११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

डार्फर हिंसामा ‘नरसंहारका संकेत’

डार्फर हिंसामा ‘नरसंहारका संकेत’
अ अ+ अ-

जेनेभा। सुडानको डार्फर क्षेत्रमा विद्रोही समूहले गत अक्टोबरमा सञ्चालन गरेको आक्रमणमा ‘नरसंहारको पहिचान’ देखिएको संयुक्त राष्ट्रसङ्घ समर्थित स्वतन्त्र तथ्य-अन्वेषण मिसनले निष्कर्ष निकालेको छ ।

अल-फासेर सहर र वरपर गैर-अरब समुदायलाई लक्षित गरी गरिएको हिंसालाई प्रतिवेदनले योजनाबद्ध र सङ्गठित अभियानको रूपमा चित्रित गरेको छ ।

मिसनका अनुसार र्यापिड सपोर्ट फोर्स (आरएसएफ)ले १८ महिनाको घेराबन्दीपछि अल-फासेरमा सामूहिक हत्या, यौन हिंसा, यातना र जबरजस्ती बेपत्ता पार्ने जस्ता अत्याचार गरेको थियो । प्रतिवेदनले विशेष गरी जाघावा र फर समुदायलाई ‘भौतिक विनाशतर्फ धकेल्ने’ सर्त सिर्जना गरिएको उल्लेख गरेको छ ।

संयुक्त राष्ट्रसङ्घका अधिकारीका अनुसार सुडानी सेनाको अन्तिम गढका रूपमा बाँकी रहेको अल-फासेर आरएसएफको नियन्त्रणमा जाँदा हजारौँ नागरिक मारिएका थिए । सहरका करिब दुई लाख ६० हजार बासिन्दा मध्ये ४० प्रतिशत मात्र आक्रमणबाट जोगिएर भाग्न सफल भएको बताइएको छ । बाँकीको अवस्था अझै अज्ञात छ । सेना र अर्धसैनिक नेतृत्वबिचको तनाव राजधानी खार्तुमबाट डार्फरसम्म फैलिएपछि सुडान अप्रिल २०२३ देखि गृहद्वन्द्वमा फसेको छ ।

संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क अनुसार युद्धमा ४० हजारभन्दा बढीको मृत्यु भइसकेको छ, यद्यपि सहायता संस्थाले वास्तविक सङ्ख्या अझ धेरै हुन सक्ने बताएका छन् । प्रतिवेदनमा उल्लेख गरिए अनुसार आरएसएफ र सहयोगी अरब मिलिसियाले अक्टोबर २५ देखि २७ बीच सहरमा छ हजारभन्दा बढी व्यक्तिको हत्या गरेका थिए । सहर बाहिरको अबु सुक विस्थापित शिविरमा आक्रमण हुँदा दुई दिनमै कम्तीमा ३०० जनाको ज्यान गएको थियो ।

यौन हिंसा र जातीय लक्षित हत्याको व्यवस्थित ढाँचा देखिएको प्रतिवेदनले जनाएको छ । सन् १९४८ को ‘नरसंहार महासन्धि’ ले तोकेका पाँचमध्ये कम्तीमा तीन मापदण्ड पूरा भएको तथ्य–अन्वेषण टोलीले जनाएको छ । संरक्षित जातीय समूहका सदस्यको हत्या, गम्भीर शारीरिक तथा मानसिक क्षति र जीवन परिस्थितिलाई विनाशतर्फ धकेल्ने कार्य अन्तर्राष्ट्रिय कानून अनुसार नरसंहारका प्रमुख तत्व भएको प्रतिवेदनमा उल्लेख छ ।

टोलीका अध्यक्ष मोहम्मद चन्डे ओथम्यानले यो कारबाही ‘युद्धको अनियमित ज्यादती’ नभई योजनाबद्ध अभियान भएको बताउनु भएको छ । प्रतिवेदनमा उद्धृत बचेका व्यक्तिका भनाइ अनुसार आक्रमणकारीले जातीय आधारमा हत्या गर्ने धम्की दिएका थिए । सन् २०२३ मा राष्ट्रसङ्घीय मानवाधिकार आयोगद्वारा गठित उक्त मिसनले अपराधीलाई जवाफदेही बनाउन र नागरिक सुरक्षालाई प्राथमिकता दिन आह्वान गरेको छ ।

द्वन्द्वका क्रममा दुवै पक्षमाथि अन्तर्राष्ट्रिय कानून उल्लङ्घनको आरोप लागेको भए पनि अधिकांश अत्याचारका लागि आरएसएफलाई जिम्मेवार ठहराइएको छ । आरएसएफ जाञ्जाविद मिलिसियाबाट विकसित भएको समूह हो । यसले सन् २००० को दशकको सुरुआतमा डार्फरमा करिब तीन लाख मानिसको ज्यान जाने र २७ लाख विस्थापित हुने हिंसात्मक अभियानमा संलग्नता देखाएको थियो । संयुक्त राष्ट्रसङ्घका विज्ञका अनुसार युद्धका क्रममा यस समूहलाई संयुक्त अरब इमिरेट्सबाट समर्थन प्राप्त भएको आरोप पनि लागेको छ, जसलाई सम्बन्धित पक्षले अस्वीकार गरेको छ । (रासस/ एपी)