१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध

पेलेरै अघि बढे देउवा

पेलेरै अघि बढे देउवा
अ अ+ अ-

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीमा असन्तुष्ट पक्षलाई पेलेरै अघि बढेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल र सभापति देउवा पक्षबीच लगातार वार्ता भएर सहमति नजिक पुग्दै लाग्दा देउवा एक्लैले पार्टीमा महत्वपूर्ण निर्णय लिएका हुन्।

केन्द्रीय कार्यसमितिको शुक्रबार बसेको बैठकले केन्द्रीय कार्यसमितिको कार्यकाल एक वर्ष थप्ने, विभाग संख्या ४७ पुर्याउने, चौधौं महाधिवेशन २०७७ फागुनमा गर्ने, तरुण दलको म्याद ६ महिना थप्ने लगायत विभिन्न नौ वटा निर्णय गरेको छ। बैठक वरिष्ठ नेता पौडल, महामन्त्री शशांक कोइराला र अर्का नेता कृष्णप्रसाद सिटौला पक्षले बहिष्कार गरेका थिए।

केन्द्रीय कार्यसमितिको म्याद २०७७ फागुन १९ सम्मका लागि थपिएको छ।

देउवाको यस्तो कदमले कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्किने भएको छ। वरिष्ठ नेता पौडेलले जे भइरहेको छ त्यो ठिक नभएको बताए। उनले आगामी दिनमा कसरी अघि बढ्नेबारे शनिबार बैठक गरेर रणनीति तय गर्ने जानकारी दिए। पौडेलले सहमति नजिक पुग्नै लाग्दा सभापतिले लिएको निर्णयले दलमा थप समस्या निम्त्याउने बताए। ‘हामी छलफल गरेर निर्णयमा पुग्छौं। यो राम्रो कदम होइन,’ उनले भने, ‘छलफल निकै सकारात्मक रूपमा भइरहेको थियो। सभापति एक्कासि यस्तो निर्णयमा किन पुग्नुभयो ? यसमा हामी बैठक बसेर निर्णय लिनेछौं।’

असन्तुष्ट समूहसँग सहमतिका लागि दुई सातादेखि जारी छलफल सार्थक नभएपछि शुक्रबार केन्द्रीय समिति बैठक बसेको थियो। ‘यो दुर्भाग्यपूर्ण अवस्था हो, पार्टीभित्र अझै सहमति कायम गरेर निर्णय गर्नुपर्नेमा सभापतिले बहुमतबाट अगाडि बढ्ने प्रयास गर्नुभयो, यसले राम्रो सन्देश दिँदैन,’ कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भने, ‘उहाँले पेलेरै अगाडि जान खोजेको संकेत गर्छ। पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउनुपर्ने दायित्व सभापतिको हो। तर उहाँ चुक्नुभएको छ।’ उनले महाधिवेशन कार्यतालिका सार्वजनिक गरिए पनि यसका प्राविधिक विषयलाई बेवास्ता गरिएको दाबी गरे। ‘पुरानो क्रियाशील सदस्यताको कुनै जानकारी छैन। क्रियाशील सदस्यताको नयाँ वितरण र छानबिन निष्पक्ष ढंगले होस् भन्ने हो,’ उनले भने, ‘महाधिवेशनकै मितिमा पनि सल्लाह गर्न सकिन्थ्यो।’

पार्टी मुख्यालय सानेपामा दिउँसो एक बजे बोलाइएको केन्द्रीय समिति बैठक साँझ पाँच बजेपछि मात्र सुरु भएको थियो। पौडेल समूहले सहमतिमा जोड दिँदै केही दिन बैठक स्थगन गर्न सभापति देउवालाई आग्रह गरेको थियो। शुक्रबार बिहान पौडेल समूहद्वारा गठित कार्यदल सदस्यले सभापति देउवालाई भेटेर केन्द्रीय समिति बैठक स्थगन गर्न आग्रह गरेका थिए। ‘हामी सहमतिबाटै निकास निकाल्नुपर्छ भन्नेमा थियौं, छलफल सकारात्मक थिए,’ पौडेल समूहद्वारा गठित वार्ता समिति सदस्य हृदयराम थानीले भने, ‘तर सभापतिले बैठक नरोक्ने भन्नुभयो। हामीले प्याकेजमा सहमति नभएसम्म बैठकमा सहभागी हुन नसक्ने जानकारी गरायौं।’

