• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   वानीरा फाउन्डेसनद्वारा विभिन्न व्यक्ति पुरस्कृत ★   सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब रु एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने ★   प्रतिनिधि सभा बैठक ज्येष्ठ १ गतेसम्मका लागि स्थगित ★   विमानस्थलबाट ५० ग्राम अवैध सुनसहित एक जना पक्राउ ★   के आईपीएलको अर्को सिजनमा ‘इम्प्याक्ट प्लेयर’ नियम हटाइनेछ ? ★   कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगन ★   राप्रपा नेपालको सुशासन र स्वास्थ्य बिभाग प्रमुखमा चौलागाईं र भक्त केसि मनोनित ★   सर्वोच्चको आदेश: केदार कार्कीलाई कोशीको मुख्यमन्त्रीमा पुनर्बहाली गर्न अस्वीकार ★   संसदीय छानबिन समिति नबनेसम्म सदन अगाडि बढ्दैन: महामन्त्री थापा ★   संसदमा कांग्रेसको नारावाजी, बैठक १५ मिनेटका लागि स्थगित

पाथीभरा र हलेसी मन्दिर दर्शन अब हवाई सेवामार्फत जोडिँदै



ताप्लेजुङ । पूर्वमा निजी हवाई सेवा कम्पनीले प्याकेज नै बनाएर हवाई सेवा शुरु गरेपछि यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रहरु हवाई सेवामार्फत जोडिएका छन् । सीता एयर र माउण्टेन एयरले आपसी सहकार्य गरी झापाको भद्रपुर र विराटनगरबाट ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर, खोटाङको हलेसी, लुक्लालगायतका ठाउँमा हवाई सेवा शुरु गरेपछि यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्र हवाई सेवामार्फत जोडिएका हुन् । सीता एयरले आइतबारदेखि दैनिक भद्रपुर–ताप्लेजुङ सिधा उडान शुरु गरेको छ ।

यस्तै लामीडाँडा, लुक्लामा समेत उडान भइरहेको माउण्टेन हेलिकप्टर प्रालिका महाप्रबन्धक दिलबहादुर वलीले जानकारी दिए । उनका अनुसार पाथीभरा र हलेसी दर्शनको प्याकेज नै बनाइएको छ । भद्रपुर र विराटनगरबाट रु २३ हजारमा पाथीभरा आवतजावत गर्न सकिन्छ । भद्रपुर र विराटनगर दुवै ठाउँबाट सीता एयरले सुकेटार विमानस्थलसम्म दैनिक उडान भर्नेछ भने सुकेटारबाट माउण्टेन एयरको हेलिकप्टरले दर्शनार्थीलाई मन्दिरसम्म लगेर पुनः सुकेटारमा ल्याउने छ ।

पाथीभराको दर्शनपछि सुकेटारबाट यात्रुले भद्रपुर, विराटनगर नभई लुक्लासमेत जान पाउनेछन् । हवाई सेवा शुरु भएपछि लुक्लाबाट समेत पाथीभरामा दर्शनार्थी आउन थालेका छन् । यस्तै हलेसी दर्शनको समेत रु २३ हजारको प्याकेज बनाएर उडान भर्न थालिएको बताइएको छ । यस्तै माउण्टेन हेलिकप्टरले धरानको भेँडेटारबाट समेत पाथीभरा उडान शुरु गरेको छ । भेँडेटारबाट पाथीभरासम्मको ओहोरदोहोर भाडा रु ३० हजार छ । हवाई सेवाले तीर्थयात्रीलाई मात्रै नभई अन्य यात्रुलाई समेत सहज बनाएको छ । सीता एयरको विमान बिहान भद्रपुरबाट सुकेटार र सुकेटारपछि लुक्ला हुँदै काठमाडौँ जानेछ ।

पुनः काठमाडौँबाट लुक्ला हुँदै सुकेटार आई भद्रपुर वा विराटनगर फर्कने बताइएको छ । प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्र रहेको पूर्वमा पर्यटकको आकर्षण बढ्दै गएको र यहाँ रहेका दर्जनौँ विमानस्थलमा हवाई सेवा नभएकाले यस क्षेत्रमा हवाई सेवा सञ्चालनमा ल्याइएको बताइएको छ । यसले पर्यटन वर्षलाई सफल बनाउनसमेत सहयोग पुग्ने हवाई सेवा कम्पनीहरुको विश्वास छ ।

यता सुकेटार विमानस्थलबाट नियमित उडान शुरु भए पनि स्थानीयवासीले तराईका भू–भागसहित काठमाडौँसम्मको यात्रामा सहज हुने विश्वास लिएका छन् । यस्तै पर्यटकको सङ्ख्यामा समेत वृद्धि भई पर्यटन प्रर्वद्धन हुनुका साथै जटिल प्रकृतिका बिरामीको उद्धारमा समेत सहयोग पुग्ने उनीहरुको भनाइ छ । पूर्वका सबै विमानस्थलमा हवाई सेवा नियमित बने भारतको सिक्किम, दार्जलिङलगायतका पर्यटकलाई समेत सहज हुने देखिएको छ ।