१७ श्रावण २०८३, आईतवार
,
Latest
गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने ‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो कराकोरम हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोहीप्रति एनआरएनए पोर्चुगलको श्रद्धाञ्जली स्रोत नखुलेको भारतीय रकमसहित दुई जना नियन्त्रणमा पत्रकार महासङ्घको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी पशुपतिनाथ महा–महोत्सव २०८३: दैनिक धार्मिक कार्यक्रमले बढायो आध्यात्मिक माहोल आन्तरिक पर्यटन व्यवस्थापन र उच्च उचाइको जोखिम न्यूनीकरणमा जोड : मन्त्री रिमाल नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार ब्रड पिक हिम पहिरो : दुई नेपालीसहित थप तीन जनाको शव भेटियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

डार्फर हिंसामा ‘नरसंहारका संकेत’



अ+ अ-

जेनेभा। सुडानको डार्फर क्षेत्रमा विद्रोही समूहले गत अक्टोबरमा सञ्चालन गरेको आक्रमणमा ‘नरसंहारको पहिचान’ देखिएको संयुक्त राष्ट्रसङ्घ समर्थित स्वतन्त्र तथ्य-अन्वेषण मिसनले निष्कर्ष निकालेको छ ।

अल-फासेर सहर र वरपर गैर-अरब समुदायलाई लक्षित गरी गरिएको हिंसालाई प्रतिवेदनले योजनाबद्ध र सङ्गठित अभियानको रूपमा चित्रित गरेको छ ।

मिसनका अनुसार र्यापिड सपोर्ट फोर्स (आरएसएफ)ले १८ महिनाको घेराबन्दीपछि अल-फासेरमा सामूहिक हत्या, यौन हिंसा, यातना र जबरजस्ती बेपत्ता पार्ने जस्ता अत्याचार गरेको थियो । प्रतिवेदनले विशेष गरी जाघावा र फर समुदायलाई ‘भौतिक विनाशतर्फ धकेल्ने’ सर्त सिर्जना गरिएको उल्लेख गरेको छ ।

संयुक्त राष्ट्रसङ्घका अधिकारीका अनुसार सुडानी सेनाको अन्तिम गढका रूपमा बाँकी रहेको अल-फासेर आरएसएफको नियन्त्रणमा जाँदा हजारौँ नागरिक मारिएका थिए । सहरका करिब दुई लाख ६० हजार बासिन्दा मध्ये ४० प्रतिशत मात्र आक्रमणबाट जोगिएर भाग्न सफल भएको बताइएको छ । बाँकीको अवस्था अझै अज्ञात छ । सेना र अर्धसैनिक नेतृत्वबिचको तनाव राजधानी खार्तुमबाट डार्फरसम्म फैलिएपछि सुडान अप्रिल २०२३ देखि गृहद्वन्द्वमा फसेको छ ।

संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क अनुसार युद्धमा ४० हजारभन्दा बढीको मृत्यु भइसकेको छ, यद्यपि सहायता संस्थाले वास्तविक सङ्ख्या अझ धेरै हुन सक्ने बताएका छन् । प्रतिवेदनमा उल्लेख गरिए अनुसार आरएसएफ र सहयोगी अरब मिलिसियाले अक्टोबर २५ देखि २७ बीच सहरमा छ हजारभन्दा बढी व्यक्तिको हत्या गरेका थिए । सहर बाहिरको अबु सुक विस्थापित शिविरमा आक्रमण हुँदा दुई दिनमै कम्तीमा ३०० जनाको ज्यान गएको थियो ।

यौन हिंसा र जातीय लक्षित हत्याको व्यवस्थित ढाँचा देखिएको प्रतिवेदनले जनाएको छ । सन् १९४८ को ‘नरसंहार महासन्धि’ ले तोकेका पाँचमध्ये कम्तीमा तीन मापदण्ड पूरा भएको तथ्य–अन्वेषण टोलीले जनाएको छ । संरक्षित जातीय समूहका सदस्यको हत्या, गम्भीर शारीरिक तथा मानसिक क्षति र जीवन परिस्थितिलाई विनाशतर्फ धकेल्ने कार्य अन्तर्राष्ट्रिय कानून अनुसार नरसंहारका प्रमुख तत्व भएको प्रतिवेदनमा उल्लेख छ ।

टोलीका अध्यक्ष मोहम्मद चन्डे ओथम्यानले यो कारबाही ‘युद्धको अनियमित ज्यादती’ नभई योजनाबद्ध अभियान भएको बताउनु भएको छ । प्रतिवेदनमा उद्धृत बचेका व्यक्तिका भनाइ अनुसार आक्रमणकारीले जातीय आधारमा हत्या गर्ने धम्की दिएका थिए । सन् २०२३ मा राष्ट्रसङ्घीय मानवाधिकार आयोगद्वारा गठित उक्त मिसनले अपराधीलाई जवाफदेही बनाउन र नागरिक सुरक्षालाई प्राथमिकता दिन आह्वान गरेको छ ।

द्वन्द्वका क्रममा दुवै पक्षमाथि अन्तर्राष्ट्रिय कानून उल्लङ्घनको आरोप लागेको भए पनि अधिकांश अत्याचारका लागि आरएसएफलाई जिम्मेवार ठहराइएको छ । आरएसएफ जाञ्जाविद मिलिसियाबाट विकसित भएको समूह हो । यसले सन् २००० को दशकको सुरुआतमा डार्फरमा करिब तीन लाख मानिसको ज्यान जाने र २७ लाख विस्थापित हुने हिंसात्मक अभियानमा संलग्नता देखाएको थियो । संयुक्त राष्ट्रसङ्घका विज्ञका अनुसार युद्धका क्रममा यस समूहलाई संयुक्त अरब इमिरेट्सबाट समर्थन प्राप्त भएको आरोप पनि लागेको छ, जसलाई सम्बन्धित पक्षले अस्वीकार गरेको छ । (रासस/ एपी)