२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोटो समाजको कथा बोल्ने पत्रकारिता हो



अ+ अ-

राष्ट्रिय फोटोपत्रकारिता दिवस फोटो पत्रकारहरूको योगदान, साहस र समर्पणलाई सम्मान गर्ने महत्वपूर्ण अवसर हो। यसले तस्वीरमार्फत सत्य उजागर गर्ने पत्रकारहरूको भूमिकालाई स्मरण गराउँछ। म यस दिवसलाई फोटो पत्रकारहरूको अधिकार, सुरक्षा र पेशागत सम्मान सुनिश्चित गर्ने संकल्प दिवसका रूपमा—उहाँहरूको योगदानलाई कदर गर्दै, प्रेरणा र प्रतिबद्धतासहित सम्झन चाहन्छु।

यो दिवस गोरखापत्र दैनिक मा १९८४ वैशाख १३ गते वीरगंजकी सुर्यमतीले चर्खामा धागो कात्दै गरेको ऐतिहासिक तस्वीर पहिलो पटक प्रकाशित भएको दिनको सम्झनामा मनाइन्छ। राष्ट्रिय फोटोपत्रकार समूह नेपाल ले विगत २८ वर्षदेखि निरन्तर विभिन्न कार्यक्रममार्फत यो दिवस मनाउँदै आएको छ। यस वर्ष पनि नेपालको पर्यटन क्षेत्रमा फोटोपत्रकारको भूमिकाबारे भृकुटीमण्डपमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्नुका साथै वार्षिक क्यालेन्डर प्रकाशन गरेर यस दिवसलाई विशेष रूपमा मनाउने योजना रहेको छ।

शुरुआती समयमा फोटोपत्रकारिता गर्दा फिल्म क्यामेरामा काम गर्नुपथ्र्यो, एउटा फोटोको ठूलो मूल्य हुन्थ्यो र नतिजा हेर्न लामो समय कुर्नुपथ्र्यो । अहिले भने डिजिटल प्रविधिले काम छिटो, सहज र प्रतिस्पर्धात्मक बनाएको छ तस्वीर तुरुन्तै खिच्ने, सम्पादन गर्ने र प्रकाशन गर्ने अवस्थामा छौं । तर सामाजिक सञ्जालका कारण फोटोको मूल्य र श्रमको कदर घटेको महसुस हुन्छ, साथै ‘छिटो र भाइरल’ हुने दबाब पनि बढेकोको व्यवसायीक फोटोपत्रकारितालाई चुनौती थपीदै गएको छ । यद्यपि, फोटोपत्रकारिताको मूल लक्ष्य सत्य देखाउने र ऐतिहासिक क्षण सुरक्षित गर्ने र गुणस्तरको फोटो संकलनमा अहिले पनि उस्तै रहेको छ ।

नेपालमा फोटोपत्रकारहरूको हकहित, सुरक्षा र पेशागत विकासका लागि केही प्रमुख संस्थाहरू सक्रिय छन्—जसमध्ये राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपीजे) विगत २८ वर्षदेखि निरन्तर सक्रिय प्रमुख संस्था हो। साथै फोटोपत्रकार क्लव (नेपाल पत्रकार महासंघको एसोसिएट सदस्य) र नेपाल फोटोपत्रकार महासंघ पनि क्रियाशील छन् ।

म अध्यक्ष रहेको एनएफपीजेले फोटोपत्रकारहरूको हकहित र विकासका लागि क्यामरा खरिदमा सहुलियत ऋण पहल, वार्षिक राष्ट्रिय फोटोपत्रकारिता अवार्डमार्फत १६ विधामा सम्मान गर्दै आइ रहेका छौं भने सस्था मार्फत सरकारसमक्ष जीवन बीमा, रोजगारी र सुरक्षा सुनिश्चितताका मागसहित ज्ञापनपत्र पेश गर्दै आइरहेका र्छौ । यसका साथै देशभर नयाँ तथा पुराना सदस्यहरुलाई लक्षित गरी फोटोग्राफीको व्यवसायीक तालिमहरु सञ्चालन गर्दै पेशागत दक्षता अभिवृद्धिमा निरन्तर काम गरिरहेको छ ।भने सस्थाका सदस्यका लागि आपकालीन राहात कोषको निमार्ण गरेका छौं ।

