१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन News Polar सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन News Polar सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार News Polar हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग News Polar राष्ट्रिय जलवायु नीति २०८३ बहसमा, हानी–नोक्सानी अभिलेखीकरणमा जोड

‘छाउगोठसँगै सोच भत्काउनु जरुरी’

‘छाउगोठसँगै सोच भत्काउनु जरुरी’
अ अ+ अ-

सुर्खेत । यतिबेला मध्य तथा सुदूरपश्चिम नेपालका पहाडी तथा हिमाली जिल्लामा छाउगोठ भत्काउने अभियान चलिरहेको छ । गृह मन्त्रालयको निर्देशनबमोजिम कर्णाली प्रदेशअन्तर्गतका जिल्ला प्रशासन कार्यालयहरुको नेतृत्वमा छाउगोठ भत्काउने अभियान अघि बढिरहेको छ । कर्णाली प्रदेशका सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला, कालीकोट, मुगु, डोल्पा, हुम्लामा यो अभियान सञ्चालन भएको छ ।

अभियानका क्रममा जिल्ला प्रशासन कार्यालय सुर्खेतले पश्चिम सुर्खेतका बराहताल, चौकुने गाउँपालिका तथा पञ्चपुरी नगरपालिकामा बनाइएका ४०० बढी छाउगोठ भत्काइसकेको छ । कर्णाली प्रदेशको राजधानी जिल्ला सुर्खेतमा मात्रै एक हजार ८०० छाउगोठहरु रहेको जिप्रका सुर्खेतका सहायक प्रजिअ कृष्णबहादुर खड्काले राससलाई जानकारी दिनुभयो ।

सहायक प्रजिअ खड्काले भन्नुभयो, “गोठ भत्काउन निकै चुनौतीपूर्ण छ तर स्थानीयलाई बुझाउने प्रयास गरिरहेका छौँ । स्थानीय सरकारहरुसँगको समन्वय तथा सहजीकरणमा अभियान अघि बढाइएको छ ।” स्थानीय तहका जनप्रतिनिधि, जिल्ला प्रशासन तथा सुरक्षा निकायको सहयोगमा कतिपय ठाउँमा बलपूर्वक छाउगोठ भत्काउनु परेको उहाँको भनाइ थियो ।

दैलेखका सहायक प्रजिअ इन्द्रबहादुर क्षेत्रीले ३१८ छाउगोठमा १९५ भत्काइएको बताउनुभयो । गोठ भत्काउँदा महिला स्वयंले अवरोध गरेको बताउँदै गोठ भत्काउनाका साथै उनीहरुको मन र सोच भत्काउने चेतनामूलक कार्यक्रम जरुरी रहेको उहाँले जनाउनुभयो । उहाँका अनुसार दैलेखको ठाँटीकाँध, भैरवी र गुराँस गाउँपालिका तथा आठबिस र चामुण्डा नगरपालिका छाउगोठको बढी समस्या रहेको छ ।

अछामसँग जोडिएका सुर्खेत, दैलेख र कालीकोटका पश्चिमी भागमा छुट्टै छाउगोठ भए पनि ती जिल्लाको पूर्वी तथा साविक कर्णालीमा त्यस्तो अवस्था देखिँदैन । कालीकोटका प्रजिअ कृष्णचन्द्र पौडेलले हालसम्म २० गोठ भत्काइएको जानकारी दिनुभयो । “यहाँ अलग्गै छाउगोठ धेरै छैनन्,” प्रजिअ पौडेलले भन्नुभयो, “घरमै अर्को कोठा बनाएर छुइ बार्ने गरेको पाइयो ।”

धामी, पुजारी र पण्डितलाई प्रशिक्षण दिएर मान्छेको मानसिकतामा परिवर्तन ल्याउन सके अभियान प्रतिफलमुखी हुने उहाँको भनाइ थियो । जिल्ला प्रशासन कार्यालय जुम्लाले पनि यो अभियानलाई आधिकारिकरूपमा अगाडि सारेको प्रजिअ दुर्गा बञ्जाडेले राससलाई जानकारी दिनुभयो ।

रासससँग कुरा गर्दै उहाँले भन्नुभयो, “प्रशासनको यही पुस २३ गते बसेको कार्यालय प्रमुखहरुसँगको बैठकमा सबै कार्यालय प्रमुखहरुले ‘हामी छुइ मान्दैनौँ र मान्न बाध्य पार्नेलाई कानूनी दायरामा ल्याउन सहयोग गर्छौं’ भन्ने सङ्कल्पका साथ अभियानको रजिष्ट्रारमा हस्ताक्षर गर्नुभएको छ ।” यससँगै जनप्रतिनिधिहरुले पनि अभियानलाई साथ दिएको उहाँको भनाइ थियो ।

