५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

युएईका राष्ट्रपतिसंग प्रधानमन्त्री कार्कीको टेलिफोन सम्वाद

युएईका राष्ट्रपतिसंग प्रधानमन्त्री कार्कीको टेलिफोन सम्वाद
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज अपरान्ह संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति हिज हाइनेस शेख मोहमद बिन जायद अल नाह्यानसँग टेलिफोन संवाद गर्नुभएको छ ।

प्रधानमन्त्री कार्कीले पवित्र रमजानको अवसरमा शान्ति, न्याय र सद्भावको लागि हार्दिक शुभकामना व्यक्त गर्नुभयो ।

संवादका क्रममा प्रधानमन्त्री कार्कीले युएईको सार्वभौम क्षेत्रमा नागरिक पूर्वाधारलाई समेत लक्षित गरी गरिएका आक्रमणहरूको निन्दा गर्दै यस विषम परिस्थितिमा संयुक्त अरब इमिरेट्सलाई नेपालका तर्फबाट ऐक्यबद्धता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री कार्कीले यस परिस्थितिमा सम्बन्धित सबै पक्षहरूलाई अधिकतम संयम अपनाउन, तनावलाई थप नबढाउन र नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह पनि गर्नुभएको छ ।

युद्ध कहिल्यै शान्तिको विकल्प हुन नसक्ने उल्लेख गर्दै उहाँले कूटनीति र संवादको माध्यमबाट मात्र दिगो शान्ति सम्भव हुने बताउनुभयो । नेपालले परिस्थिति सकेसम्म चाँडो सामान्य अवस्थामा फर्कने अपेक्षा पनि व्यक्त गर्नुभयो ।

उहाँले सार्वजनिक सुरक्षा सुनिश्चित गरेकोमा र त्यहाँ काम गर्ने तथा बसोबास गर्ने नेपाली नागरिकहरू सहित सबै बासिन्दा, आगन्तुक र ट्रान्जिटमा रहेका मानिसहरूको समान रूपमा हेरचाह गरेकोमा युएई सरकारप्रति हार्दिक आभार व्यक्त गर्नुभयो । १ मार्च २०२६ मा जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटीको क्रममा एक नेपाली नागरिकले आफ्नो अमूल्य जीवन गुमाएको थाहा पाउँदा आफूलाई धेरै दु:ख लागेको बताउनुभयो । साथै ५ मार्च २०२६ मा अबुधाबीको आईसीएडी क्षेत्रमा २ जना नेपाली घाइते भएको जानकारी पाउँदा चिन्ता लागेको बताउनुभयो ।

उक्त अवसरमा प्रधानमन्त्री कार्कीले शान्ति र विकासलाई प्रवर्द्धन गर्न क्षेत्रीय तथा वैश्विक कूटनीतिक प्रयासहरुमा गरेको निरन्तर योगदानप्रति युएईका राष्ट्रपतिको कुशल नेतृत्वको उच्च प्रशंसा पनि गर्नुभयो।

आगामी वर्षहरूमा आर्थिक साझेदारी र जनता-जनताबीचको सम्बन्धलाई थप बलियो बनाउँदै हाम्रो द्विपक्षीय सम्बन्ध थप विस्तारित र सुदृढ हुँदै जाने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।

उहाँले महामहिम राष्ट्रपति, युएई सरकार र युएई जनतालाई यस क्षेत्रमा दिगो शान्ति सुनिश्चित गर्न सफलता मिलोस् भनी नेपालको तर्फबाट शुभकामना व्यक्त गर्नुभयो ।

टेलिफोन संवादका क्रममा उहाँले यो अवस्था लामो समयसम्म रहने छैन र यसले अन्तत: नयाँ कूटनीतिको लागि ठाउँ उपलब्ध गराउनेछ भन्ने विश्वास व्यक्त गर्दै नेपाल वर्तमान तनावको प्रत्यक्ष पक्ष नभए पनि यसको परिणाम भोगिरहेको बताउनुभयो ।

उहाँले तत्कालको लागि नेपाली नागरिकहरूको सुरक्षा चिन्ता र दीर्घकालीन रुपमा बढ्दो इन्धन मूल्य, लगानी प्रवाहमा संकुचन र बढ्दो मुद्रास्फीति सहित व्यापक आर्थिक दबाबहरूको सामना गरिरहनुपरेको बताउनुभयो । ट्रान्जिटमा रहेका यात्रुहरू बिस्तारै नेपाल वा तेस्रो देशहरूमा आ-आफ्ना गन्तव्यहरूमा सुरक्षित रूपमा प्रस्थान गर्न सक्ने कुरामा पनि उहाँले विश्वास व्यक्त गर्नुभयो ।

युएईका राष्ट्रपतिले यस विषम परिस्थितिमा नेपालले एक असल मित्रराष्ट्रको रुपमा प्रस्तुत गरेको ऐक्यबद्धता र सहानुभूतिप्रति युएईको तर्फबाट प्रधानमन्त्री कार्कीलाई धन्यवाद व्यक्त गर्नुभयो।

उहाँले एक जना नेपालीले ड्युटीमा रहेका बखत २०२६ मार्च १ मा जायद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको घटनामा परी ज्यान गुमाउनुपरेकोमा गहिरो दु:ख व्यक्त गर्दै समवेदना प्रकट गर्नुभयो ।

उहाँले नेपाल र युएईबीच कायम रही आएको सुमधुर र मित्रवत् सम्बन्धप्रति सन्तुष्टि व्यक्त गर्दै नेपालीहरुको मेहनती बानी र असल आचरणको प्रशंसा गर्नुभयो ।

यसका साथै संवादका क्रममा युएईका राष्ट्रपतिले दुवै मुलुकका राजदूतहरुले नेपाली नागरिकको सुरक्षा तथा हित संरक्षणका लागि सक्दो प्रयास गरिरहेको बताउनुभयो । साथै नेपालीहरुको सुरक्षाको प्रत्याभूतिका लागि सबै किसिमको पहल गर्न आफू तत्पर रहेको कुरा पनि व्यक्त गर्नुभयो ।

यसबीचमा केही नेपाली नेपाल फर्कन चाहेको आफूले जानकारी पाएको उल्लेख गर्दै उहाँले परिस्थिति सहज भएपछि सहजीकरणका लागि सबै किसिमको सहयोग उपलब्ध गराइनेसमेत उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री सुशीला कार्की र युएईका राष्ट्रपति शेख मोहमद बिन जायद अल नाह्यानबीचको कुराकानी सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।