३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायक यम बरालसँग आयोवा सिटीमा नेपालीले मनाए नयाँ वर्ष २०८३



अ+ अ-

अमेरिका । अमेरिकाको आयोवा सिटीमा रहेका नेपालीहरूले चर्चित गायक यम बरालसँगै नेपाली नयाँ वर्ष २०८३ उत्साहपूर्वक मनाएका छन्। ईस्टर्न आयोवा नेपाली समाजको आयोजनामा सम्पन्न कार्यक्रममा गायक बरालले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले संगीतसँगै स्वादिष्ट खाना तथा आपसी भेटघाटको भरपूर आनन्द लिएका थिए। कार्यक्रमलाई राजेन्द्र सेढाईंले रमाइलो र ऊर्जामय शैलीमा सञ्चालन गर्नुभएको थियो।

संस्थाका वरिष्ठ उपाध्यक्ष ध्रुब अर्यालले संस्थाको पहिलो प्रयास नै अत्यन्त सफल भएको बताउँदै नेपाली कला र संस्कृतिलाई नयाँ पुस्तासम्म पुर्‍याउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिनुभयो।

त्यस्तै, संस्थाका अध्यक्ष शंकर बरालले कलाकार तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमहरूले आपसी भाइचारा र सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो। व्यस्त जीवनशैलीबीच एकअर्कासँग भेटघाट गर्ने र परिवारसँग समय बिताउने अवसरका रूपमा यस्ता कार्यक्रमले महत्वपूर्ण सेतुको काम गर्ने उहाँको भनाइ थियो।