काठमाडौँ । सभामुखमा कसलाई सिफारिश गर्ने भन्ने विषयमा प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष प्रचण्डबीच आज पनि सहमति हुन नसकेको समाचार स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका प्रचण्ड र ओलीबीच करिब तीन घन्टा कुराकानी भएको थियो । तर सो विषयमा सहमति भने हुन नसकेको स्रोतको दाबी छ ।
आज बिहान सभामुखको उम्मेदवार टुंगो लगाउनेबारे उहाँहरुबीच बालुवाटारमा छलफल भएको थियो, तर पनि उक्त छलफलमा कुनै निष्कर्ष ननिस्किएपछि दुबै अध्यक्षले यसबारे थप छलफल गर्ने बताएका छन् समाचार स्रोतले भन्यो । समाचार स्रोतका अनुसार सभामुखमा पूर्वएमाले र पूर्वमाओवादी दुबै पक्षले दाबी गर्दै आएका छन् ।
प्रधानमन्त्री ओलीले पूर्वसभामुख सुवास नेम्वाङलाई अगाडि सारेका छन् भने पूर्वमाओवादी पक्षधरले भने स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई बनाउनुपर्छ भनिरहेका छन् । जसका कारण सहमति हुन नसकेको हो ।
आजको बैठकमा कुनै टुंगो नलागेपछि भोलिका लागि डाकिएको प्रतिनिधि सभाको बैठक पनि सूचना टाँसेर कम्तीमा ११ दिनका लागि स्थगित हुने भएको छ ।
सभामुखको विषयमा पार्टीले निर्णय गर्न नसक्दा यो बैठक भोलि लगातार दोस्रो पटक पनि सूचना टाँसेर स्थगित हुन लागेको संसद सचिवालयको स्रोतले बताएको छ । संसद सचिवालयको उक्त स्रोतका अनुसार अर्को बैठक पुस २७ गते बस्नेगरी कार्यक्रम तय गरिएको छ ।