५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

संवैधानिक अंगका अधिकार धमाधम कटौती हुँदै

संवैधानिक अंगका अधिकार धमाधम कटौती हुँदै
अ+ अ-

काठमाडौं । संवैधानिक व्यवस्थाबमोजिम गठित संवैधानिक आयोगको अधिकार कटौती गर्ने गरी सरकारले धमाधम कानुन ल्याउन लागेको छ । महत्वपूर्ण केही संवैधानिक आयोगको अधिकार सरकारले कटौती गरिसकेको छ भने कतिपयको कटौती गर्ने गरी विधेयक ल्याएको छ । महालेखापरीक्षक कार्यालय र निर्वाचन आयोगलाई यसअघि नै ऐन संशोधनमार्फत अधिकारमा अंकुश लगाएको सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानवअधिकार आयोग र लोकसेवा आयोगको अधिकार पनि कटौती गर्ने गरी विधेयक ल्याएको छ ।

प्रदेश मन्त्रिपरिषद्को निर्णयलाई अख्तियारको कार्यक्षेत्रबाट अलग्याइँदै सरकारी कर्मचारीले गरेको अनियमितता सम्बन्धमा अनुसन्धान र छानबिन गरी अदालतमा मुद्दा दायर गर्ने संवैधानिक अधिकार पाएको अख्तियारलाई कमजोर बनाउने गरी ऐन संशोधन हुन लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकलाई मन्त्रिपरिषद्ले संसद्मा पेस गर्न स्वीकृति दिइसकेको छ । सो विधेयकमा संघीय मन्त्रिपरिषद् र प्रदेश मन्त्रिपरिषद्का निर्णयमाथि छानबिन गर्न नपाउने गरी प्रस्ताव गरिएको छ ।

विद्यमान ऐनको दफा ४ मा मन्त्रिपरिषद् वा त्यसको कुनै समितिले सामूहिक रूपमा गरेको कुनै नीतिगत निर्णयका सम्बन्धमा अख्तियारले अनुसन्धान र तत्सम्बन्धी कुनै कारबाही नगर्ने व्यवस्था छ । तर, प्रस्तावित व्यवस्थाले ‘नीतिगत’ शब्द हटाएर मन्त्रिपरिषद्का निर्णयमाथि नै अख्तियारले छानबिन गर्न नपाउने व्यवस्था गरेको छ । प्रदेश मन्त्रिपरिषद्ले गरेका निर्णयमाथि छानबिन गर्न नपाउने गरी विधेयकमा प्रस्ताव गरिएको छ । प्रदेश कानुनबमोजिम प्रदेश मन्त्रिपरिषद्ले गरेका नीतिगत निर्णयमाथि अख्तियारले छानबिन गर्न नपाउने व्यवस्था प्रस्ताव गरिएको हो ।

बेरुजु निकाल्नेलाई नै फस्र्योटको अधिकार सरकारी कार्यालयको लेखापरीक्षण गर्न संविधानले नै दिएको अधिकार कटौती गर्दै सरकारले महालेखापरीक्षकको कार्यालयमाथि पनि अंकुश लगाएको छ । आर्थिक कार्यविधि ऐन, २०५५ खारेज गर्दै जारी गरेको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ ले महालेखाको अधिकार सचिवलाई दिएको छ । अब आफ्नो कार्यालयको बेरुजु आफैँ फस्र्योट गर्ने अधिकार सचिवले पाएका छन् ।

सरकारी कार्यालयले जथाभावी खर्च गरे पनि बेरुजु नबढ्ने र बढेको बेरुजु हटाउन महालेखालाई बाध्य बनाउने व्यवस्था नयाँ ऐनले गरेको छ । ऐनको दफा ४० को उपदफा ४ मा ‘फस्र्योट भएको बेरुजुको लगत कट्टा गर्न सात दिनभित्र महालेखामा पठाउनुपर्ने र महालेखाले सोको लगत कट्टा गरी सात दिनभित्र सम्बन्धित लेखा उत्तरदायी अधिकृतलाई जानकारी दिनुपर्ने’ व्यवस्था गरिएको छ । सोही दफाको उपदफा ३ अनुसार बेरुजु नियमित गरी फस्र्योट गर्ने अधिकार लेखा उत्तरदायी अधिकृत अर्थात् नेपाल सरकारको सचिवलाई दिइएको छ ।

