८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

पर्यटकीयस्थल बुङालुङ पार्क (ढुङ्गे बगैँचा)मा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण सुरु

पर्यटकीयस्थल बुङालुङ पार्क (ढुङ्गे बगैँचा)मा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण सुरु
अ अ+ अ-

खोटाङ। विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीस्थित ककनीडाँडामा निर्माणाधीन बुङालुङ पार्क (ढुङ्गे बगैँचा)मा  बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण सुरु गरिएको छ ।

धार्मिक तथा पर्यटकीयस्थल बुङालुङ पार्कमा कोशी प्रदेश सरकार, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँगको साझेदारीमा हलेसी तुवाचुङ नगरपालिकाले बहुसांस्कृतिक सङ्ग्रहालय निर्माणको काम सुरु गरेको हो ।

बहुसांस्कृतिक सङ्ग्रहालय भवन निर्माणका लागि कोशी प्रदेश सरकार र नगरपालिकाले रु एक÷एक करोड बजेट उपलब्ध गराएको नगरप्रवक्ता एवम् वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो । नगरप्रवक्ता गिरीका अनुसार प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट गङ्गा–जमुना निर्माण सेवा ताप्लेजुङले रु ९० लाख तथा नगरपालिकाले विनियोजन गरेको बजेटबाट सुदेवी कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिले रु ८० लाख ८१ हजारमा सङ्ग्रहालय भवन निर्माणको जिम्मा लिएको छ ।

गत फागुन २२ गते सम्झौता गरेर निर्माण सुरु गरिएको सङ्ग्रहालयको काम आगामी जेठ मसान्तभित्र सम्पन्न गर्नुपर्ने ठेकेदार कम्पनीसँग गरिएको सम्झौतामा उल्लेख छ । प्रदेश सरकारले उपलब्ध गराएको बजेटबाट एउटा तथा नगरपालिकाले उपलब्ध गराएको बजेटबाट दुईवटा सङ्ग्रहालय भवन निर्माण हुने नगरपालिकाले जनाएको छ ।

बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक पहिचानलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित बुङालुङ पार्कमा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माणको काम सुरु गरिएको नगरप्रमुख विमला राईले जानकारी दिनुभयो । “स्थानीय संस्कृति, इतिहास, परम्परा र विभिन्न समुदायको जीवनशैलीलाई संरक्षण गर्दै पर्यटन प्रवर्धन गर्ने योजना बनाएका छौँ । बहुसांस्कृतिक सङ्ग्रहालय भवनले हलेसी क्षेत्रको सांस्कृतिक पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ”, उहाँले भन्नुभयो, “नगरपालिकाले यो परियोजनालाई आफ्नो गौरवको योजनाका रूपमा अघि बढाएको छ । निर्धारित समयमै निर्माण सम्पन्न गराएर सञ्चालनमा ल्याउन ठेकेदार कम्पनीलाई ताकेता गरिरहेका छौँ ।”

हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीबाट करिब ३० मिनेटको उकालो पैदल यात्रामा पुगिने पर्यटकीयस्थल ककनीडाँडामा निर्माणाधीन बुङालुङ पार्कमा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण सुरु भएपछि स्थानीयवासी हर्षित भएका छन् । लामो समयअघि देखि स्थानीय बासिन्दा घुमफिर र पिकनिक (वनभोज) जाने पर्यटकीयस्थल ककनीडाँडालाई स्तरोन्नति गरेर आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षकस्थल बनाउन हलेसी तुवाचुङ नगरपालिका लागिपरेको हो ।

प्राकृतिक रूपमै सजिसजाउ भएका ढुङ्गालाई थप सजाउने, ढुङ्गाका बीचबीचमा सुहाउँदो फूल रोप्ने, ठाउँ–ठाउँमा ढुङ्गे गेट (प्रवेशद्वार) बनाउने, ढुङ्गे धारा निर्माण गर्ने, ढुङ्गा कुँदेर महादेवलाई भस्मासुरले लखेटेको दृश्य झल्काउने मूर्ति बनाउने, प्राकृतिक ढुङ्गालाई नचलाईकन कालो, सेतो र रातो रङको ढुङ्गा मिश्रण गरेर फूलको आकृति बनाउने, विभिन्न कला तथा संस्कृति झल्कने सजावट गर्नेलगायतका काम भइरहेको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने पर्यटकीयस्थल ककनीडाँडामा निर्माणाधीन ढुङ्गे बगैँचालाई नगरपालिकाले ‘बुङालुङ’ पार्क नामकरण गरेको हो ।

