३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशरथ रंगशालामा भूमिहीन तथा सुकुम्बासीको स्वास्थ्य जाँच, मनोसामाजिक परामर्शसमेत प्रदान



अ+ अ-

काठमाडौं । अव्यवस्थित बस्तीबाट स्क्रिनिङका लागि दशरथ रंगशालामा ल्याइएका भूमिहीन तथा सुकुम्बासीलाई शारीरिक तथा मानसिक स्वास्थ्य सेवा प्रदान गरिएको छ । काठमाडौं महानगरपालिकाले स्वास्थ्यकर्मीको टोली परिचालन गरी उनीहरूको स्वास्थ्य जाँच तथा परामर्श सेवा सञ्चालन गरेको हो ।

स्वास्थ्य परीक्षणका क्रममा हालसम्म कम रक्तचाप देखिएका ४ जना पुरुष र २ जना महिला गरी ६ जनालाई उपचार तथा आवश्यक परामर्श दिइएको छ । त्यसैगरी ढाड तथा जोर्नी दुखाइ भएका २ जना पुरुष, टाउको दुखाइका समस्या भएका १८ जना पुरुष र ६ जना महिलाको स्वास्थ्य जाँच गरिएको छ ।

यस्तै, गर्भवती २ जना महिलालाई विशेष निगरानीसहित स्वास्थ्य सेवा प्रदान गरिएको छ भने चोटपटक लागेका १ जना व्यक्तिलाई प्राथमिक उपचार गरिएको छ । विभिन्न स्वास्थ्य समस्या देखिएका थप १२ जनालाई पनि आवश्यक उपचार र परामर्श उपलब्ध गराइएको महानगरले जनाएको छ ।

शारीरिक स्वास्थ्य सेवासँगै मनोसामाजिक परामर्श पनि प्रदान गरिएको छ । परामर्शका क्रममा बहुविवाहको अवस्था, पितृविहीन महिला तथा विद्यालय उमेरका बालबालिका, रोजगारीमा रहेका अभिभावकहरूले भोगिरहेका मानसिक तनावका विषयमा छलफल भएको स्वास्थ्यकर्मीले जनाएका छन् ।

महानगरपालिकाको स्वास्थ्य विभाग अन्तर्गत महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका फोकल पर्सन ऋषिप्रसाद भुषालका अनुसार पारिवारिक तथा रोजगारीका कारण मानसिक तनाव बढेको, बालबालिकाको शिक्षालाई निरन्तरता दिने विषयमा चिन्ता व्यक्त गरिएको पाइएको छ ।
महानगरले आगामी दिनमा पनि यस्तो लक्षित समूहलाई निरन्तर स्वास्थ्य सेवा र मनोसामाजिक परामर्श उपलब्ध गराउने जनाएको छ ।