१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ राजर्षिजनक विश्वविद्यालयमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको लागि कार्बन उत्सर्जन गरिरहेका देशहरु जिम्मेवारः सांसद झा भोटेकोशी बाढीपछि अझै ४ हजार २१६ जना सम्पर्कविहीन विपद् व्यवस्थापनमा सरकारको कार्यप्रति रास्वपाको ऐक्यवद्धता, राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो बाढीमा बेपत्ता नागरिकको खोजी तीव्र बनाउन सांसदहरूको सरकारलाई ध्यानाकर्षण राहतको एकद्वार प्रणालीले जनता भोकै बस्नुपरेको एमाले सांसद बरालको आरोप सरकारको खोज तथा उद्धार कार्य सन्तोषजनक रहेको रास्वपाको निष्कर्ष भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा नेपाली सेनासहित विदेशी विशेषज्ञ टोली परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चम्पादेवीमा नयाँवर्षको अवसरमा धार्मिक मेला



चम्पादेवी क्षेत्र।
अ+ अ-

काठमाडौँ। धार्मिक र पर्यटकीय महत्व बोकेको चम्पादेवीमा मेष सङ्क्रान्ति (नयाँवर्ष)का अवसरमा आज मेला लागेको छ ।

त्ययुगमा शिशिर बुद्धले आफ्नो शिष्यहरुलाई ज्ञान दिएको स्थानका रुपमा रहेको चम्पादेवीमा चैत मसान्तको साँझदेखि भक्तजन जम्मा भएर जाग्राम बस्ने र पूजाआजा गर्ने परम्परा रहिआएको छ ।

कीर्तिपुर र दक्षिणकाली नगरपालिकाको सङ्गमस्थलमा रहेको चम्पादेवी मन्दिरमा दर्शन गर्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास छ । त्रेतायुगदेखि नयाँ वर्षको अवसरमा चम्पादेवीमा मेला लाग्ने गरेको चम्पादेवी क्षेत्र सुधार तथा व्यवस्थापन संस्थाका अध्यक्ष जनक तामाङले बताउनुभयो ।

चैत मसान्तदेखि भीडभाड हुने उक्त ठाउँमा भक्तजन रातभर पाल टाँगेर बस्ने गरेका छन् । पहिले रातभर बत्ती बाल्ने परम्परा भए पनि उक्त परम्परा भने पछिल्लो समय हराउँदै गएको तामाङले बताउनुभयो ।

काठमाडौँ उपत्यकाको पानीको निकासा गर्ने क्रममा कपुरदह र चोभारको गल्छी काट्दा मञ्जुश्रीले आफ्नो कान्छी श्रीमती मोक्षदालाई चम्पादेवी डाँडोमा लगेर राखेको किंवदन्ती रहेको छ । चम्पादेवीलाई काठमाडौँ उपत्यकामा पानी पार्ने देवीका रूपमा समेत मानिन्छ ।

समुन्द्र सतहबाट दुई हजार २८३ मिटर उचाइमा रहेको चम्पादेवीमा प्रत्येक नयाँवर्षमा २० हजारभन्दा बढी भक्तजनले मेला भर्ने गरेका छन् । चम्पादेवी काठमाडौँ उपत्यकाभित्रको सबैभन्दा पुरानो ‘ट्रेकिङ’ रुट हो । यस्तै, विसं २०४० तिरै चम्पादेवीमा ‘प्याराग्लाइडिङ’ उडान गरिएको थियो ।

काठमाडौँको दक्षिणकाली नगरपालिकास्थित हात्तीवन, बोसन, कीर्तिपुर र चन्द्रागिरीबाट पुगिने चम्पादेवी पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको गन्तव्य बनेको छ । विसं २०७२ मा भूकम्पले क्षति पुगेको चम्पादेवी मन्दिर तथा त्यस आसपासको क्षेत्रको पुरातत्व विभागले पुनःनिर्माण गरेको हो । उक्त मन्दिर र त्यसवरपरको क्षेत्र पुनःनिर्माणका लागि रु २८ लाख खर्च भएको छ ।

पछिल्लो समय सहरसँग चम्पादेवीलाई जोड्नका लागि बोसन गाउँबाट चम्पादेवी मन्दिरसम्म केबुलकारसमेत निर्माण हुन लागेको छ । चम्पादेवीको फेन्ड्रली कम्पनीले दक्षिणकाली नगरपालिका–१ बोसनगाउँबाट कीर्तिपुर नगरपालिका–४ चम्पादेवी डाँडासम्म केबुलकार निर्माण गर्न लागेको हो ।

केबुलकार निर्माणका लागि वातावरणीय अध्ययनको काम अन्तिम चरणमा पुगेको अध्यक्ष तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार रु पाँच अर्ब लगानीमा निर्माण हुन लागेको उक्त केबुलकारको काम दुई वर्षभित्र पूरा हुनेछ ।

दुई किलोमिटर लम्बाइ भएको उक्त केबुलकारमा १२ टावर हुनेछन् भने मानिस बोक्ने ३४ गोण्डुला, सामान बोक्ने दुई गोण्डुला र मर्मतको सामान बोक्ने एक गोण्डुला हुनेछन् । केबुलकार निर्माण भएपछि बोसन गाउँबाट चम्पादेवी पुग्न सात मिनेट लाग्नेछ । रासस