विश्वको सर्वोच्च शिखर सगरमाथालगायत उच्च हिमाली क्षेत्रको तस्बिर खिच्न, दृश्यावलोकन गर्न र रम्नका लागि ढुङ्गाकै स–साना गेट निर्माण गर्ने, ढुङ्गे बगैँचाका रूपमा विकास गर्न चारैतिर घेराबार तथा पर्खाल लगाउने, एक क्षेत्रबाट अर्को क्षेत्र पुग्न ढुङ्गाकै कलात्मक सिँढी निर्माण गर्ने, पर्यटक बिसाउने वा ‘रिल्याक्स’ गर्नका लागि ठाउँठाउँमा काठका बिसौनी बनाउने काम सम्पन्न गरिएको छ । यसबाहेक ढुङ्गे बगैँचामा विद्युत्, पिउनेपानीको व्यवस्था, विश्रामस्थल, केबुलकार, भोजनालय, कफी सपलगायतका संरचना निर्माण गर्नेसम्मको परिकल्पना गरिएको छ ।

भस्मासुर राक्षसले महादेवलाई लखेट्दा ककनीडाँडामा महादेवको पाइला परेपछि ढुङ्गाको कलात्मक आकृति निस्किएको किंवदन्ती छ । निर्माणाधीन अवस्थामै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको बुङालुङ पार्क हलेसी भएर जाने नेपाल सरकारको १०० पर्यटकीय गन्तव्य मुन्दुम ट्रेल (पदमार्ग)को प्रवेशस्थलमा पर्दछ ।

किराती सभ्यतासँग सम्बन्धित मुन्दुम ट्रेल हलेसीबाट सुरु भएर रूपाकोट, टेम्के, मैयुङ हुँदै सालपा सिलिचुङसम्मको निर्धारण गरिएको छ । त्रिधार्मिकस्थल हलेसी र ककनीडाँडा नजिकै किरात सभ्यताको उद्गमस्थल मानिने तुवाचुङ–जायजुम अवस्थित छ ।

फलामे डण्डी तथा तार प्रयोग गरेर निर्माण गरिएका घेराबाराभित्र रहेको बुङालुङमा गार्ड हाउस (सुरक्षाकर्मी), रेष्टुरेन्ट, प्रमुख प्रवेशद्वार, शौचालय, टिकट काउन्टर निर्माण गरिएको छ । बुङालुङ पार्कबाट सर्वोच्च शिखर सगरमाथालगायत विभिन्न हिमशृङ्खला, छिमेकी जिल्लाहरू सोलुखुम्बु, ओखलढुङ्गा, भोजपुर र रामेछाप तथा तराईका विभिन्न फाँट सजिलै अवलोकन गर्न सकिन्छ ।

निर्माणाधीन बुङालुङ पार्क काठमाडौँबाट मध्यपहाडी लोकमार्गमार्फत गाडीमा सिन्धुली–खुर्कोट–घुर्मी–जयरामघाट हुँदै आउन सकिन्छ । तराईका जिल्लाहरूबाट सिराहको मिर्चैया–उदयपुरको कटारी–घुर्मी–जयरामघाट तथा धरान–धनकुटा–भोजपुर–चखेवाभञ्ज्याङ–दिक्तेल हुँदै पनि हलेसी आउन सकिन्छ ।

निर्माणाधीन अवस्थामै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको बुङालुङ पार्क मध्यपहाडी लोकमार्गअन्तर्गत जयरामघाट–हलेसी सडकदेखि पैदल यात्रा गरेर २०÷२५ मिनेटमा र सवारी साधनमा करिब १० मिनेटमा पुगिन्छ । चट्टानै–चट्टानको प्राकृतिक संरचनामध्ये ५६ रोपनी जग्गालाई समेटेर बुङालुङ पार्क बनाउनेगरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ ।

सङ्घ, प्रदेश र स्थानीय सरकारको संयुक्त लगानीमा निर्माण सुरु गरिएको बुङालुङ पार्कमा दैनिक सयौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको स्थानीयले बताएका छन् । निर्माणाधीन अवस्थामै रहेको बुङालुङ पार्कका आकर्षक तस्बिरहरू सामाजिक सञ्जालहरूमा छ्यापछ्याप्ती भेटिन थालेका छन् ।

हलेसी तुवाचुङ नगरपालिकाले सुरु गरेको धार्मिक तथा पर्यटकीयस्थलहरूको स्तरोन्नतिसहित पर्यटन प्रवद्र्धनका कामलाई जिल्लामा निकै महत्वका साथ हेरिएको छ । नगरपालिकाले सुरु गरेको पर्यटन प्रवद्र्धनका काममा प्रदेश तथा सङ्घीय सरकारले लगानी गरेपछि जिल्लाका पर्यटन व्यवसायीहरू उत्साहित बनेका छन् । रासस