४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा

मजदुर दिवसमा राज्य, समाज र उद्यमीले सुन्नुपर्ने आवाज

मजदुर दिवसमा राज्य, समाज र उद्यमीले सुन्नुपर्ने आवाज
अ+ अ-

नेपालले सफा सडक खोज्यो, तर ती सडकहरु सफागर्ने हातका घाउ कहिल्यै गनेन । नेपालले चम्किला मञ्च चाह्यो, तर त्यो मञ्च चम्काउने मानिसलाई सधैँ पछाडि राख्यो । नेपालले स्वच्छ देशको सपनात देख्यो, तर त्यो सपना बोक्ने सरसफाइकर्मीको आँखामा बसेको थकान । अपमान र मौन पीडा धेरै ढिलो मात्र देख्यो ।

मे १, अन्तर्राष्ट्रिय मजदुर दिवस, केवल बिदा मनाउने दिन मात्र होइन । यो दिन हामीले आफैँसँग सोध्नुपर्ने दिन हो—देश बनाउने हातहरूलाई हामीले कति देख्यौँ? कति सुन्यौँ? कति बुझ्यौँ? र कति सम्मान गर्‍यौँ?

हरेक बिहान, धेरै मानिसको निद्रा नखुल्दै, कोही सडकमा झाडु लगाइरहेको हुन्छन्, कोही अस्पतालको भुइँ पुछिरहेका हुन्छन । कोही विमानस्थलको शौचालय प्रयोगयोग्य बनाइरहेका हुन्छन । कोही विद्यालय, होटल, सरकारी कार्यालय वा ठूलो सभाहल सफा गरिरहेको हुन्छन। हामी सफा ठाउँमा पुग्छौँ, आरामले बस्छौँ, कार्यक्रम गर्छौँ, फोटो खिच्छौँ, भाषण सुन्छौँ। तर त्यो ठाउँ सफा बनाउने मानिसलाई हामी कति पटक सम्झिन्छौँ?

कार्यक्रम सुरु हुँदा मञ्चमा अतिथि बस्छन्, क्यामेरा चल्छ, ताली बज्छ, भाषण हुन्छ, तर त्यो मञ्च चम्काउने सरसफाइकर्मी प्राय: बाहिरै हुन्छन् । कार्यक्रम सकिएपछि सबैजना फर्किन्छन्, तर अन्तिममा फेरि उनीहरू नै फर्किन्छन्— हामीले छोडेको फोहोर, असावधानी र असभ्यता समेट्न । यो दृश्य केवल सरसफाइको होइन, यो हाम्रो सभ्यताको ऐना हो ।

आज नेपालमा इतिहासमा अन्यायमा परेका समुदायसँग राज्यले क्षमा माग्नुपर्ने बहस चलिरहेको छ । यो राम्रो कुरा हो, तर मेरो मनले भन्छ— राज्यले सम्पूर्ण मजदुरसँग पनि क्षमा माग्नुपर्छ । अझ विशेष गरी सरसफाइकर्मीहरूसँग, किनकि सभ्यताको पहिलो ढोका सरसफाइ हो, तर त्यो ढोका खोल्ने हातहरूलाई हामीले सबैभन्दा पछि सम्झिएका छौँ ।

सरसफाइबिना स्वास्थ्य हुँदैन, स्वास्थ्यबिना काम गर्ने शक्ति हुँदैन, काम गर्ने शक्ति बिना समृद्धि हुँदैन। तर यही आधार सम्हाल्ने मानिसहरू नै हाम्रो समाजमा सबैभन्दा अदृश्य, असुरक्षित र कम सम्मानित छन्। यो केवल श्रमिकको समस्या होइन; यो हाम्रो सोचको समस्या हो। यो केवल तलबको प्रश्न होइन; यो मानवीय मर्यादाको प्रश्न पनि हो ।

नेपालमा धेरै सरसफाइकर्मीहरूले मलाई आफ्नो अभिभावकका रूपमा हेर्ने गरेको अनुभूति मैले पाएको छु। त्यो मेरा लागि कुनै पदको गौरव होइन, भारी जिम्मेवारी हो। म पदले होइन, पीडाले सरसफाइकर्मीको आवाजसँग जोडिएको हुँ, उनीहरूको आँखामा मैले थकान देखेको छु, उनीहरूको हातमा जोखिम देखेको छु, उनीहरूको बोलीमा अपमान सहेर पनि काम गरिरहने धैर्य देखेको छु ।

