२३ जेष्ठ २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट इन्डिजलाई हराउँदै भारत टी-२० विश्वकपको सेमिफाइनलमा



अ+ अ-

काठमाडौं। आईसीसी टी २० विश्वकप २०२६ मा वेस्ट इन्डिजलाई ५ विकेटले हराउँदै भारत सेमिफाइनल प्रवेश गरेको छ।

आइतबार राति भएको सुपर ८ को अन्तिम खेलमा भारतले वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।

भारतको लागि ओपनर ब्याटर सन्जु सामसनले ९७ रनको अविजित पारी खेले। उनले ५० बलमा १२ चौका र चार छक्का प्रहार गरे। एक तर्फबाट विकेट गइरहँदा सन्जुले उत्कृष्ट पारी खेल्दै भारतको जित सुनिश्चित गरे।

भारतको लागि ओपनर अभिषेक शर्मा र वान डाउन आएका इशान किसनले समान १० /१० रन बनाए। कप्तान सूर्यकुमार यादवले १८ र तिलक बर्माले २७ रन बनाउँदा हार्दिक पाण्ड्या १७ रनमा पेवेलियन फर्किएका थिए। शिवम दुबे भने ८ रनमा अविजित रहे।

वेस्ट इन्डिजका लागि बलिङतर्फ जेसन हल्डर र समर जोसेफले २-२ विकेट लिए। अकेल होसेनले १ विकेट लिए।

पहिलो इनिङ्समा ब्याटिङ गरेको वेस्ट इन्डिजको लागि रोस्टन चेजले सर्वाधिक ४० रन बनाए। कप्तान‌ सेइ होपले ३२ रन बनाए। पहिलो विकेटका लागि सेई र रोस्टनले ६८ रनको साझेदारी बनाएका थिए। सिम्रन हेटमायर २७ रन बनाएर पेबिलियन फर्के। उनले दोस्रो विकेटका लागि रोस्टन चेजसँग ३४ रनको सानो साझेदारी बनाए। शेर्फान रुथर्फोड १४ रन बनाएर विकेटकिपर सन्जु सामसनको हातमा क्याच भए।‌ पाँचौं विकेटका लागि रोभ्मन पावेल र जेसन होल्डरले ७६ रनको अविजित साझेदारी गरे। रोभ्मन पावेल ३४ र जेसन होल्डर ३७ रनमा अविजित रहे।

भारतका लागि बलिङतर्फ जसप्रीत बुमराहले २ विकेट लिए। हार्दिक पाण्ड्या र वरुण चक्रवर्तीले १-१ विकेट लिए।

भारत र वेस्ट इन्डिज बीचको यो खेल भर्चुअल क्वार्टरफाइनल थियो। भारतबाहेक, इङ्गल्याण्ड, न्यूजील्याण्ड र दक्षिण अफ्रिका सेमिफाइनलको लागि छनोट भइसकेका छन् । मार्च ४ मा पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले न्यूजील्याण्डको सामना गर्नेछ भने भारतले मार्च ५ मा मुम्बईको वानखेडे स्टेडियममा दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डको सामना गर्नेछ।