फिल्डमा प्रत्यक्ष खटिने फोटोपत्रकारहरू, विशेषगरी आन्दोलन, भिडन्त, दंगा, प्राकृतिक विपद् वा अन्य संवेदनशील अवस्थाहरूमा उच्च जोखिममा पर्ने भएकाले उनीहरूको भौतिक सुरक्षा अत्यन्त महत्वपूर्ण विषय हो। यसलाई ध्यानमा राख्दै राष्ट्रिय फोटोपत्रकार समूह नेपाल ले विभिन्न सुरक्षात्मक र सहयोगात्मक कार्यहरू गर्दै आएको छ ।

संस्थाले आफ्ना सदस्यहरूलाई आधिकारिक प्रेस कार्ड उपलब्ध गराउँदै आएको छ, जसले सुरक्षाकर्मीहरूसँग पहिचान र सहजीकरणमा सहयोग पुर्‍याउँछ। साथै प्रेस ज्याकेट, मास्क र आवश्यक सुरक्षात्मक सामग्री वितरण गर्दै आएको छ । जोखिमपूर्ण अवस्थामा खटिने फोटोपत्रकारहरूका लागि सचेतना सूचना तथा सुरक्षा सम्बन्धी जानकारी नियमित रूपमा प्रदान गरिँदै आएको छ ।

भविष्यमा संकटपूर्ण अवस्थाको रिपोर्टिङ र सुरक्षित कार्यशैलीबारे विशेष तालिम सञ्चालन गर्ने, साथै बुलेटप्रुफ ज्याकेट र स्तरीय हेलमेटजस्ता थप सुरक्षा सामग्रीको व्यवस्था गर्ने योजना पनि रहेको छ। साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायहरूसँग निरन्तर समन्वय गरी फोटोपत्रकारलाई सहज र सुरक्षित वातावरणमा काम गर्न सक्ने व्यवस्था मिलाउने पहल गरिएको छ ।

यदि कुनै फोटोपत्रकारमाथि दुव्र्यवहार, आक्रमण वा अन्य अन्यायपूर्ण घटना भएमा संस्थाले कानुनी सहयोग, प्रेस विज्ञप्तिमार्फत सार्वजनिक धारणा, र आवश्यक परेमा सम्बन्धित निकायमा उजुरी दर्ता गरी संरक्षण र समर्थन प्रदान गर्दै आएको छ ।

नेपालमा फोटोपत्रकारहरूले विभिन्न पेशागत, आर्थिक, कानुनी र भौतिक चुनौतीहरू भोग्दै आएका छन्। विशेषगरी आन्दोलन, झडप, दंगा र भीड नियन्त्रणजस्ता संवेदनशील घटनामा रिपोर्टिङ गर्दा उनीहरू सुरक्षाकर्मी वा प्रदर्शनकारी दुवै पक्षबाट जोखिम र दुव्र्यवहारको सामना गर्नुपरेका घटनाहरू धेरै छन भने कहिले काही त पत्रकारले ज्यान नै गुमाउनु परेको पनि छ ।

आर्थिक रूपमा धेरै फोटोपत्रकारहरू अस्थायी वा ज्यालादारी आधारमा कार्यरत हुँदा नियमित तलब, बीमा, भत्ता र सामाजिक सुरक्षाको अभाव देखिन्छ । कोभिड–१९ महामारीजस्ता संकटका समयमा धेरैले रोजगारी गुमाउनुपरेको अवस्था पनि रह्यो । कतिपय सञ्चार माध्यममा प्रकाशित फोटोको उचित पारिश्रमिक समयमा नपाउने समस्या अझै कायम छ । साथै, मोफसलका फोटोपत्रकारहरूमा आधुनिक प्रविधि, क्यामेरा अपग्रेड र डिजिटल सम्पादनसम्बन्धी सीपको कमी पनि देखिन्छ ।