बिगतमा प्रधानमन्त्रीको सरसफाइ सल्लाहकारका रूपमा काम गर्दा मैले नजिकबाट बुझेको कुरा के हो भने, सरसफाइकर्मी केवल कामदार होइनन्। उनीहरू सार्वजनिक स्वास्थ्यका रक्षक हुन्, उनीहरू नागरिक सभ्यताका पहरेदार हुन्, उनीहरू राज्यको सेवा प्रणालीका अग्रपंक्तिका मान्छे हुन्। अस्पताल सफा राख्ने हात, विमानस्थल चम्काउने हात, सडक सफा गर्ने हात, शौचालय प्रयोगयोग्य बनाउने हात—यी हातलाई हामीले कहिलेसम्म अदृश्य बनाइरहने ?

मलाई सम्झना छ—कति सरसफाइकर्मीका हातमा राम्रो पञ्जा थिएन, तर जिम्मेवारी ठूलो थियो। जुत्ता कमजोर थियो, तर काम जोखिमपूर्ण थियो। तलब सानो थियो, तर अपेक्षा ठूलो थियो। समाजको नजर कठोर थियो, तर उनीहरूको काम अत्यावश्यक थियो। त्यो पीडाले मलाई भित्रैदेखि छोयो। त्यसपछि म झन् दृढ भएँ—सरसफाइकर्मीको सम्मान शब्दमा होइन, नीति र व्यवहारमा आउनुपर्छ ।

सरसफाइ क्षेत्रमा जोखिमपूर्ण काम गर्ने मजदुर र कर्मचारीलाई सम्मानित, मर्यादित र सुरक्षित बनाउने विषय राज्यको ध्यानमा पुर्‍याउने प्रयास भएको थियो । त्यो प्रयास केवल कार्यालयको कागजका लागि थिएन । त्यो सोच सरसफाइकर्मीलाई अदृश्य श्रमिकबाट सम्मानित सार्वजनिक स्वास्थ्य रक्षकका रूपमा चिनाउने प्रयास थियो । अब यस्तो सोच बैठक र निर्देशनमा मात्र रोकिनु हुँदैन । यसलाई व्यवहारमा उतार्नुपर्छ ।

हामीले मजदुरलाई कहिले अधिकारका नाममा मात्र उचाल्यौँ, कहिले कर्तव्यका नाममा मात्र दबायौँ । तर मजदुरलाई नारा भन्दा सहारा चाहिन्छ, भाषण भन्दा अवसर चाहिन्छ, दया भन्दा सम्मान चाहिन्छ । र सम्मान केवल शब्दले आउँदैन; सुरक्षित काम, उचित पारिश्रमिक, आधुनिक उपकरण, सामाजिक सुरक्षा र मानवीय व्यवहारबाट आउँछ ।

अबको नेतृत्व यस्तो हुनुपर्छ, जसले मजदुरसँगै हिँड्न सकोस्, जसले अधिकार पनि बुझाओस्, कर्तव्य पनि सम्झाओस् । जसले मजदुरलाई भिडको संख्या होइन, राष्ट्रनिर्माणको शक्ति ठानोस् । राज्यले संरक्षण दिनुपर्छ, समाजले दृष्टिकोण बदल्नुपर्छ, उद्यमीले श्रमको मूल्य बुझ्नुपर्छ र मजदुरले पनि आफ्नो कामलाई सीप, अनुशासन र इमानदारीका साथ अझ मर्यादित बनाउनुपर्छ ।

म उद्यमीहरूसँग पनि खुलेर भन्न चाहन्छु—मजदुर तपाईंको शत्रु होइन। जिम्मेवार मजदुर तपाईंको संस्थाको मेरुदण्ड हो। तपाईंको कार्यालय सफा राख्ने मानिसको घरमा चुलो बल्छ कि बल्दैन, उसको बच्चाको पढाइ चल्छ कि चल्दैन, ऊ बिरामी हुँदा उपचार पाउँछ कि पाउँदैन—यी प्रश्न केवल श्रमिकका होइनन्, तपाईंको संस्थाको नैतिकताका प्रश्न पनि हुन् ।