यसअघि कार्यालयले पठाएको बेरुजु फस्र्योट उपयुक्त भए–नभएको महालेखाले हेथ्र्यो र उपयुक्त नलागे अस्वीकार गर्न पनि सक्थ्यो । तर, जारी ऐनले त्यो अधिकार कटौती गरिदिएको छ । यसअघि प्रतिनिधिसभाबाट स्वीकृत सार्वजनिक लेखा समितिको प्रतिवेदनअनुसार बेरुजुको लगत कट्टा गर्ने गराउने काम सम्बन्धित कार्यालयमा रहेकामा नयाँ ऐनले महालेखालाई दिएको छ ।

त्यस्तै, यसअघि प्रतिनिधिसभाबाट स्वीकृत भएको सार्वजनिक लेखा समितिको सुझाब प्रतिवेदन कार्यान्वयन गर्ने गराउने अधिकार सम्बन्धित मन्त्रालयमा रहेकामा नयाँ ऐनले महालेखालाई नै दिएको छ । ‘बेरुजु हटाउन महालेखालाई बाध्य पार्ने गरी ऐनमा व्यवस्था गरिएको छ,’ महालेखाका एक अधिकारीले भने ।

संसदीय समितिको प्रस्तावमा आयोगको आपत्तिलोकसेवा आयोगका कार्यालय घटाउनुपर्ने संसदीय समितिको प्रस्तावप्रति आयोगले आपत्ति जनाएको छ । सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आयोगका अध्यक्ष उमेश मैनालीले कार्यालय घटाउने हो भने काम गर्न नसकिने बताएका हुन् । अहिले देशैभर आयोगका १४ वटा कार्यालय छन् । यी सबै कार्यालय यथावत् राख्नुपर्ने अडान मैनालीले व्यक्त गरे ।

मुलुक संघीयतामा गएकाले लोकसेवाका कार्यालय घटाउनुपर्ने वा हटाउनुपर्ने समिति सदस्यहरूको प्रस्ताव छ । पम्फा भुसाल, यशोदा सुवेदीलगायतका सांसदले ७ प्रदेशमा सातवटा मात्रै कार्यालय राख्न सुझाब दिएका छन् । लोकसेवा आयोग विधेयकमा आयोग र सांसदको मत बाझिएको छ । समिति सदस्यको तर्क कार्यालय घटाउनुपर्नेछ भने आयोग यथावत् रहनुपर्ने पक्षमा छ । आयोगका शाखा कार्यालय यथावत् रहनुपर्ने विधेयकको प्रावधान सच्याएर अघि बढ्नुपर्ने समिति सदस्यको जोड छ ।

सांसद पम्फा भुसालले भनिन्, ‘आफ्नै कर्मचारीको लर्को हेर्न मन पराउने कर्मचारीतन्त्र छ । तर, देश संघीयतामा गइसक्यो । ‘ओभर स्टाफिङ’ अत्यासलाग्दो छ । करले जनताको ढाड सेकेर कर्मचारीको मात्रै ठूलो सञ्जाल बनाउनु ठीक होइन ।’ समितिको सोमबारको बैठकले विधेयकमा भएको कार्यालयसम्बन्धी प्रावधानमा सहमति जुटाउन सकेन । यस विषयमाथि पुनः छलफल गर्ने सहमति भएको छ ।

