२८ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिचौलियातन्त्रको अन्त्य गर्दा निजी क्षेत्र हतोत्साही हुनु पर्देन: सञ्चारमन्त्री तिमिल्सिना



अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.बिक्रम तिमिल्सिनाले बिचौलियातन्त्रको अन्त्य गर्दा निजी क्षेत्र हतोत्साही हुनु नपर्ने बताउनु भएको छ ।

सामाजिक संञ्जालमा एक स्टाटस लेख्दै मन्त्री तिमिल्सिनाले राजनीतिक पहुँच, बिचौलिया तन्त्र, अनावश्यक प्रभाव र भ्रष्ट नेटवर्कको आधारमा व्यवसाय चलाउने समय अब अन्त्यतर्फ लागेको जनाउनु भएको छ ।

उहाँले लेख्नुभएको छ-

केहीले भनिरहेका छन्—सरकारले निजी क्षेत्रलाई हतोत्साही बनाइरहेको छ।तर प्रश्न यो होः

के भ्रष्टतन्त्रको अन्त्य गर्दा निजी क्षेत्र हतोत्साही हुनुपर्छ?

के बिचौलियातन्त्रको अन्त्य गर्दा निजी क्षेत्र हतोत्साही हुनुपर्छ?

के कमिसनतन्त्रको अन्त्य हुँदा निजी क्षेत्र हतोत्साही हुनुपर्छ?

पारदर्शी लगानी, स्वच्छ प्रतिस्पर्धा र नीतिमा आधारित व्यवसाय गर्ने वातावरण निर्माण हुनु नै वास्तविक निजी क्षेत्रमैत्री शासन हो।

राजनीतिक पहुँच, सेटिङ र अनौपचारिक प्रभाव होइन, अब क्षमता, प्रतिस्पर्धा र विश्वासका आधारमा अघि बढ्ने समय आएको छ। नेपाल अब नयाँ आर्थिक संस्कृतितर्फ अघि बढिरहेको छ।

राजनीतिक पहुँच, बिचौलिया तन्त्र, अनावश्यक प्रभाव र भ्रष्ट नेटवर्कको आधारमा व्यवसाय चलाउने समय अब अन्त्यतर्फ छ। त्यसैले केहीलाई असहज लाग्नु स्वाभाविक हुन सक्छ। तर इमानदार, प्रतिस्पर्धी र दीर्घकालीन व्यवसाय गर्न चाहनेहरूको लागि भने नेपालमा नयाँ सम्भावनाको ढोका खुल्दैछ।

सरकारको उद्देश्य निजी क्षेत्रलाई निरुत्साहित गर्नु होइन; बरु स्वच्छ, पारदर्शी, प्रतिस्पर्धी र विश्वसनीय व्यवसायिक वातावरण निर्माण गर्नु हो।

अब लगानीका लागि कसैको राजनीतिक संरक्षण चाहिने छैन।

अब सफल हुन बिचौलियाको ढोका धाउनुपर्ने छैन।

अब प्रक्रियालाई जटिल बनाएर कसैलाई फाइदा पुर्याउने संस्कृतिको अन्त्य हुनेछ ।

हामी प्रशासनिक प्रक्रिया सरल बनाउँदैछौं, कानुन सुधार गर्दैछौं, डिजिटल प्रणाली विस्तार गर्दैछौं र लगानीमैत्री वातावरण निर्माणका लागि दिनरात काम गरिरहेका छौं।

नेपालको निजी क्षेत्रको त्यो युग आउँदैछ जहाँ:

* निष्पक्ष प्रतिस्पर्धा हुनेछ,

* नीति सबैका लागि समान हुनेछ,

* राज्यको पहुँच निष्पक्ष हुनेछ,

* र राजनीतिक स्वार्थभन्दा माथि उठेर आर्थिक समृद्धिलाई प्राथमिकता दिइनेछ।

हो, भ्रष्टतन्त्र र आपराधिक संरचनाहरू अन्त्यतर्फ जानुपर्छ र जानेछन्।

किनकि समृद्ध नेपाल निर्माण गर्न इमानदार उद्यम, नवप्रवर्तन र निष्पक्ष अवसरको संस्कृति आवश्यक छ।

नेपालमा लगानी गर्नुहोस्।नयाँ नेपाल निर्माणमा सहभागी बन्नुहोस्।