सन्तुष्ट मजदुर खर्च होइन, गुणस्तरको बीमा हो। सम्मानित श्रमिकले संस्था टिकाउँछ, राम्रो पारिश्रमिकले कर्मचारी टिकाउँछ, सुरक्षित वातावरणले सेवा सुधार्छ र सम्मानजनक व्यवहारले संस्थाको प्रतिष्ठा बढाउँछ। त्यसैले श्रमिकको सम्मान उद्यमीका लागि बोझ होइन; दीर्घकालीन सफलता, स्थायित्व र विश्वासमा गरिएको लगानी हो ।

नेपालमा हामी मजदुरबाट उत्कृष्ट काम खोज्छौँ, तर उनीहरूलाई उत्कृष्ट वातावरण दिँदैनौँ। सरसफाइकर्मीबाट सफा कार्यालय, सफा सडक, सफा शौचालय, सफा अस्पताल र सफा विमानस्थल खोज्छौँ। तर उनीहरूलाई राम्रो पञ्जा, बलियो जुत्ता, सुरक्षा पोशाक, आधुनिक उपकरण, नियमित स्वास्थ्य परीक्षण, बीमा, तालिम र सम्मानजनक व्यवहार कति दिएका छौँ ?

देशलाई डिजिटल बनाउने भनेर ठूलो बजेट छुट्याइन्छ। तर सरसफाइको क्षेत्रमा आज पनि धेरै ठाउँमा कुचो, झाडु र पोछा नै मुख्य साधन छन्। यो हाम्रो प्राथमिकताको कमजोरी हो। सफाइलाई पछाडि राखेर स्वच्छ देश बन्न सक्दैन, सरसफाइकर्मीलाई कमजोर राखेर बलियो सार्वजनिक स्वास्थ्य बन्न सक्दैन ।

तर म स्पष्ट गर्न चाहन्छु, सरसफाइकर्मीको पारिश्रमिक बढाउने कुरा केवल खर्च बढाउने प्रस्ताव होइन। यो काम गर्ने प्रणाली नै सुधार्ने प्रस्ताव हो। यदि मजदुरलाई उचित तालिम, आधुनिक उपकरण, सुरक्षा सामग्री र सम्मानजनक वातावरण दिइयो भने उनीहरूको काम गर्ने क्षमता धेरै बढ्छ। धेरै ठाउँमा आज दुई जनाले गर्ने काम, सही उपकरण र सीप पाएपछि एक दक्ष सरसफाइकर्मीले अझ राम्रो गुणस्तरमा गर्न सक्छ ।

त्यसैले सरसफाइकर्मीको पारिश्रमिकमा करिब २५ प्रतिशत वृद्धि र उपकरण तथा सुरक्षा सामग्रीमा करिब २७ प्रतिशत लगानी गर्ने कुरा उद्यमीलाई घाटा गराउने प्रस्ताव होइन। सही व्यवस्थापन भयो भने कुल खर्च आझ घट्न सक्छ। कामको गुणस्तर बढ्छ, कर्मचारी टिक्छन्, रोग र जोखिम घट्छ, सेवा सुधारिन्छ, संस्थाको प्रतिष्ठा बढ्छ, मजदुरको सम्मान बढ्छ, व्यवसायीको खर्च घट्छ र ग्राहकको सन्तुष्टि बढ्छ। यही हो सबैलाई जिताउने बाटो ।

हामीले अब श्रमलाई केवल सस्तो जनशक्ति भनेर हेर्नु हुँदैन। श्रमलाई दक्षता, प्रविधि र सम्मानसँग जोड्नुपर्छ। कुचो मात्र दिएर विश्वस्तरीय सफाइ खोज्नु अन्याय हो। झाडु मात्र दिएर आधुनिक कार्यालय चाहनु विरोधाभास हो। पञ्जा, जुत्ता, पोशाक, उपकरण, तालिम र व्यवस्थापन दिएपछि मात्र मजदुरबाट उत्कृष्ट परिणाम माग्ने नैतिक अधिकार हामीसँग हुन्छ ।

