान्तिपुर दैनिकबाट