३० भाद्र २०८३, मंगलवार
,
Latest
पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना सकारात्मक: अध्यक्ष ढकाल मुस्ताङमा आजदेखि जलवायु सम्मेलन पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थानका लागि २१ बुँदे कार्ययोजना जारी पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रविधि न्यायको साधन हो, विकल्प होइनः कायममुकायम प्रधानन्यायाधीश मल्ल



अ+ अ-

काठमाडौँ। कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्याय सम्पादन र न्यायमा पहुँच सुनिश्चित गर्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एक प्रभावकारी साधन हुनसक्ने भएपनि न्यायको विकल्प हुन नसक्ने बताउनुभएको छ ।

युवा कानून व्यवसायीहरूद्वारा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले प्रविधिको प्रयोग गर्दा न्यायको मानवीय संवेदना र विवेकलाई बिर्सन नहुनेमा जोड दिनुभएको हो ।

काममुकायम प्रधानन्यायाधीश मल्लले एआईले प्रणालीलाई थकित हुन नदिने र कार्यक्षमता बढाउने भएपनि यसलाई मानवीय नियन्त्रण र विवेकको परिधिभित्रै राख्नुपर्ने धारणा राख्नुभयो ।

आफ्नो व्यक्तिगत अनुभव सुनाउँदै कायममुकायम प्रधानन्यायाधीशले एआईले कानूनी अनुसन्धान, नजिरहरूको खोजी र फैसला लेखनका क्रममा एउटा खाका (फ्रेमवर्क) तयार गर्न महत्वपूर्ण सहयोग पु¥याउने बताउनु भयो ।

उहाँले ब्राजिलको न्यायपालिकामा प्रयोग भइरहेको ‘भिक्टर’ नामक एआई प्रणालीको उदाहरण दिँदै नेपालमा पनि मुद्दा दर्तामा हुने दोहोरोपना हटाउन र न्यायिक प्रशासनलाई चुस्त बनाउन प्रविधिको उच्चतम प्रयोग गर्न सकिने बताउनु भयो । प्रविधिको फाइदाका साथै यसका जोखिमहरूबारे पनि सचेत रहनुपर्ने उहाँको भनाइ थियो ।

विशेष गरी ‘डिजिटल डिभाइड’, अल्गोरिदममा हुनसक्ने पूर्वाग्रह (बायस), गोपनीयताको हक र उत्तरदायित्वका प्रश्नहरूमा गम्भीर हुनुपर्ने उहाँले बताउनु भयो । युनेस्को र भारतले एआईको प्रयोगका लागि जारी गरेका मार्गदर्शनहरूको सन्दर्भ उल्लेख गर्दै उहाँले नेपालले पनि ‘ह्युमन सेन्ट्रिक एप्रोच’ (मानव केन्द्रित दृष्टिकोण), पारदर्शिता र जवाफदेहितालाई आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रविधि न्यायको साधन हो, विकल्प होइन । न्यायको आत्मा सदैव मानवीय हुन्छ र त्यसको संरक्षण गर्नु हाम्रो सामूहिक दायित्व हो । मैले आफैँले पनि न्यायपालिकामा एआईको प्रयोगबारे परीक्षण गरेको छु।

यसले विशेष गरी अनुसन्धान र सूचना व्यवस्थापनमा क्रान्तिकारी भुमिका खेल्न सक्छ । जेन–जीको घटनापछि हामी प्राविधिक रूपमा शुन्यको अवस्थामा पुगेका थियौँ, तर अहिले हामी पुनः उठ्ने प्रयास गरिरहेका छौँ । हामीले ब्याकअपदेखि धेरै प्रणालीहरू पुनः स्थापित गर्न बाँकी छ ।हामी न्यायपालिकाको क्षमता र प्रभावकारिता बढाउन सहकार्यका लागि सधैँ खुला छौँ ।’

नयाँ पुस्ताका कानून व्यवसायीहरू प्रविधिमैत्री रहेकोमा खुशी व्यक्त गर्दै उहाँले न्यायपालिकालाई प्रविधिमैत्री र नवप्रवर्तनकारी बनाउन युवाहरूको साथ आवश्यक रहेको बताउनु भयो । छिटोछरितो न्याय र पहुँचका लागि प्रविधि एउटा कोशेढुङ्गा सावित हुन सक्ने र यसले न्यायको कथालाई नयाँ ढङ्गले परिभाषित गर्ने उहाँको विश्वास छ ।

उहाँले ढिलो न्याय हुने जनगुनासोलाई सम्बोधन गर्न प्रविधिले कार्यक्षमता बढाउने र यसले समग्र न्याय प्रणालीलाई नै सुदृढ बनाउने उल्लेख गर्नुभयो । –न्युज एजेन्सी नेपाल