८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा निर्वाचन: नेकपालाई फाइदै फाइदा



अ+ अ-

काठमाडौं । राष्ट्रियसभा चुनाव विपक्षी कांग्रेसका लागि सुखद नहुने निश्चित देखिएको छ। राष्ट्रियसभा सांसदको म्याद सकिनु ३५ दिनअघि निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ।निर्वाचन आयोगले आगामी माघ ९ मा चुनाव तोकेको छ। कांग्रेसका ७ सहित १९ सांसदको कार्यकाल फागुनमा सकिँदै छ। पदावधि सकिन लागेका सांसदमा नेकपाका ८, राजपाका २, समाजवादीका १ र राष्ट्रपतिबाट मनोनीत (अर्थमन्त्री युवराज खतिवडा) एक जना छन्।

सात सय ५३ स्थानीय तहका प्रमुख/उपप्रमुख गरी १ हजार ५ सय ६ जना र प्रदेशसभाका ५ सय ५० जना सांसद राष्ट्रियसभा निर्वाचनका मतदाता हुन्। स्थानीय तह र प्रदेशसभाका सांसदले दिने मतभार भने फरक हुन्छ। स्थानीय तहका पदाधिकारीले दिने मतको भार १८ छ भने प्रदेशसभाका सांसदको मतभार ४८ निर्धारण गरिएको छ। दुवै तहको मतभार जोड्दा ५३ हजार ५ सय ८ हुन्छ।राष्ट्रियसभाको निर्वाचन प्रणाली एकल संक्रमणीय हो। यसपटक प्रत्येक प्रदेश (क्लस्टर) बाट एकएक जना निर्वाचित हुनेछन्।

प्रदेश २ बाहेक ६ वटैमा प्रदेशसभा र स्थानीय तहमा सत्तासीन नेकपाको बहुमत छ। प्रदेश २ बाट निर्वाचित हुने उम्मेदवारका हकमा भने दलगत गठबन्धनले फरक पार्नेछ। सो प्रदेशबाट राष्ट्रियसभाका चार सांसदको पद रिक्त हुँदै छ। एक महिला, एक दलित, एक खुला र एक जना अल्पसंख्यक वा अपांगता भएका व्यक्ति गरी चारवटै क्लस्टरबाट चार पद रिक्त हुन लागेको हो।प्रदेश २ सभाबाट निर्वाचित हुन सत्तासीन नेकपाले मधेसकेन्द्रित कुनै एक दलसँग मात्र गठबन्धन गरे पुग्छ।

विपक्षी कांग्रेसले चुनाव जित्न राजपा र समाजवादी दुवै दलसँग गठबन्धन बनाउनुपर्छ। मधेस केन्द्रित दलसँग गठबन्धन गर्न सके कांग्रेसले प्रदेश २ बाट राष्ट्रियसभामा प्रतिनिधित्वको सम्भावना छ। ५९ सदस्यीय राष्ट्रियसभामा कांग्रेसका १३ सांसद छन्। सात सिट जोगाउन नसके कांग्रेस ६ सिटमा खुम्चिनुपर्ने हुन्छ। ५९ सदस्यीय राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट ८ जनाका दरले सांसद निर्वाचित हुने व्यवस्था छ। ३ जना भने मन्त्रिपरिषद् सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुन्छन्। स्थायी सदन राष्ट्रियसभाका लागि पहिलोपटक गोला हालेर २, ४ र ६ वर्षे कार्यकाल निर्धारण गरिएको थियो।

एक तिहाइ सांसदको कार्यकाल प्रत्येक दुई वर्षमा समाप्त हुन्छ। अब निर्वाचित हुनेको कार्यकाल भने ६ वर्षकै हुनेछ। निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ। आयोग प्रवक्ता गिरिजा शर्माले मंसिर २७ देखि पुस ६ गतेसम्म दल दर्ताको समय निर्धारण गरिएको जानकारी दिए। सरकारले निर्वाचन मिति निर्धारण गरेका कारण आयोगले चुनाव प्रक्रिया अघि बढाएको आयोगले जनाएको छ।

क–कसको सकिँदै कार्यकाल:राष्ट्रियसभाका सांसदहरु आफैंले गोला तानेर आफ्नो कार्यकाल निर्धारण गरेका थिए। कसैको भागमा दुई, कसैको चार र कसैको ६ वर्षे कार्यकाल गोलामार्फत निर्धारण गरिएको थियो। २ वर्षे कार्यकाल समाप्त हुन लागेकामा कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे, प्रमुख सचेतक सरिता प्रसाई, विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रसाद उपाध्याय र धनकुमारी खतिवडा छन्।

सत्तासीन नेकपाका ८ जना सांसदको कार्यकाल सकिन लागेको हो। नेकपाका बलराम बास्कोटा, हरिचरण शिवाकोटी, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपालीको कार्यकाल पनि सकिन लागेको हो। राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रीत पासवानको पनि २ वर्षको कार्यकाल सकिन लागेको हो।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत अर्थमन्त्री युवराज खतिवडाको पनि कार्यकाल सकिँदै छ। ९ माघमा नयाँ सांसद चुनिए पनि पुरानाको कार्यकाल भने फागुन २० सम्म रहनेछ। अन्नपुर्णपोष्ट दैनिकबाट