१४ श्रावण २०८३, बिहीबार
,
Latest
‘आइपीओ रोकेर धितोपत्र बोर्डले निजी क्षेत्रमाथि अपराध गर्‍यो’: इप्पान अध्यक्ष डाँगी रोपाइँका समयमा ‘ट्रान्सफर्मर’ चोरी भएपछि किसान समस्यामा पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध पाथीभारा माता भनिने थापा प्रहरी नियन्त्रणमा यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य बाघ संरक्षणमा स्थानीय समुदायको भूमिका महत्वपूर्ण सामाजिक सद्भाव कायम गर्न आग्रह विद्युत् महसुललाई समायनुकूल बनाउने प्राधिकरणको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सिसी क्यामेरा’बाट कक्षाकोठा निगरानी



अ+ अ-

कञ्चनपुर। कञ्चनपुरको बेलौरी नगरपालिका–९ स्थित सिद्धकेदारनाथ आधारभूत विद्यालयमा ‘सिसी क्यामेरा’बाट कक्षाकोठाको निगरानी गरिएको छ ।

शिक्षण सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउने तथा अनुशासन कायम गर्ने उद्देश्यले क्यामेरा जडान गरेर प्रधानाध्यापकको कार्यकक्षबाटै कक्षाकोठाको निगरानी गर्ने व्यवस्था मिलाइएको विद्यालयका प्रधानाध्यापक परमानन्द जोशीले जानकारी दिनुभयो ।

पालिकाको सहयोगमा विद्यालयमा सिसी क्यामेराबाट कक्षामा शिक्षक र विद्यार्थीबीच हुने गतिविधि प्रत्यक्ष अनुगमन गर्न सकिने भएको विद्यालयले जनाएको छ। “ससाना कामका लागि कक्षाकोठा चहार्नु पर्दैन प्रधानाध्यापककै कक्षाकोठाबाट निगरानी गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “विद्यालयका २४ क्यामेरा र माइक राखिएका छन् ।”

उहाँका अनुसार क्यामेरा जडानपछि कक्षाकोठामा अनुशासन बढेको र सिकाइ वातावरण थप व्यवस्थित भएको छ । “कक्षामा हुने गतिविधि सहजै अवलोकन गर्न सकिने भएकाले शिक्षण प्रक्रिया अझ प्रभावकारी भएको छ”, उहाँले भन्नुभयो, “शिक्षक नभएको अवस्थामा प्रअको कार्यकक्षबाटै विद्यार्थीहरुलाई कक्षाकार्य दिने गरेका छौँ ।”

उहाँले अहिलेको प्रविधिसँग विद्यार्थीलाई जोड्न सके शिक्षण सिकाइ प्रभावकारी हुने बताउनुभयो । “यो प्रविधि खर्चिलो छ यसका लागि एउटा विज्ञ कर्मचारी राख्नुपर्ने अवस्था छ”, प्रअ जोशीले भन्नुभयो, “विभिन्न समयमा आउने प्राविधिक समस्या युट्युब हेरेर समाधान गर्ने गरेको छु ।” उहाँका अनुसार बेलौरी नगरपालिकाको रु तीन लाख सहयोगमा हरेक कक्षामा माइक र क्यामेरा जडान गरिएको हो ।

बेलौरी नगरपालिकाले पनि सामुदायिक विद्यालयको गुणस्तरमा वृद्धि गर्नका लागि विद्यालयमा आइसिटी र विज्ञान प्रयोगशालामा जोड दिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख अमितप्रसाद भट्टले जानकारी दिनुभयो। “सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन कक्षाकोठा व्यवस्थापनदेखि पूर्वाधार विकास गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “विद्यालयमा पढाइका अतिरिक्त सिकाइलाई पनि प्राथमिकतामा राखेका छौँ ।”

बेलौरी नगरपालिकामा ३१ वटा सामुदायिक विद्यालय रहेका छन् । यसमा माध्यमिक विद्यालय १४, आधारभूत विद्यालय पाँच र प्राथमिक विद्यालय १२ छन् । रासस