• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच भेटवार्ता ★   नेपालमै पहिलोपटक रोबोटबाट सर्जरी, एकैदिन ३ बिरामीको सर्जरी ★   पाँच वर्षपछि किसानले पाए अण्डाको लागत मूल्य ★   भरतपुरको होटलमा चिनियाँ नागरिक मृत फेला ★   सर्वनाममा नाटक ‘पूर्णविराम’ मञ्चन हुँदै ★   भूकम्पमा भत्केका सम्पदा पुन:निर्माण गर्दै ललितपुर महानगर ★   वन्यजन्तुको आहारका लागि सामुदायिक वनमा दश हजार बिरुवा रोपिए ★   हाँडेभिर–बगरफाँट–भकिम्ली कृषि सडकको स्तरोन्नति ★   फणीन्द्र देवकोटा पुन: ऊर्जा मन्त्रीमा नियुक्त ★   कमीकमजोरी सुधार्दै संसद्लाई देश र जनतामा केद्रित गर्नुपर्नेमा सभामुखको जोड

ट्रस्टको घोटला छानबिनमा



काठमाडौं । नेपाल ट्रस्टका जमिन र सार्वजनिक सम्पत्ति लिजमा दिँदा सुरुआतबाटै घोटला हुने गरेको तथ्य खुलेको छ । नियम मिचेर पनि लिजमा दिइएको पाएपछि सरकारले यसविषयमा छानबिन प्रक्रिया अगाडि बढाउने भएको हो । २०६४ मंसिर ६ गते स्थापना भएको ट्रस्टको जग्गा जमिन भाडामा दिँदा विगतका सरकारले पनि अनियमितता गरेको खुलेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ट्रस्टमातहत रहेका जमिन र सार्वजनिक सम्पत्ति लिजमा दिँदा भएको भनिएको घोटालाबारे सरकारले छानबिन गर्ने बताएका हुन् ।

सत्तारूढ नेकपानिकट प्रेस संगठन नेपालका पदाधिकारीहरूको राष्ट्रिय भेला र शपथग्रहण समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले यसअघिका सरकारले गरेको बदमासीलाई पनि वर्तमान सरकारसँग जोडेर प्रचार भइरहेकोमा भने असन्तुष्टि जनाए । ‘कुन जमानामा सगरमाथा आरक्षको जग्गा लिजमा दिएको हो, कालीमाटीलाई लिजमा दिइयो, चुनाव हारिसकेपछि अल्पमतमा परेको सरकारका वेला बदमासी भएको छ,’ प्रधानमन्त्रीले थपे, ‘उहिलेको मितिमा दिएको कुरामा अहिलेको सरकारलाई जोडियो, तर, अहिलेको सरकार कमिसनखोर होइन, जग्गा लिजमा दिइएको बारे छानबिन हुन्छ ।’

कार्यक्रममा प्रधानमन्त्री ओलीले गोकर्ण रिसोर्टको विषयमा भने सरकारको बचाउ गरे । उनले कानुनअनुसार नै संरचना निर्माणका लागि अवधि बाँकी रहँदै थपेको बताए । पहिले हचुवाका भरमा गोकर्ण रिसोर्टको जग्गा लिजमा लगाइएको ओलीले दाबी गरे । ‘अहिले स्वतन्त्र विज्ञको सुझावका आधारमा सो जग्गा लिजमा दिइएको हो, पहिले नै नदिए उसले चलाउन सक्दैन,’ प्रधानमन्त्रीले भने,‘अवधि बाँकी रहँदै बन्द नहोस् भनेर लिजमा दिइएको हो, त्यसैले समय हुँदै लिज दिइएको हो ।’

समय बाँकी छँदै किन लिज दिइयो भन्ने प्रश्न उठ्ने गरेकोमा उनले केही संरचना बनाउन पनि समय लाग्ने भएकाले पहिले नै समय दिनु राम्रो भएको बताए । ‘अवधि बाँकी रहँदै कि त्यसलाई सरकारले नचलाउने भन्नुपर्यो । कि अरू केही गर्नुपर्यो,’ उनले भने, ‘जब कसैले लिजमा लिएको छ । उसले प्रगती गर्छु भन्छ । आकर्षक ढंगले सरकारलाई कर तिर्छु भन्छ भने उसले नपाउने भन्ने होइन ।’ पहिले नै लिजको समय थप भएन भने लिज लिनेले संरचना निर्माण गर्न नसक्ने उनको भनाइ थियो । ‘पहिले भएन भने उसले निर्माण गर्न सक्दैन ।

बैंकबाट ऋण लिनुपर्ने । निर्माण गर्नुपर्यो र सञ्चालन गर्नुपर्यो,’ उनले भने, ‘२० वर्षका लागि लियो । १० वर्ष निर्माण गर्नै लाग्छ । त्यसैले समय हुँदा नै लिज अवधि थप्यो भने अनुचित होइन ।’ रिसोर्टको दुई हजार सात सय ९३ रोपनी जग्गा सरकारले थप २५ वर्षलाई यति समूहलाई सञ्चालन गर्न दिएको हो । कम भाडामा ट्रस्टको जग्गा दिएको भन्दै विरोध भइराखेकेको छ । कार्यक्रममा प्रधानमन्त्री ओलीले पार्टीभित्र केहीले पोखेको असन्तुष्टिको पनि जवाफ दिएका छन् । ‘विरोधीका विरोध गर्ने सटर सरकारका कामले बन्द भएका छन् ।

तर हाम्रै साथीहरू विरोधमा उत्रिएका छन् । प्रदेश–२ बाट नेकपाको राष्ट्रियसभामा प्रतिनिधित्व थिएन । राजपासँग सहकार्य गरेर हामीले २ सिट जोगाएका छौँ र २ उनीहरूलाई दिएका छौँ’, ओलीले भने, ‘यसमा पनि ‘बालुवाटारमा धुँवाको मुस्लो आयो’ भनेर विरोध भइरहेको छ । नयाँ नयाँ कविजीहरू आइरहेका छन् ।’ओलीले त्यो विरोध तथ्य र तथ्यांकका आधारमा नभएको पनि आरोप लगाएका थिए । उनले तथ्य भन्दा खाली कुण्ठामात्र पोख्नेलाई पार्टीले समान व्यहार गर्नुपर्नेमा जोड दिए ।

प्रदेश–२ मा २०७४ मा भएको राष्ट्रियसभा निर्वाचनमा नेकपाले एक स्थानमा पनि नजितेको, अहिले राजपासँग सहमति भएपछि दुई सिट जित्ने पक्का भएको बताए । ‘राम्रो काम गर्दा विरोधीले त विरोध गर्थे नै, आफ्नैले पनि विरोध गरे,’ प्रधानमन्त्री ओलीले भने, ‘कसैलाई कोही मान्छे मन पर्दैन होला । आनीबानी, व्यवहारका कमजोरी देखे भन्नुस् । सही नीतिले देश सञ्चालन गरेका छौँ । फेरि विरोध किन ?’ सौर्य दैनिकबाट