यस्तै, सामाजिक सञ्जाल र अनलाइन पोर्टलहरूमा फोटोको अनधिकृत प्रयोग र श्रेय नदिने प्रवृत्ति पनि बढ्दो समस्या हो । प्रेस कार्ड र आधिकारिक मान्यताको अभावका कारण कतिपय फोटोपत्रकारले सरकारी कार्यक्रम वा निषेधित क्षेत्रमा सहज पहुँच नपाउने समस्या पनि लामो समयदेखि रहँदै आएको छ ।

मैले विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रमहरू जस्तै यूएन महासभा, सार्क सम्मेलन, विमस्टेक सम्मेलन तथा कोप २८ लगायतमा फोटोपत्रकारिता गर्ने अवसर पाएको अनुभवबाट विदेश र नेपालको फोटोपत्रकारितामा धेरैनै फरक देखिन्छ ।

विदेशमा फोटोपत्रकारलाई कार्यक्रमअघि नै छुट्टै प्रेस पास, स्थान, समय तालिका र सुरक्षा ब्रीफिङ दिइन्छ जसले कामलाई सहज र व्यवस्थित बनाउँछ । प्रविधिको प्रयोग उच्च स्तरको हुन्छ र फोटो तत्काल सम्पादन तथा प्रसारण गर्ने गर्दछन । साथै फोटो प्रयोग गर्दा फोटोग्राफरको नाम अनिवार्य रूपमा उल्लेख गरिन्छ ।

नेपालमा भने अझै भीड व्यवस्थापन, प्रेसको पहुँच, सुरक्षा ब्रीफिङ र प्राविधिक व्यवस्थापनमा चुनौतीहरु धेरैछन । धेरै फोटोपत्रकार आफ्नै लगानीमा क्यामरा खरिद गरेर प्रयोग गर्नु पर्ने वाध्यता छ भने खर्च गरेर क्यामरामा लगानी गरेर काम गर्न पनि तेतिकै समस्याहरु छन । कतिपय अवस्थामा फोटोको श्रेय नदिने वा अनधिकृत प्रयोग गर्ने समस्या पनि देखिन्छ ।

समग्रमा, विदेशमा फोटोपत्रकारिता बढी व्यवस्थित, प्रविधिमैत्री, विस्वसनियता र सम्मानित छ । भने नेपालमा अझै सुधार र संस्थागत व्यवस्थापन आवश्यक देखिन्छ ।

म व्यक्तिगत रूपमा तथा राष्ट्रिय फोटोपत्रकार समूह नेपाल को अध्यक्षको हैसियतले विभिन्न एसियाली देशका फोटोपत्रकार र संस्थाहरूसँग मित्रता, सहकार्य र भाइचाराको सम्बन्ध सुदृढ गर्दै आएको छु । विशेषगरी बंगलादेशका फोटोपत्रकार संघसँग लामो समयदेखि निरन्तर सहकार्य गर्दै फोटो प्रदर्शनी, सांस्कृतिक आदान–प्रदान र मैत्रीपूर्ण खेलकुद कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् ।

त्यसैगरी चीनको गान्सु मोर्डन फोटोग्राफी सोसाइटी र विन्जाओ फोटोग्राफर एसोसिएसनसँग पनि औपचारिक मित्रता स्थापना भई फोटो प्रदर्शनी, सांस्कृतिक आदान–प्रदान तथा आपसी भ्रमण कार्यक्रमहरू सम्पन्न भएका छन् । हामीले नेपालमा चिनियाँ प्रतिनिधिहरूलाई स्वागत गर्दै संयुक्त कार्यक्रम आयोजना गरेका छौँ।

भविष्यमा सार्क तथा एसियाली स्तरमा फोटो स्टोरी टेलिङ, डिजिटल फोटोग्राफी वर्कसप र डिजिटल फोटो प्रदर्शनीजस्ता संयुक्त कार्यशालाहरू विस्तार गर्ने लक्ष्य रहेको छ, भने एसियालि मुलुकका फोटोपत्रकारहरुलाई नेपालमा वोलाएर विश्व फोटोपग्राफी सम्मेलन आयोजना गरी अन्तर्राष्ट्रिय अनुभव र सिकाइको अवसर प्रदान गर्नेछौं ।

