२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपंक्षी र वातावरण स्वस्थ नभई हामी पूर्ण स्वस्थ हुन सक्दैनौँः स्वास्थ्यमन्त्री मेहता



अ+ अ-

काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले मानव स्वास्थ्य, पशुपंक्षी र वातावरण एकअर्कासँग अभिन्न रूपमा जोडिएको भन्दै ‘एक स्वास्थ्य’ को अवधारणालाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

विश्व स्वास्थ्य दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मेहताले प्रकृति सुरक्षित र पशुपंक्षी स्वस्थ नभएसम्म मानिस पूर्ण रूपमा स्वस्थ रहन नसक्ने बताउनुभएको हो । उहाँले जनस्वास्थ्य, कृषि, पशुपालन र वातावरण क्षेत्रबिचको आपसी सहकार्य अहिलेको आवश्यकता रहेको उल्लेख गर्नुभयो । नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै मन्त्री मेहताले पछिल्लो समय मानव र पशुपंक्षीबीचको अन्तरसम्बन्धका कारण नयाँ चुनौतीहरू थपिएको बताउनु भयो ।

पशुपंक्षीबाट सर्ने रेबिजजस्ता प्राणघातक रोग, जलवायु परिवर्तनका कारण बढ्दो किटजन्य रोग र वातावरणीय प्रदुषणले निम्त्याएको क्यान्सर, मुटुरोग तथा मस्तिष्कघात जस्ता नसर्ने रोगहरूको जोखिम बढ्दै गएकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । यस्तै, एन्टिमाइक्रोबियल औषधिको अत्यधिक र जथाभाबी प्रयोगले ‘एन्टिमाइक्रोबियल रेसिस्टेन्स’ को ठूलो सङ्कट निम्त्याएको भन्दै उहाँले यसको समाधानका लागि सबै सरोकारवाला निकायबिच सहकार्य अपरिहार्य रहेको बताउनु भयो । सरकारले सन् २०१९ मा ‘राष्ट्रिय एक स्वास्थ्य रणनीति’ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको जानकारी दिँदै मन्त्री मेहताले आगामी दिनमा रोग निगरानी प्रणालीलाई अझ सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘ यस वर्षको ‘मानव, पशुपंक्षी र वातावरणको हित, विज्ञान र एक स्वास्थ्य हाम्रो जित’ भन्ने विश्व स्वास्थ्य दिवसको नाराले पनि मानव स्वास्थ्यसँग प्रत्यक्ष वा अप्रत्यक्ष सरोकार राख्ने यी महत्वपूर्ण आयामहरूमा जोड दिँदै विज्ञान, नवप्रवर्तन र एक स्वास्थ्य अवधारणालाई सुदृढ बनाउने विशेष जोड दिएको छ । मानव, पशुपंक्षी र वातावरणले एकअर्कासँग घनिष्ट रूपमा जोडिएको विषय भएकोले जबसम्म प्रकृति सुरक्षित र पशुपंक्षी स्वस्थ रहँदैनन् तबसम्म हामी पनि पूर्णरूपले स्वस्थ रहन सक्दैनौँ । त्यसैले जनस्वास्थ्य, कृषि तथा पशुपंक्षी र वातावरण क्षेत्रबिच सहकार्य अति नै जरुरी छ । हाम्रो देश नेपाल हजुरहरू सबैलाई थाहै छ कृषिप्रधान देश हो र यहाँ विशेषगरी जनसङ्ख्या कृषि र पशुपालनमा निर्भर छ । यसै सन्दर्भमा मानव, पशुपंक्षी र वातावरणीय अन्तरसम्बन्धले पनि स्वस्थ चुनौतीहरू सिर्जना भइरहेका छन् । जनावर तथा पशुपंक्षीबाट सर्ने अर्थात रोगहरू जोखिम बढिरहेको भने रेबिजजस्ता प्राणघातक रोगबाट पनि सर्वसाधारणले ज्यान गुमाइरहेका छन् । त्यसैगरी जलवायु परिवर्तनका कारण किटजन्य रोगहरू वृद्धि भइरहेको छ । वातावरणीय प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धित रोगहरू, क्यान्सर, मुटुरोग, मस्तिष्कघात जस्ता नसर्ने रोगहरू पनि भल बढिरहेको छ । अर्कोतर्फ हेर्ने हो भने मानव र पशुपंक्षीमा एन्टिमाइक्रोबियल औषधिको अत्यधिक र जथाभाबी प्रयोगले एन्टिमाइक्रोबियल रेसिस्टेन्सको समस्याले पनि ठूलो सङ्कटको अवस्था निम्त्याएको छ । यी उदाहरणहरूबाट एउटा कुरा प्रस्ट हुन्छ, यस्ता खालका नयाँ स्वास्थ्य चुनौतीको समाधानका लागि हामी सबै क्षेत्र र सरोकारवाला निकायबिच सहकार्य अपरिहार्य छ । प्रत्येक नागरिकलाई राज्यबाट निःशुल्क आधारभुत स्वास्थ्य सेवा पाउने अधिकार छ । स्वच्छ वातावरण, खाद्य सुरक्षा र उपभोक्ताको हक पनि स्वास्थ्यसँगै जोडिएका महत्वपूर्ण विषय हुन् । यी हकहरूको प्रभावकारी कार्यान्वयन गरी सुरक्षित नेपाल निर्माण गर्नु नै हाम्रो प्राथमिकता हो । हामी रोग लागिसकेपछि उपचार (क्युरेटिभ) मा जान्छौँ, तर अब हामीले रोकथाम (प्रिभेन्टिभ) पक्षमा बढी ध्यान दिनुपर्छ ।’

मन्त्री मेहताले नागरिकहरूलाई सरसफाइमा ध्यान दिन, घरपालुवा जनावरलाई अनिवार्य खोप लगाउन र स्वास्थ्यकर्मीको सल्लाहमा मात्र एन्टिमाइक्रोबियल औषधि प्रयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा उहाँले जनचेतना फैलाउने कार्यमा सञ्चारकर्मी, सङ्घसंस्था र सरोकारवाला निकायहरूलाई हातेमालो गर्न समेत आह्वान गर्नुभयो । यस वर्षको विश्व स्वास्थ्य दिवस ‘मानव, पशुपंक्षी र वातावरणको हित, विज्ञान र एक स्वास्थ्य हाम्रो जित’ भन्ने नाराका साथ मनाइएको छ । –न्युज एजेन्सी नेपाल