१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरसफाइ प्रवर्द्धन कार्यक्रम सञ्चालन पछि झाडापखाला हुने दरमा कमी



अ+ अ-

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ । सो प्रतिवेदनमा मानिसको स्वच्छता व्यवहारमा उल्लेखनीय सुधार आएको उल्लेख छ ।

स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखाका निर्देशक डा मदन उपाध्यायका अनुसार एक वर्षभित्र स्वच्छता व्यवहार दुई प्रतिशतबाट वृद्धि भइ ५३ प्रतिशत पुगेको छ । प्रतिवेदनमा कार्यक्रममार्फत खोप ‘कभरेज’मा वृद्धि, ‘ड्रपआउट’ तथा खोप खेर जाने दरमा कमी र पखाला रोगको दर १५ प्रतिशतबाट घटेर पाँच प्रतिशतमा झरेको उल्लेख छ ।

स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको क्षमता पनि उल्लेखनीय रूपमा अभिवृद्धि भएको तथा स्वास्थ्यकर्मीको आत्मविश्वास र कार्यक्षमता बढेको तथा समग्र स्वास्थ्य प्रणाली सुदृढीकरणमा सकारात्मक प्रभाव परेको प्रतिवेदनमा जनाइएको छ ।

सरकारले सन् २०१४ मा जाजरकोट, बर्दिया, नवलपरासी र म्याग्दी गरी चार जिल्लामा नमुनाका रूपमा सो कार्यक्रम सुरु गरेको थियो । त्यसपश्चात् सन् २०२० मा रोटाभाइरस खोपलाई राष्ट्रिय नियमित खोप कार्यक्रममा समावेश गर्ने क्रममा उक्त नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रम ७७ वटै जिल्लामा विस्तार गरिएको विभागका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो ।

‘स्वच्छ परिवार, सुखी परिवार’ भन्ने नाराका साथ सञ्चालन भएको यस कार्यक्रममा पूर्ण खोप र सबै सरसफाइ सत्र पूरा गर्ने परिवारलाई ‘नमुना परिवार’ का रूपमा सम्मानसमेत गरिँदै आइएको छ ।  रासस