संसार धेरै अगाडि बढिसक्यो । जापानले सार्वजनिक अनुशासनलाई संस्कार बनाएको छ। सिंगापुरले सफाइलाई राष्ट्रिय पहिचान बनाएको छ। अस्ट्रेलिया र युरोपका धेरै ठाउँमा सफाइ श्रमिकलाई सुरक्षा, तालिम, उपकरण र सामाजिक सुरक्षासहित सार्वजनिक सेवा प्रणालीको महत्वपूर्ण अंग मानिन्छ। नेपालले कसैको अन्धो नक्कल गर्नुपर्दैन, तर राम्रो कुरा सिकेर नेपाली माटो सुहाउँदो परिवर्तन चाहि अबस्य गर्नैपर्छ ।

हामी भने कहिलेकाहीँ नाम बदल्नमै रमाउँछौँ। पहिले “चर्पी” भनिन्थ्यो, पछि “शौचालय” भनियो, अहिले “रेस्टरुम” भन्न थालिएको छ। नाम आधुनिक भयो, तर भित्रको अवस्था कति आधुनिक भयो? पानी छैन, दुर्गन्ध छ, मर्मत छैन, सुरक्षा छैन, सफाइको स्पष्ट व्यवस्था छैन भने नाम बदलेर सभ्यता आउँदैन। सभ्यता बोर्डमा होइन, व्यवहारमा देखिनुपर्छ ।

अब नेपालले सरसफाइकर्मी सम्मान तथा सुरक्षा संकल्प अघि सार्नुपर्छ । हरेक सरसफाइकर्मीको दर्ता र परिचयपत्र हुनुपर्छ । स्वास्थ्य परीक्षण, दुर्घटना बीमा र सामाजिक सुरक्षा अनिवार्य हुनुपर्छ । सुरक्षा पोशाक, पञ्जा, जुत्ता, मास्क, आधुनिक उपकरण र आवश्यक सामग्री नियमित उपलब्ध हुनुपर्छ । सरसफाइकर्मी र जोखिमपूर्ण काम गर्ने श्रमिकको पारिश्रमिक सम्मानजनक बनाइनुपर्छ । सरकारी, निजी र सार्वजनिक संस्थामा सरसफाइकर्मीको सम्मान प्रणाली हुनुपर्छ।सरसफाइलाई केवल काम होइन, सीप, मर्यादा र सार्वजनिक स्वास्थ्यसँग जोडिएको पेशाका रूपमा मान्यता दिनुपर्छ ।

मजदुरको सम्मान फूलमाला लगाएर मात्र पूरा हुँदैन । सम्मानको अर्थ उसको घरमा चुलो बल्नु हो । बच्चाको पढाइ नरोकिनु हो। बिरामी हुँदा उपचार पाउनु हो । काम गर्दा सुरक्षित हुनु हो । बुढेसकालमा भोकै नपर्नु हो। सरसफाइकर्मीमा लगानी गर्नु दया होइन, न्याय हो। यो खर्च होइन, सार्वजनिक स्वास्थ्य र मानव मर्यादामा गरिएको लगानी हो ।

यो सम्भव छ । अनुत्पादक खर्च घटाएर, सफाइ सेवालाई प्राथमिक बजेटमा राखेर, ठेक्का प्रणालीलाई पारदर्शी बनाएर, न्यूनतम ज्याला कडाइका साथ लागू गरेर, उपकरणमा लगानी गरेर र काम गर्ने तरिका वैज्ञानिक बनाएर सरसफाइकर्मीको जीवनस्तर पनि उठाउन सकिन्छ र संस्थाको खर्च पनि व्यवस्थित गर्न सकिन्छ। एक सफाइ मजदुरको आय बढ्नु भनेको केवल उसको आम्दानी बढ्नु होइन। उसको परिवारमा शिक्षा, स्वास्थ्य, आत्मसम्मान र भविष्यको आशा बढ्नु हो ।

तर यो लेख केवल राज्य र उद्यमीलाई दोष दिनका लागि होइन। श्रमिकले पनि आफ्नो पेशालाई गर्वका साथ उत्कृष्ट बनाउनुपर्छ। समयपालन, अनुशासन, सीप, इमानदारी र सेवा भाव श्रमिकको गरिमा बढाउने आधार हुन्। अधिकार र कर्तव्य एकअर्काका विरोधी होइनन्, यी त सँगसँगै हिँड्ने दुई खुट्टा हुन् ।

