१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुडान अस्पताल आक्रमणमा मृतक सङ्ख्या ७० पुग्योः विश्व स्वास्थ्य सङ्गठन



अ+ अ-

जेनेभा। पूर्व डारफुरस्थित एक अस्पतालमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ६४ बाट बढेर ७० पुगेको विश्व स्वास्थ्य सङ्गठनले मङ्गलबार जनाएको छ । सङ्गठनले यसलाई सुडानको विनाशकारी युद्धमा जीवनमाथिको आक्रमण भनेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार, पूर्व डारफुरको राजधानी शहरमा रहेको शिक्षण अस्पतालमा शुक्रबार भएको आक्रमणमा घाइते हुनेको सङ्ख्या पनि ८९ बाट बढेर १४६ पुगेको छ । हाल उक्त अस्पताल पूर्ण रूपमा सञ्चालनमा छैन ।

सुडानका लागि संगठनकी उपप्रतिनिधि तथा स्वास्थ्य आपतकालीन प्रमुख हाला खुडारीले यस घटनालाई ‘भयानक आक्रमण’ बताउनुभयो ।

उहाँका अनुसार मृतकमध्ये सात महिला, १३ बालबालिका, एक चिकित्सक र दुई नर्स रहेका छन् । घाइतेहरूमा बिरामी, उनीहरूका परिवारका सदस्य तथा आठ स्वास्थ्यकर्मी समेत रहेका छन् ।

उहाँले भन्नुभयो, “अस्पतालको बाह्य सेवा र आकस्मिक कक्षमा विशेष गरी गम्भीर क्षति पुगेको छ ।”

यो अस्पताल यसअघि पनि सन् २०२४ को अगस्टमा भएको अर्को आक्रमणमा क्षतिग्रस्त भएको थियो । पछिल्लो आक्रमणपछि अस्पताल अब सञ्चालनयोग्य नरहेको बताइएको छ ।

उक्त अस्पतालले पूर्व डारफुरका विभिन्न क्षेत्रमा रहेका करिब २० लाखभन्दा बढी जनतालाई सेवा प्रदान गर्दै आएको थियो । अब बिरामीहरूले अर्को सन्दर्भ अस्पताल पुग्न करिब १६० किलोमिटर टाढा जानुपर्ने अवस्था आएको छ ।

खुडारीले भन्नुभयो,“अस्पतालमाथिको आक्रमण केवल भवनमाथिको आक्रमण मात्र होइन, उपचार खोजिरहेका मानिस, अरूको ज्यान बचाउन जोखिम उठाउने स्वास्थ्यकर्मी र सङ्कटको समयमा बाँच्ने सम्भावनामाथिको आक्रमण पनि हो ।”

“स्वास्थ्य सेवामा पहुँच घट्दै गएको छ र क्षतिग्रस्त संरचना तथा उपकरण मर्मत गर्ने प्रयासहरू पनि प्रभावित भइरहेका छन् ।”

उहाँका अनुसार सन् २०२६ का लागि सुडानको स्वास्थ्य प्रतिक्रिया योजनामा हालसम्म मात्र ५.७ प्रतिशत रकम उपलब्ध भएको छ ।

सन् २०२३ को अप्रिलदेखि सुरु भएको द्वन्द्वमा सरकारी सेना र अर्धसैनिक बलबीचको संघर्षका कारण दशौँ हजार मानिसको मृत्यु भइसकेको छ भने करिब १ करोड १० लाख मानिस विस्थापित भएका छन् ।

मानवअधिकार समूह ‘आपतकालीन वकिलहरू’ का अनुसार उक्त अस्पतालमाथि सेनाले ड्रोन आक्रमण गरेको थियो ।

पश्चिमी सुडानको विशाल डारफुर क्षेत्रमा अर्धसैनिक बलको प्रभाव रहेको छ भने देशको पूर्व, मध्य र उत्तर भागमा सरकारी सेनाको नियन्त्रण रहेको छ ।

अर्धसैनिक नियन्त्रणमा रहेको उक्त शहरमा नियमित रूपमा सरकारी सेनाले आक्रमण गर्दै आएको छ ।  (रासस/एएफपी)