१२ श्रावण २०८३, मंगलवार
,
Latest
विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण लमजुङ र मनाङका जनप्रतिनिधिबाट डुम्रे–बेसीशहर–चामे सडकको संयुक्त अनुगमन झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व संकलन काँकरभिट्टाबाट गत आवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना संसदीय सुनुवाइ समितिको बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा बाढीजन्य विपद्बाट प्रभावित हुनसक्ने परिवारको पहिचान



अ+ अ-

झापा। नेपाल रेडक्रस सोसाइटी झापाले मनसुनमा बाढीजन्य विपद्बाट प्रभावित हुनससक्ने परिवारको पहिचान गरेको छ ।

मौसम पूर्वानुमान र बाढीको प्रकोपबाट विगतमा प्रभावित भूभागहरूको अध्ययन र विश्लेषणका आधारमा जिल्लाका नदी तटीय क्षेत्रका आठ हजार ९१५ परिवार सम्भावित जोखिम रहेको जनाइएको छ । रेडक्रमसले हरेक वर्ष ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना’ सार्वजनिक गर्दै आएको छ ।

यस वर्षको मनसुनमा जिल्लाका १४ पालिकाका ११ वटा नदीमा आउनसक्ने बाढी र त्यसबाट प्रभावित हुनसक्ने परिवारको तथ्याङ्क प्रक्षेपण गरी सोहीअनुसार तयारीका लागि सार्वजनिक गरिएको रेडक्रस झापा शाखाका अधिकृत हरिशरण खड्काले जानकारी दिनुभयो ।

‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८३’मा उल्लेख भएअनुसार यहाँ रहेका नदीमध्ये कनकाईबाट दुई हजार २४९, मेचीबाट एक हजार ९०, बिरिङबाट दुई हजार ११५, रतुवाबाट एक हजार ३३०, निन्दाबाट १५०, कमल र बनियानीबाट एक हजार १५ परिवार, हडियाबाट १७५ परिवार, देवनियाबाट ४४५ र टाङटिङ तथा नेतेबाट ३५० परिवार प्रभावित हुने प्रक्षेपण गरिएको छ ।

कनकाई नदीले झापा गाउँपालिकाको वडा नं १, २, ३ र ७, गौरीगञ्ज गाउँपालिकाको वडा नं १ र २, शिवसताक्षी नगरपालिकाको वडा नं ४, ५, ६, ७ र १० मा र कनकाई नगरपालिकाको वडा नं ४ मा २४९ घरधुरीलाई प्रभावित पार्नसक्ने जनाइएको छ ।

यसैगरी, बिरिङ नदीले कनकाई नगरपालिकाको वडा नं ६ र ९, बाह्रदशी गाउँपालिकाको वडा नं १, २, ३, ४, ५ र ७ मा, कचनकबल गाउँपालिकाको वडा नं १, झापा गाउँपालिकाको वडा नं ४, ५ र ७, अर्जुनधारा नगरपालिकाको वडा नं. १, ४, ७ र ८ र बुद्धशान्ति गाउँपालिकाको वडा नं २ मा गरी कुल दुई हजार २१५ परिवारलाई यसपालीको वर्षायाममा प्रभावित पार्नसक्ने अनुमान गरिएको छ ।

रेडक्रसले मनसुनबाट निम्तिने विपद्बाट प्रभावितहरूको उद्धार, आश्रयस्थल र राहत वितरणको समेत पूर्वतयारी गर्दै आएको छ । प्रतिकार्य योजनाअनुसार जिल्लाका मुख्य नदीनालाबाट प्रभावित हुनसक्ने स्थान र आश्रयस्थलको विवरण तयार पारेर सोहीबमोजिम पूर्वतयारी गरिएको शाखा अधिकृत खड्काले बताउनुभयो ।

उहाँका अनुसार जिल्लाका १४ पालिकाका ११२ स्थानलाई विपद्का बेला प्रभावित परिवारलाई राख्ने आश्रयस्थल तोकिएका छन् । अधिकांश आश्रयस्थल विद्यालय, सामुदायिक भवन र स्थानीय तहका संरचनामा छन् । रासस