२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेमिफाइनलको दौडबाट बाहिरियो श्रीलंका, न्युजिल्यान्ड ६१ रनले विजयी



अ+ अ-

काठमाडौँ। श्रीलंका आईसीसी टी–२० विश्वकपबाट बाहिरिएको छ। हिजो भएको सुपर एटको खेलमा न्युजिल्यान्डसँग हार बेहोरेको श्रीलंका एक खेल अगावै बाहिरिएको हो।

कोलोम्बोमा भएको खेलमा न्युजिल्यान्डले श्रीलंकालाई ६१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको १६९ रनको लक्ष्य पछ्याएको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर १०७ रन मात्र बनाउन सक्यो ।

श्रीलंकाका लागि कामिन्दु मेन्डिसले सर्वाधिक ३१ रन बनाए । दुनिथ वेलालगेले २९, कुसल मेन्डिसले ११ तथा पवन रत्नायकेले १० रन बनाए ।

न्युजिल्यान्डका रचिन रविन्द्रले ४ ओभरमा २७ रन दिएर ४ विकेट लिए । म्याट हेनरीले २ ओभरमा १ मेडनसहित ३ रन मात्र दिएर २ विकेट लिए ।

 त्यस्तै, न्युजिल्यान्डका कप्तान मिचेल सान्टनर र कोल म्याककन्कीले ८४ रनको साझेदारी गरे । सान्टनरले २६ बलमा ४७ रन बनाए ।

रचिन रविन्द्रले ३२ तथा फिन एलेनले २८ रन बनाए । ग्लेन फिलिप्सले १८ रन जोडे ।

श्रीलंकाका लागि महीश थीक्ष्णा र दुष्मन्थ चमीरा ले ३–३ तथा दुनिथ वेलालगेले १ विकेट लिए । यसअघि श्रीलंका इङ्ग्ल्यान्डसँग पराजित भएको थियो । लगातार दुई हारपछि समूह २ मा रहेको श्रीलंका अङ्कविहीन छ ।

सन् २०१४ मा टी–२० विश्वकप जितेपछि श्रीलंका अहिलेसम्म सेमिफाइनल पुग्न सकेको छैन । पहिलो जीत निकालेको न्युजिल्यान्ड ३ अङ्कसहित समूह २ को दोस्रो स्थानमा छ । न्युजिल्यान्डको सेमिफाइनल पुग्ने सम्भावना कायम छ । दुवै खेल जितेर ४ अङ्क जोडेको इङ्ग्ल्यान्ड पहिलो स्थानमा छ र सेमिफाइनलमा पुगिसकेको छ ।