८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

सरकारमा समावेशी सहभागिताः मन्त्रिपरिषद्मा ४० प्रतिशत महिला

सरकारमा समावेशी सहभागिताः मन्त्रिपरिषद्मा ४० प्रतिशत महिला
अ अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले समावेशी शासनलाई केन्द्रमा राख्दै मन्त्रिपरिषद्मा महिलाको सहभागिता करिब ४० प्रतिशत गराएको छ ।

कुल १६ सदस्यीय मन्त्रिपरिषद्मा छ जना महिला मन्त्री नियुक्त हुनुभएको हो । यसले ३७ दशमलव पाँच (करिब ४०) प्रतिशत प्रतिनिधित्व कायम गरेको छ ।

यो अनुपातले नेपालमा मन्त्रिपरिषद्स्तरमा महिला सहभागिताको नयाँ मानक स्थापित गरेको प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धानविज्ञ दिपा दाहालले बताउनुभयो । “वर्तमान सरकार समावेशी र समतामूलक शासन प्रणालीमा विश्वास गर्छ । मन्त्रिपरिषद्मा ३७ दशमलव पाँच प्रतिशत महिला मन्त्रीको उपस्थिति हुनुले हामीले भन्दै आएको रुपान्तरणकारी राजनीतिलाई व्यवहारमा उतारेको पुष्टि गर्छ”, उहाँले भन्नुभयो ।

अधिवक्ता तथा अधिकारकर्मीले पनि सरकारको यो कदमको प्रशंसा गरेका छन् । गत चैत १३ गते प्रधानमन्त्री शाह नेतृत्वको नयाँ सरकार गठन हुँदा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा सोविता गौतम, कृषि तथा पशुपन्छी विकासमन्त्रीमा गीता चौधरी, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा सीता वादी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा निशा मेहेता नियुक्त हुनुभयो ।

प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आजै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादवलाई नियुक्त गर्नुभएको छ । नेपालको संविधानले राज्यका निकायमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरे पनि विगतका सरकारमा यो लक्ष्य प्रायः पूरा हुनसकेको थिएन । यसपटकको सरकारले उक्त संवैधानिक सीमालाई पार गर्दै करिब ४० प्रतिशत महिला सहभागिता पुर्‍याएको भन्दै अधिकारकर्मीले यसलाई सकारात्मक रूपमा लिनुपर्ने भन्दै समावेशी शासनतर्फ सकारात्मक कदमका रूपमा हेरिएको प्रतिक्रिया दिएका छन् ।

यस कदमले समावेशी लोकतन्त्रलाई मजबुत बनाउनका लागि महिलामैत्री नीति निर्माणमा सहयोग पुग्ने उहाँहरूको बुझाइ छ । राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले मन्त्रिपरिषद्मा महिलाको यस्तो उच्च सहभागिता मुलुकको इतिहासमा पहिलो भएको बताउँदै यसलाई महत्त्वपूर्ण र सकारात्मक उपलब्धिका रूपमा लिनुपर्नेमा जोड दिनुभयो ।

“सङ्ख्याका आधारमा मन्त्रिपरिषद्मा यति धेरै महिला सहभागिता पहिलोपटक भएको हो”, उहाँले भन्नुभयो, “१६ सदस्यीय मन्त्रिपरिषद्मा छ जना महिला सहभागी हुनु भनेको महिला नेतृत्वमा समावेशीतर्फ एक उदाहरणीय कदम हो । साथै आजै रुबी ठाकुरलाई उपसभामुखमा चयन गर्नु समावेशी एजेन्डाप्रति सरकारको संवेदनशीलताको बलियो सङ्केत हो ।”

वरिष्ठ अधिवक्ता मीरा ढुङ्गानाका अनुसार यो सहभागिता सन्तोषजनकमात्र नभई नीतिगत संवेदनशीलता बढाउने अवसर पनि हो । “महिलाको सहभागिताले महिलासम्बन्धी मुद्दामा संवेदनशील निर्णय लिन सहयोग पुग्नेछ”, उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले निकट भविष्यमा महिला सहभागिता ५० प्रतिशतसम्म पुर्‍याउनुपर्ने सुझाव पनि दिनुभयो ।

अधिवक्ता भावना दाहालले सङ्ख्यासँगै विविधता पनि महत्त्वपूर्ण हुने बताउँदै वर्तमान मन्त्रिपरिषद्ले सकारात्मक सन्देश दिएको धारणा राख्नुभयो । “सङ्ख्यामात्र होइन, महिला नेतृत्वमा विविधता हुनु पनि सकारात्मक सङ्केत हो”, उहाँले भन्नुभयो । रासस