संविधानलाई नै काट्ने गरी ऐनसंविधानले नै संवैधानिक आयोगलाई केही आर्थिक अधिकार दिएको छ । संविधानको धारा ११८ मा संवैधानिक निकायको प्रशासनिक खर्चलाई संघीय संसद्को स्वीकृति आवश्यक नपर्ने व्यवस्था गरेको छ । सो धारामा संवैधानिक निकायका प्रमुख र पदाधिकारीलाई दिइने पारिश्रमिक तथा सुविधाको रकम, राष्ट्रपति वा उपराष्ट्रपतिको कार्यालय, सर्वोच्च अदालत, न्यायपरिषद्, संवैधानिक निकाय र प्रदेश प्रमुखको कार्यालयको प्रशासनिक खर्चलगायतको खर्च संघीय सञ्चित कोषमाथि व्ययभार हुने र त्यस्तो व्ययका लागि संघीय संसद्को स्वीकृति नहुने व्यवस्था छ । तर, सरकारले ल्याएका र ल्याउन लागेका ऐनमा संविधान प्रतिकूल हुने गरी व्यवस्था गरिएको छ ।

मानवअधिकार आयोगमा महान्यायाधिवक्ता हाबी हुनेराष्ट्रिय मानवअधिकार आयोगले करिब दुई वर्षअघि आयोग ऐन, २०६८ संशोधनका लागि विधेयकको मस्यौदा तयार गरेको थियो । यसअघि अन्तरिम संविधानअन्तर्गत जारी ऐनलाई नयाँ संविधानअनुकूल बनाउने गरी आयोगले मस्यौदा तयार गरेको थियो । तर, अहिले सरकारले आयोगका अधिकार नै कटौती गर्ने गरी विधेयकमा व्यवस्था गरेको छ । सो विधेयक प्रतिनिधिसभामा पेस भएको छ ।

यसअघि आयोगले आफूले गरेका कामको जानकारी सीधै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गथ्र्यो । यसको अर्थ आयोगको सम्पर्क कार्यालय प्रधानमन्त्री कार्यालय थियो । ऐनको दफा ३१ मा आयोगले नेपाल सरकारसँग सम्पर्क गर्ने र नेपाल सरकारसँग सम्पर्क राख्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत राख्नुपर्ने व्यवस्था छ । प्रस्तावित विधेयकमा आयोगले आफ्ना सिफारिस महान्यायाधिवक्ता कार्यालयमा पठाउनुपर्ने व्यवस्था गरिएको छ ।

लोकसेवाका कर्मचारी र आर्थिक अधिकार कटौती सरकारले लोकसेवा आयोगमाथि पनि अंकुश लगाउने प्रयास गरेको छ । लोकसेवा आयोग ऐन, २०६६ संशोधन गर्न बनेको विधेयकमा आयोगलाई कस्ने गरी व्यवस्था प्रस्ताव गरिएको हो । ऐनको दफा ६ को उपदफा २ मा आयोगमा कार्यरत कर्मचारीलाई नेपाल सरकारले अन्य कार्यालयमा सरुवा गर्दा आयोगको सहमति लिनुपर्ने व्यवस्था छ । तर, प्रस्ताविक विधेयकबाट यस्तो व्यवस्था नै हटाइएको छ । ‘यसले आयोगलाई कमजोर बनाउने मनसाय बोकेको छ,’ आयोग स्रोतले भन्यो ।

आर्थिक अधिकार पनि प्रस्तावित विधेयकमार्फत खोसिएको छ । दफा ८ मा सरकारले आयोगका लागि बजेटमा छुट्याएको विविध शीर्षकअन्तर्गतको रकम खर्च गर्नुपर्दा अर्थ मन्त्रालयको स्वीकृति लिनुपर्नेछैन र त्यस्तो रकम प्रचलित कानुनबमोजिम खर्च गर्न सक्ने व्यवस्था छ । तर, प्रस्तावित विधेयकमा यो व्यवस्था संशोधन गरेर अर्थ मन्त्रालयको सहमति लिनुपर्ने व्यवस्था गरिएको छ । नयाँ पत्रिका दैनिकबाट