सानेपामा केन्द्रीय समिति बैठक सुरु हुनुअघि नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा असन्तुष्ट समूहको बैठक बसेको थियो। सभापति देउवाले केन्द्रीय समिति बैठक स्थगन नगर्ने जानकारी पाएपछि पौडेल समूहले आफ्ना मागको सम्बोधन नभएसम्म बैठकमा सहभागी नहुने निर्णय गरेको थियो। महाधिवेशन कार्यतालिका सार्वजनिक, विभाग संख्या बढाउने, तरुण दलको समयावधि थप र नेपाल विद्यार्थी संघ गठनका विषयमा प्याकेजमै सहमति हुनुपर्ने माग पौडेल समूहको थियो। सभापति देउवाले पौडेल समूहको मागको बेवास्ता गर्दै बहुमतबाट नेविसंघबाहेक सबै विषयमा निर्णय गरेका छन्। विभाग संख्या २८ बाट बढाएर ४१ बनाउने प्रस्ताव केन्द्रीय समितिमा पेस भएकोमा बैठकले ४७ पुर्याएइको छ।

बैठकमा सभापति देउवाले नेविसंघ अध्यक्ष र केही महामन्त्रीको नाम पेस गर्ने बताइए पनि अन्तिम समयमा रोकिएको थियो। सभापति देउवाले एक साताभित्रै थप छलफलपछि नेविसंघ गठन गर्ने बताएका छन्। ‘विधानको कुरा गर्दै गर्दा विधि र विवेक गुमाउनुहुन्न, अनि बैठक बहिष्कार गर्ने विषय पनि राम्रो होइन,’ सानेपा पुगेर बैठक सुरु हुनुअघि नै बाहिरिएका केन्द्रीय सदस्य महेश आचार्यले सञ्चारकर्मीसँग भने, ‘पार्टी कार्यालयमै सबै विषयमा छलफल गरिनुपर्छ। बाहिर निकास खोज्दा दुर्घटनामा पुगेको विगत हामीसँग छ।’

संस्थापन पक्षले बहुमतबाट गरेको निर्णयबारे पौडेल समूहले शनिबार धारणा सार्वजनिक गर्ने भएको छ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले वरिष्ठ नेता पौडेलको माग अनुसार पार्टीको महाधिवेशन कार्यतालिका सार्वजनिक गरिएको दाबी गरे। ‘उहाँहरूको मागअनुसार पार्टीले महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको हो,’ उनले भने, उहाँहरू बैठकमा अनुपस्थित भए पनि मुद्दा सम्बोधन भएको छ। अब पार्टीभित्रको विवाद सकियो।’

अर्को वर्ष फागुन ७ देखि १० भित्र १४ औं महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ। पार्टीको अन्तरिम संरचना समायोजन पुस मसान्तभित्र सम्पन्न गरिनेछ। प्र्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण २०७६ माघ देखि २०७७ वैशाख मसान्तसम्म सम्पन्न गर्ने, २०७७ जेठ १ गतेदेखि असार १५ गतेभित्र क्रियाशील सदस्यताको सूची प्रकाशन र केन्द्रमा पठाइसक्नुपर्नेछ। क्रियाशील सदस्यताको अन्तिम सूची २०७७ असोज मसान्तभित्र तयार गरिसक्नुपर्ने कार्यतालिकामा उल्लेख छ। कांग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरण गर्न तथा पार्टीका विभिन्न तहका सांगठनिक संरचनाको अधिवेशन र केन्द्रीय महाधिवेशन सम्पन्न गर्न विधानका केही धारा निलम्बन गरेको छ। यसलाई पार्टीको आगामी महासमिति वा महाधिवेशनबाट अनुमोदन गराउनुपर्नेछ। वर्तमान केन्द्रीय पदाधिकारी तथा केन्द्रीय समितिको कार्यकाल आगामी वर्ष फागुन १९ गते सकिनेछ।

अधिवेशन तालिका

वडा : २०७७ मंसिर ९

गाउँ/नगर : २०७७ मंसिर ११

प्रदेशसभा : २०७७ मंसिर १५

प्रतिनिधिसभा : २०७७ मंसिर १७

जिल्ला : २०७७ मंसिर २५

प्रदेश : २०७७ पुस १५

महाधिवेशन : २०७७ फागुन ७, ८, ९ र १०
अन्नपुर्ण पोष्टबाट