नागरिकको पनि कर्तव्य छ। फोहोर नगर्ने, सार्वजनिक शौचालय सभ्य तरिकाले प्रयोग गर्ने, सफा ठाउँलाई बिगारेर नछोड्ने, सरसफाइकर्मीलाई तल्लो नजरले नहेर्ने—यी सबै नागरिक सभ्यताका आधार हुन् । हामी फोहोर गर्छौँ, अनि सफा गर्ने मानिसलाई हेय दृष्टिले हेर्छौँ भने त्यो हाम्रो असभ्यता हो। फोहोर गर्ने मानिस ठूलो र फोहोर सफा गर्ने मानिस सानो हुनै सक्दैन ।

अब नेपालले श्रमप्रतिको पुरानो सोच बदल्नैपर्छ। कुनै काम सानो हुँदैन। सानो त त्यो सोच हो, जसले श्रमलाई सम्मान गर्न जान्दैन। सरसफाइलाई जात, वर्ग, गरिबी वा बाध्यतासँग जोडेर हेर्ने दृष्टि अन्त्य हुनुपर्छ। सफाइ गर्ने मानिसलाई हेप्नु आधुनिक समाजको लज्जा हो। जसले समाजको फोहोर उठाउँछ, उसकै सम्मान उठाउन नसक्ने समाज कसरी सभ्य कहलिन्छ ?

आज मजदुर दिवसका अवसरमा सबैलाई मेरो आग्रह छ, नेपालले अब श्रमलाई भाषणको विषय मात्र नबनाओस् । हरेक सरकारी कार्यालय, स्थानीय तह, अस्पताल, विद्यालय, विमानस्थल, होटल, उद्योग र सार्वजनिक संस्थाले सरसफाइकर्मीलाई सम्मानित श्रमिकका रूपमा चिन्नुपर्छ । हरेक ठूलो कार्यक्रममा सरसफाइकर्मीको औपचारिक सम्मान हुनुपर्छ । राज्यका सम्मान, पुरस्कार र सार्वजनिक मान्यतामा जोखिमपूर्ण श्रम गर्ने मजदुरको प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ ।

“सफा नेपाल” भन्नुअघि “सम्मानित सरसफाइकर्मी” सुनिश्चित गरौँ ।

“समृद्ध नेपाल” भन्नुअघि “सुरक्षित मजदुर” सुनिश्चित गरौँ ।

“सभ्य समाज” भन्नुअघि “श्रमप्रति सम्मानित व्यवहार” सुनिश्चित गरौँ ।

देश केवल नीतिले मात्र बन्दैन, श्रमले बन्छ । राष्ट्र केवल भाषणले मात्र उठ्दैन, पसिनाले उठ्छ । सभ्यता नाम बदलेर मात्र आउँदैन, काम गर्ने हातलाई सम्मान गरेपछि मात्र आउँछ । मजदुरको पसिना नचिन्ने राष्ट्र समृद्ध हुन सक्दैन । सरसफाइकर्मीको सम्मान नगर्ने समाज सभ्य हुन सक्दैन ।

अब समय आएको छ—मजदुरलाई नारामा होइन, नीतिमा राख्ने । सरसफाइकर्मीलाई पछाडि होइन, सम्मानको अगाडि राख्ने । अधिकार र कर्तव्यलाई टकराव होइन, साझेदारी बनाउने । राज्य, उद्यमी, समाज, नागरिक र श्रमिक सबै जिम्मेवार बन्ने ।

मजदुर दिवस अब केवल भाषणको दिन नबनोस् । यो श्रमको सम्मान लागू गर्ने दिन बनोस् । आजदेखि हामी सबैले मनैदेखि प्रतिज्ञा गरौँ— सफा देश चाहिन्छ भने सफाइ गर्ने हातलाई पहिलो सम्मान दिऔँ । समृद्ध नेपाल चाहिन्छ भने मजदुरको घरमा पनि समृद्धिको उज्यालो पुर्‍याऔँ । सभ्य समाज चाहिन्छ भने सरसफाइकर्मीलाई पछाडिबाट अगाडि ल्याऔँ ।