२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नातिकाजी स्मृति समाजद्वारा २१ जना कलाकार पुरस्कृत



अ+ अ-

काठमाडौँ, २५ वैशाख: नातिकाजी स्मृति समाजले विभिन्न २१ जना कलाकारलाई सम्मान गरेको छ । आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उहाँहरुलाई पुरस्कार तथा सम्मान प्रदान गर्नुभयो ।

कार्यक्रममा ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान’ गीतकार नारायणकुमार आचार्य, साबु गदाल कार्की र वीरेन्द्र पाठकलाई प्रदान गरियो । त्यस्तै, ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान’ शशी गुरुङ, गणेश पराजुली, जुजुकाजी रञ्जित, अष्ट लामा, डा भीमार्जुन आचार्य र निर्वाण सिं गुरुङलाई प्रदान गरिएको जनाइएको छ ।

साथै ‘नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार’ मनोज खड्का, रोशन गुरुङ, ताराप्रकाश लिम्बु, सरिता शाही, चाँद सिं, महेश्वरमान राजभण्डारीलाई प्रदान गरिएको छ भने ‘नातिकाजी नव प्रतिभा पुरस्कार’ पाउनेमा विपना तामाङ्, सहिमा श्रेष्ठ, सुरेश लामा हुनुहुन्छ । नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार प्रमोद उपाध्यायले प्राप्त गर्नुभएको नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भूजीत बासकोटाले जानकारी दिनुभयो ।  उहाँका अनुसार ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार’ अनन्त वाग्ले र गीता अधिकारीले प्राप्त गर्नुभएको छ ।

अध्यक्ष बाँसकोटाले नातीकाजीले सङ्गीतलाई केवल मनोरञ्जनको साधनका रुपमा मात्रै होइन, सामाजिक चेतना जगाउने शक्तिशाली माध्यमका रुपमा प्रयोग गर्नुभएको उल्लेख गर्नुभयो । “उहाँका गीतमा देशप्रेम, संस्कृतिप्रेम, मानवीय संवेदना र जीवन दर्शनको अद्भूत संयोजन पाइन्छ, उहाँको योगदानले नेपाली सङ्गीतलाई उच्च स्थानमा पुराएको छ”, अध्यक्ष बासकोटाले भन्नुभयो ।

बासकोटाले भन्नुभयो “सम्मान र पुरस्कार भनेको केवल एउटा पदक वा प्रमाणपत्र मात्रै होइन, यो समाजले व्यक्त गर्ने कृतज्ञता हो, एउटा स्वीकारोक्ति हो र नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत पनि हो। आज हामीले सम्मान गर्ने व्यक्तिहरू केवल सफल कलाकार मात्र होइनन्, उनीहरू संघर्ष, समर्पण र साधनाका जीवित उदाहरण पनि हुन्।”

उहाँले भन्नुभयो “संगीत एउटा सार्वभौमिक भाषा हो। यसले निश्चित कुनै भाषा, जात, धर्म र भूगोलका सीमाहरू पार गर्दछ। संगीतले मानिसलाई जोड्ने, भावना साट्ने र समाजलाई एकतामा बाँध्ने काम गर्दछ। यही कारणले गर्दा संगीतको महत्व कुनै पनि समाजमा अत्यन्त उच्च हुन्छ।”

उहाँले भन्नुभयो “हामीले नयाँ पुस्तालाई केवल आधुनिक प्रविधि मात्र होइन, सांगीतिक संस्कार पनि सिकाउन आवश्यक छ। नातिकाजी जस्ता महान व्यक्तित्वहरूको योगदानलाई सरकारले शैक्षिक पाठ्यक्रममा समावेश गर्ने, अनुसन्धान गर्ने र उहाँहरूको कृतिहरूलाई संरक्षण गर्ने जस्ता काम गर्न आवश्यक छ।”

बासकोटाले भन्नुभयो “यस कार्यक्रममार्फत हामीले केवल सम्मान मात्र होइन, एउटा सन्देश पनि दिन चाहन्छौं कि साँचो कला कहिल्यै मर्दैन, साँचो स्रष्टा कहिल्यै विस्मृत हुँदैनन्। उनीहरूको योगदान समयसँगै अझ उज्यालो र विशाल बन्दै जान्छ।”

तस्बिरः रत्न श्रेष्ठ-रासस