१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी प्रदेशसभा बैठकः समसामयिक विषयमा छलफल



अ+ अ-

लुम्बिनी। लुम्बिनी प्रदेशसभाको बैठकमा सङ्घीय र प्रदेश सरकारसँग सरोकार राख्ने विषयमा प्रदेशसभा सदस्यहरूले आआफ्नो धारणा राखेका छन् ।

प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले जनताको अपेक्षाअनुसार सुशासन कायम गर्न सरकार सफल हुनुपर्ने बताउनुभयो ।  सङ्घीयतासहितको संविधानप्रति प्रतिबद्धता जनाउँदै प्रदेशलाई स्वायत्त र जीवित संस्थाका रूपमा सुदृढ बनाउनुपर्ने उहाँको धारणा थियो ।

प्रदेशसभा सदस्य निमा गिरीले जेनजी आन्दोलनका क्रममा सरकारी तथा निजी सम्पत्तिमा भएको क्षतिका सन्दर्भमा प्रदेशको सम्पत्ति जोगाउनेहरूप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले संविधानको मर्म र घोषणापत्रअनुसार काम गर्न सुझाव दिँदै द्रुतमात्र होइन, निष्पक्ष कारबाही आवश्यक रहेको बताउनुभयो ।

प्रदेशसभा सदस्य चन्द्रकेश गुप्ताले विदेशमा रहेका नेपाली नागरिकको सुरक्षाको प्रत्याभूति दिलाउन सङ्घीय सरकारसँग आग्रह गर्नुभयो ।

प्रदेशसभा सदस्य इन्द्रकुमारी गहतराजले जेनजी आन्दोलनमा घुसपैठका कारण अप्रत्याशित क्षति भएको बताउनुभयो । सरकार जनताप्रति कत्तिको उत्तरदायी छ भन्ने कुरा व्यवहारबाट देखिनुपर्ने उहाँको भनाइ थियो ।

अर्का प्रदेशसभा सदस्य यमबहादुर नेपाली सार्कीले दलित अधिकार विधेयकलाई प्रभावकारी बनाउने प्रयास भइरहेको जानकारी दिनुभयो । करिब सात लाख ३५ हजार नागरिकसँग सम्बन्धित यस विधेयकलाई गम्भीरतापूर्वक अगाडि बढाउनुपर्ने उहाँको जोड थियो ।

प्रदेशसभा सदस्य मिनाकुमारी श्रेष्ठले किसानका लागि मल र बीउको समस्या पटकपटक उठाउँदा पनि समाधान नहुँदा समस्या भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रदेशसभा सदस्य गिरीधारीलाल न्यौपानेले लोकतान्त्रिक मूल्य, संविधान र नागरिक स्वतन्त्रताको सबैले सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले उठेका प्रश्नहरूको जवाफ दिँदै चालु आर्थिक वर्षमा मन्त्रालय र मातहतका निकायबाट सञ्चालन भइरहेका आयोजनाबारे जानकारी दिनुभयो । प्रदेशका नागरिकले सहज सेवा पाउने गरी सामूहिक भावनाबाट काम अघि बढाइने उहाँको भनाइ थियो ।

यसैबीच, अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले समितिको वार्षिक प्रतिवेदन सभामा पेस गर्नुभयो । सातौँ अधिवेशनको नवौँ बैठक चैत २६ गते दिउँसो ११ः०० बजे बस्ने जानकारी गराइएको छ । चैत २२ गतेदेखि सुरु भएको अधिवेशनका बैठक निरन्तर रूपमा सञ्चालन हुँदै आएका छन् । रासस