१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक पुगेपछि सहज बन्यो गाउँलेको दैनिकी



अ+ अ-

चितवन। घरसम्मै गाडी पुगेपछि यहाँको इच्छाकामना गाउँपालिका–२ घुर्केसकी विसु गुरुङको दैनिकी फेरिएको छ । पहिले जस्तो पैदल हिँडेर बजार जानु पर्दैन । गाडीमा जान आउन पाएपछि घरको काम गर्ने समय नै बचत भएको उहाँ बताउनुहुन्छ ।

स्थानीय स्वास्थ्य संस्थामा कार्यरत गुरुङले सडक सञ्जालले गाउँलेको जीवन फेरिएको बताउनुभयो । पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड आसपास बाहेक इच्छाकामनाका अधिकांश भूगोल पहाडी क्षेत्रमा पर्दछ । यहाँ बहुसङ्ख्यक जनजाति बसोबास गर्दछन्, जसमा ३७ प्रतिशत चेपाङ छन् । कुल जनसङ्ख्याको ७५ प्रतिशत जनजातिको बसोबास छ ।

इच्छाकामना–२ का अध्यक्ष पञ्चबहादुर चेपाङ गाउँगाउँमा सडक, विद्युत्, खानेपानी पुगेपछि बसाइँ सर्ने क्रम घटेको बताउनुहुन्छ । उहाँका अनुसार सडक सञ्जालले छोएसँगै यहाँ उत्पादित कृषिजन्य उत्पादन सहजै बजारसम्म पु-याउन पाएका छन् ।

घरमै मोटरसाइकल पुग्ने भएपछि बजारमा काम गर्नेहरु पनि बिहान बेलुका घरबाटै धाउन थालेका छन् । गाउँपालिकाको पहाडी भू–भाग हुँदै शक्तिखोर–फिस्लिङ सडक बनेको छ । इच्छाकामना गाउँपालिका–२, ३ र ७ वडा हुँदै जाने सो सडक ३५ किलोमिटर लामो छ । यो सडकसँगै नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गसँग यहाँका भित्री सडक जोडिएका छन् ।

गाउँपालिका, बागमती प्रदेश सरकार र सङ्घीय सरकारका आयोजनाका कारण सडक र पुल बनेपछि गाउँलाई सहरसँग जोड्न सकिएको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ बताउनुहुन्छ । इच्छाकामनामा मात्र तीन तहले बनाएका सडकको लम्बाइ ४०० किलोमिटरभन्दा बढी छ ।

उहाँले भन्नुभयो, “सबै टोलमा सडक पुगेको छ । जसले यहाँका नागरिकको जीवन फेरिएको छ । गाउँपालिकाले विकास बजेटको ४० प्रतिशतभन्दा बढी सडक र पुलमा खर्च गर्ने गर्छ”, गुरुङले भन्नुभयो, “सडक पुगेपछि बसाइँ सर्नेक्रम कम भएको छ ।” यहाँबाट एक वर्षमा नौ करोड रुपैयाँ हाराहारीको सुन्तला बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो ।

गाउँपालिकाले तरकारी बोक्न कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । सुन्तलाभन्दा बढी तरकारीबाट किसानले आम्दानी गर्ने गरेका छन् । खसी, बोका, कुखुरा मात्रै वार्षिक एक करोड रुपैयाँ भन्दा बढीको बिक्री हुने गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्र बस्नेत सडक सञ्जालले इच्छाकामनाका सबै गाउँ छोएपछि यहाँको पर्यटकीय क्षेत्रको विकासमा पनि टेवा पुगेको बताउनुहुन्छ । धार्मिक महत्व बोक्ने मठमन्दीर, महत्वपूर्ण किल्ला उपरदाङगढी, जिल्लाकै सबैभन्दा अग्लो भू–भाग सिराइचुली जस्ता क्षेत्रमा सडक सञ्जाल पुगेपछि आन्तरिक पर्यटक बढेको बस्नेत बताउनुहुन्छ ।रासस