• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छ: प्रधानमन्त्री ★   एग्रिकल्चर गेम रियालिटि शो ‘र’कोआबेदन खुल्ला: खोकनामा रोपाई गर्दे राजेश हमाल- फोटो फिचर ★   भोलिदेखि सुरु हुने नेकपा एसको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा ★   धान दिवस: रोपाइँको रौनक-फोटो फिचर  ★   युरो कपका नकआउट चरणका खेल आजबाट, जर्मनी र डेनमार्क तथा इटाली र स्वीट्जरल्यान्ड भिड्दै ★   मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी ★   कृषि उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड ★   वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’बाट ★   दाङको राजपुर गाउँपालिका भरिबाट एसइईमा एकजना मात्रै उत्तीर्ण ★   नयाँ वाम विकल्प दिनेगरी पार्टीको नेतृत्व चयन हुन्छः घनश्याम भुषाल

कृषकमा खुशियाली



परासी । तुरिया सिँचाइ आयोजना सम्पन्न भएपछि यस क्षेत्रका कृषक हर्षित भएका छन् ।

प्रदेश नं ५ सरकारको ठूलो लगानीमा पश्चिम नवलपरासीको रामग्राम–१५ शुक्रौलीमा तुरिया सिँचाइ आयोजनाको निर्माण कार्य सम्पन्न भएपछि खेतीपातीका लागि सहज रुपमा सिँचाइ उपलब्ध हुने भएकाले उनीहरु हर्षित भएका हुन् ।

सिँचाइ आयोजना क्षेत्रमै नदी कटान नियन्त्रणका लागि तटबन्धसमेत गरिएपछि यहाँका कृषकले राहत महसुस गरेका छन् । “वर्षौंदेखि सिँचाइ र नदी कटानको समस्याले हामी पीडित थियौँ, अहिले सिँचाइ र तटबन्धको व्यवस्था भएपपछि हामी धेरै नै खुशी छौँ, प्रदेश सरकारलाई धन्यवाद छ”, स्थानीय कृषक देव पाण्डेले भन्नुभयो ।

सिँचाइ सुविधा पुगेपछि यहाँका कृषकलाई अन्नबाली तथा तरकारी उत्पादनमा सहज भएको छ । सिँचाइ आयोजनाबाट बाह्रै महिना सिँचाइ सुविधा पुग्न थालेपछि अन्नबालीसँगै कृषक व्यावसायिक कृषिमा आकर्षित भएका हुन् । प्रदेश नं ५ सरकारको रु सात करोडको लागतमा साढे दुई वर्षमै तुरिया नदीमा सिँचाइ आयोजना निर्माण र तटबन्ध गरेको हो । यो आयोजनाबाट रामग्राम–१५, १६ र १० का दुई हजार बढी कृषक लाभान्वित भएको तुरिया सिँचाइ उपभोक्ता समितिका सचिव राममिलन शहानीले बताउनुभयो । आयोजनाबाट शुक्रौली, हुकई र लङ्कहवासहित आसपासको करीब १०० बिघा जमीन सिञ्चित भइरहेको छ ।

यसअघि सिँचाइको असुविधाको कारण यहाँका कृषक आकाशे पानीको भर पर्नुपर्ने बाध्यता थियो । नदी नजिकका कृषकले माटोको बाँध बनाएर सिँचाइ गर्दै आएका थिए । सिँचाइकै समस्याले छ÷सात महिनामात्र खेती गर्नुपर्ने बाध्यता अहिले हटेको उपभोक्ता समितिका अध्यक्षसमेत रहनुभएका कृषक प्रकाश खड्काले बताउनुभयो । अब बाह्रै महिना खेती गर्न सहज भएको उहाँको भनाइ छ ।

तुरिया नदीको कटान रोक्न सिँचाइ आयोजनाको दुवैतर्फ हाललाई २००÷२०० मिटर तटबन्ध निर्माण गरिएको छ । यसलाई क्रमशः विस्तार गर्दै जाने आयोजनाले जनाएको छ । तटबन्धपछि बाढीको जोखिम हटेको छ भने नदीले कटान गर्दा खेत नै बगरमा परिणत हुने समस्या टरेको छ ।

नदी किनारमा तटबन्ध भएपछि जोखिम कम भएको उपभोक्ता समितिका सचिव शहानीले बताउनुभयो । “तटबन्धले बाढीको जोखिम हटेको छ, खेतीयोग्य जग्गा पनि कटान र डुबानबाट जोगिने आशा जागेको छ”, उहाँले भन्नुभयो । तटबन्ध गर्नुअघि नदी कटान र बाढीबाट जोगिन स्थानीयले माटोको बोराले नदी नियन्त्रणको प्रयास गर्दै आएका थिए ।

वर्षेनी तुरिया नदीको कटान र डुबानको समस्या भएपछि प्रदेश नं ५ सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीको विशेष पहलमा यो आयोजनामा बजेट विनियोजन भएको थियो ।
किसानको आशा
सिँचाइ आयोजनाले बाह्रै महिना पानी उपलब्ध हुने र खेतीपाती पनि राम्रो हुने भएकाले कृषिको उत्पादन र उत्पादत्वमा वृद्धि हुने यहाँका किसानको आशा छ । व्यवस्थित सिँचाइ नभएका कारण यहाँका किसानले प्रत्येक वर्ष करिब ४ महिनासम्म तुरिया नदीमा माटोको बाँध बनाएर वर्षे धानका लागि सिँचाइको व्यवस्था गर्दै आएका थिए ।

यहाँका किसानले बर्सेनि बाँध बनाउन श्रमदान गर्दै आएका भए पनि सिँचाइ प्रणाली व्यवस्थित नभएका कारण यहाँका हजारौं किसानको मिहिनेत बर्सेनि बालुवामा पानीजस्तै हुँदै आएको थियो ।