५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा
अ+ अ-

धरान (सुनसरी), २५ फागुन : धरानका सडक, खोला र खानेपानीका मुहानमा श्रमदान अभियान चलाउँदै आफै श्रममा उत्रिने नेताका रूपमा परिचित हर्कराज साम्पाङ राईको राजनीतिक यात्रा अब स्थानीय नेतृत्वदेखि राष्ट्रिय राजनीतितर्फ प्रवेश गरेको छ ।

धरान उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भएदेखि नेपाली राजनीतिक वृत्तमा कुनै न कुनै रुपमा चर्चाको पात्र बनिरहनु भएका राई हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नं १ बाट ३५ हजार ७४१ मत प्राप्त गर्दै विजयी बन्नुभएको हो ।

विसं २०७९ को स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारका रूपमा ‘लौरो’ चुनाव चिन्ह लिएर उहाँ निर्वाचित हुनुभएको थियो । सामान्य जीवनशैली, स्पष्ट वक्ता र विकासका लागि श्रमदान अभियानका कारण राई छोटो समयमै चर्चामा आउनुभयो ।

नगर प्रमुख बनेपछि उहाँले परम्परागत राजनीतिक शैली भन्दा फरक अभ्यास गर्नुभयो । महँगा औपचारिकता भन्दा श्रमदान अभियानलाई प्राथमिकता दिनुभयो । उहाँ आफैं ढुङ्गा बोक्ने, नाली सफा गर्ने तथा पानीका मुहानसम्म पुगेर काम गर्नुभयो । धरानको दीर्घकालीन खानेपानी समस्या समाधानका लागि कोकाहा खोलाबाट पानी ल्याउने अभियानमा उहाँले महिनौँसम्म जनतासँगै श्रमदान गर्नुभयो ।

सामाजिक सञ्जालमार्फत प्रत्यक्ष संवाद, नागरिक सहभागितामा आधारित विकास र भ्रष्टाचारविरुद्ध खुलेर आवाज उठाउने शैलीले उहाँलाई समर्थकहरूबीच ‘अभियानबाट उठेको नेता’का रूपमा चिनायो । उहाँको कार्यशैलीलाई लिएर आलोचना गर्नेहरू पनि उत्तिकै सक्रिय रहे । समर्थक र आलोचकबीचको बहसले उहाँलाई निरन्तर सार्वजनिक चर्चाको केन्द्रमा राख्ने गरेको छ ।

राईको सामाजिक र राजनीतिक सक्रियता भने मेयर बन्नुअघि नै सुरु भइसकेको थियो । २०६८ सालतिर धरानमा कर वृद्धि तथा विभिन्न बेथितिविरुद्ध भएका आन्दोलनमा उहाँ सक्रिय हुनुहुन्थ्यो । पछि जनसरोकार मञ्चमा आबद्ध हुँदै उहाँले आन्दोलनको नेतृत्व गर्नुभयो । धरानको पुरानो खानेपानी समस्यालाई लिएर “पानी दे, पानी दे” भन्ने नारासहितको अभियान चलाउँदा उहाँ स्थानीयस्तरमा चर्चामा आउनु भएको थियो । खानेपानी मुहान अनुगमनका क्रममा पाइप तोडफोडको आरोपमा उहाँ एकपटक पक्राउसमेत पर्नुभयो । केही दिन पछि उहाँ रिहा हुनुभएको थियो ।

हर्क साम्पाङले अवैध ढुङ्गा गिट्टी उत्खनन रोक्न खोलासम्म पुगेर विरोध गर्नुभयो । मदन भण्डारी राजमार्ग विस्तारका क्रममा घर भत्काउने विषयमा संघर्ष समितिमा सह संयोजक भएर आन्दोलन गर्नुभयो । त्यसैगरी सीमा अतिक्रमणदेखि स्वास्थ्य सेवा सुधारसम्मका विषयमा आवाज उठाइरहनुभयो । त्यही गतिविधिले उहाँलाई स्थानीय स्तरमा सक्रिय अभियन्ताका रूपमा स्थापित गरायो । गीत संगीतमा समेत रुचि राख्नुहुने राईले केही बर्ष अगाडि ‘मिसिङ हार्ट’ नामक एल्बमसमेत सार्वजनिक गर्नु भएको थियो । हिजोआज पनि कहिलेकाहीँ गितार बजाउँदै गीतमार्फत राजनीतिक व्यङ्ग्य गर्ने शैलीले पनि उहाँलाई फरक पहिचान दिलाएको छ । सामाजिक सञ्जालमा उहाँ “हर्क साम्पाङ रिभोलुसन” नामबाट चर्चित हुनुहुन्छ ।

नगर प्रमुखकै जिम्मेवारीमा रहँदा उहाँले गत माघ ४ गते पदबाट राजीनामा दिएर श्रम संस्कृति पार्टी गठन गर्नुभयो र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्नुभयो । उहाँले अब सांसदका रुपमा आफूले अघि सारेको श्रम र नागरिक सहभागिताको ढाँचालाई राष्ट्रिय स्तरमा विस्तार गर्ने दाबी गर्दै आउनुभएको छ ।

धरानको सडक र खानेपानीको मुहानबाट सुरु भएको राईको यात्रा अब संसद् भवनसम्म पुगेको छ । स्थानीय आन्दोलनबाट उठेको राईको राजनीतिक यात्राले राष्ट्रिय राजनीतिमा कस्तो प्रभाव पार्ला भन्ने जिज्ञासा भने सबैको मनमा देखिन्छ ।

संगीता राई/रासस