नेपालमा फोटोपत्रकारहरूको अवस्था हाल क्रमश: सुधार हुँदै गएको देखिन्छ । राष्ट्रिय फोटोपत्रकार समूह नेपाल, फोटोपत्रकार क्लव, नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल लगायत संस्थाहरूले हकहित, क्षमता विकास र सम्मानका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन् । राष्ट्रिय फोटोपत्रकारिता अवार्ड, फोटो प्रतियोगिता र तालिम कार्यक्रमहरूले नयाँ पुस्तालाई प्रेरित गर्दै डिजिटल फोटोपत्रकारितामा दक्ष बनाउन महत्वपूर्ण भूमिका खेलेका खेलीरहेको छ । तर अझै पनि चुनौतीहरू कायम छन सरकारी नीति, श्रम अधिकार, बीमा तथा सामाजिक सुरक्षा फोटोपत्रकारमैत्री बन्न बाँकी छ । विशेषगरी मोफसलका फोटोपत्रकारहरू आर्थिक, प्राविधिक र अवसरका हिसाबले कमजोर अवस्थामा छन् भने उनीहरुलाई पनि प्रशक्षिण र लगानी मैत्रीबातावरण निमार्ण गर्न लाग्नुपर्ने छ ।

हिजो भन्दा आजको दिनमा नेपालमा फोटोपत्रकारिता प्रविधिमैत्री दिशातर्फ अघि बढिरहेको छ । अब फोटोपत्रकारले एआई, मोबाइल, ड्रोन र मल्टिमिडिया स्टोरीटेलिङ जस्ता नयाँ प्रविधिसँग काम गर्नुपर्ने अवस्था सृजना भएको छ । यदि सरकारले नीतिगत सुधार, सुरक्षा सुनिश्चितता, प्रविधिमा लगानी र नयाँ पुस्ताको नेतृत्व विकास सँगसँगै अघि बढाइयो भने नेपालको फोटोपत्रकारिताको भविष्य अझ उज्ज्वल र सशक्त बन्ने विश्वास गर्न सकिन्छ ।

भोलीका दिनमा फोटोपत्रकारितामा प्रवेश गर्न चाहने नयाँ युवाहरूलाई मेरो सन्देश के छ भने फोटोपत्रकारिता केवल पेशा होइन, यो समाज, सत्य र मानवताको ऐना हो । त्यसैले पहिला फोटोपत्रकारिता लाई बुझेर मात्र यो रोजगारी तथा व्यवसायमा आउनु हुन अनुरोध गर्दछु ।

राम्रो फोटो खिच्नु मात्र होइन, समाचारको भाषा बोल्ने, कथा भन्ने र समाजको पीडा, परिवर्तन र आशालाई उजागर गर्ने जिम्मेवारी पनि यससँग जोडिएको हुन्छ । त्यसैले प्रत्येक तस्वीरमा अर्थ, भावना र सत्य खोज्ने प्रयास अनुरुप काम गर्नु पर्दछ ।

आजको युगमा प्रविधि तीव्र रूपमा परिवर्तन हुँदैछ डिजिटल क्यामेरा, मोबाइल फोटोजर्नालिज्म, ड्रोन र एआईजस्ता उपकरणले अवसरसँगै चुनौती पनि ल्याएका छन्। त्यसैले प्रविधिसँगै पेशागत नैतिकता, जिम्मेवारी र आर्थिक लगानी गरेर धैयताका सार्थ काम गर्ने इच्छा शक्ति र ठुलो मन हुनु पनी पर्दछ ।

साथीहरू, सहकर्मी र सम्पूर्ण मिडिया समुदायसँग सहकार्य गर्दै अघि हिड्नु पर्दछ जसले गर्दा एक्लै होइन, सहयोग र सहकार्यले नै फोटोपत्रकारिता धेरै समय सम्म काम गर्न सकिन्छ । त्यसैले फोटोपत्रकारितामा समर्पण, लगन र इमानदार प्रयासले मात्र नेपालको फोटोपत्रकारिताको भविष्य अझ उज्ज्वल बनाउन सकिन्छ ।

प्रदीपराज वन्त राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपीजे)का अध्यक्ष हुनहुन्छ