कार्यालय प्रमुखलाई आ–आफ्नो कार्यालयमा बैठक बसाली मातहत कर्मचारीहरुबाट शुरु गर्नाका साथै कार्यालयमा आउने सेवाग्राहीहरुलाई पनि रजिष्ट्रारमा हस्ताक्षर गराएर अभियानमा हातेमालो गर्न लगाउने निर्देशन जिल्ला प्रशासन कार्यालयले गरेको छ । जुम्लामा गाईगोठ नै छुइगोठ भएको र ती गोठ भत्काउँदा घर भत्किने अवस्था भएकाले अभियानशैली पृथक तरिकाले सञ्चालन गर्ने जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रजिअ दत्तराज हमालले हुम्लामा छुट्टै छाउगोठ नभएको राससलाई बताउनुभयो । उहाँले भन्नुभयो, “हुम्लामा भोटे जातिको बाहुल्य छ । उनीहरु बौद्धमार्गी भएकाले छुइछुतो गर्दैनन् ।” अन्य जातिका महिलाहरुले घरको मुन्तिरको गाईगोठमा छुइ बार्ने गरेको उहाँको भनाइ थियो ।

डोल्पाका प्रजिअ मुकेशकुमार केशरीले डोल्पामा सामान्यतया घरकै अर्को कोठामा बसेर छुइ बार्ने गरे पनि छुट्टै गोठ नभएको बताउनुभयो । बहुसङ्ख्यक समुदाय तिब्बतेली मूल र बौद्धमार्गी भएका कारण छाउगोठ नभएको बताउँदै प्रजिअ केशरीले छुइ प्रथा अन्त्यका लागि स्थानीय सरकारसहित अन्य सरोकारवालाहरुको सहकार्यमा अभियान बढाइएको जनाउनुभयो ।

नागरिक तथा सामाजिक अगुवाहरु भने छाउगोठभन्दा दिमागमा रहेको खराब सोच र मनभित्रको डर भत्काउनुपर्ने सुझाउँछन् । कर्णाली देउडा समाजका अध्यक्ष पूर्णप्रसाद धितालले एकैचोटि भौतिक संरचना भत्काएजस्तो सदियौँदेखि जरा गाडेको कुप्रथा नभत्कने बताउनुहुन्छ ।

“हाम्रो मन र मस्तिष्कमा भएको फोहोर सोच हटाउन जरुरी छ,” अध्यक्ष धितालले भन्नुभयो, “जबर्जस्ती लादिएका कुराले आएको परिवर्तन दिगो हुन सक्दैन । छुइ प्रथाको अन्त्यका लागि प्रत्येक दलका राजनीतिक कार्यकर्ता र उनीहरुकै घरबाट अभियान शुरु गर्नुपर्दछ । सोच र मनभित्रको भय नभत्काएसम्म भौतिक वस्तु नष्ट गर्नुले धेरै ठूलो अर्थ राख्दैन ।”

महिला अधिकारकर्मी लक्ष्मीकन्या बुढाले सरकारको अभियान स्वागतयोग्य भएको प्रतिक्रिया दिनुभयो । कानूनको कठोर कार्यान्वयन नभएसम्म मान्छे अनुशासित र आज्ञाकारी नहुने भन्दै अधिकारकर्मी बुढाले यो अभियानमा स्थानीय सरकार र प्रशासन दुवैको सघन सहकार्य हुनुपर्ने अवश्यकता औँल्याउनुभयो ।

राष्ट्रिय युवा सङ्घ नेपाल जुम्लाका अध्यक्ष अमर रोकायाले त्रास एवं बलले छाउगोठ भत्काउने नभई मनको भय मार्न र सोच परिवर्तनमा सरकारले जोड दिनुपर्ने बताउनुभयो । “यसको अन्त्यका लागि यहाँका धामी, डाङ्ग्री र पण्डितहरुबाट नागरिकलाई प्रशिक्षण गर्नुपर्दछ । उनीहरुले प्रवाह गर्ने सन्देशबाट छुइप्रथा न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ,” अध्यक्ष रोकायाले भन्नुभयो ।

स्थानीय सरकारका धेरैजसो उपप्रमुख÷उपाध्यक्ष महिला भएकाले ‘किशोरीसँग उपप्रमुख÷उपाध्यक्ष कार्यक्रम’ सञ्चालन गर्नुपर्ने आवश्यक रहेको उहाँको भनाइ थियो । उहाँका अनुसार स्थानीय सरकारमार्फत गाउँगाउँमा कानूनी सचेतना दिन सके अभियानले सार्थकता पाउन सक्छ ।

कर्णालीका अधिकारकर्मी पवित्रा शाहीले सरकारको अभियान राम्रो भएको टिप्पणी गर्नुभयो । यद्यपि छाउगोठका भौतिक संरचना भत्काउने अभियानको प्रतिफल ‘दिगोभन्दा इगो’मा परिणत हुने खतरा बढ्न सक्ने भन्दै अधिकारकर्मी शाहीले सरकारले चेतना बढाउने कार्य र अनुगमनलाई सँगसँगै लैजानुपर्ने सुझाव दिनुभयो ।

जाजरकोट पश्चिम उत्तरी भेकमा छाउप्रथाको केही प्रभाव भए पनि रुकुम पश्चिम र सल्यानमा यसको असर नभएको त्यहाँका प्रजिअहरुले जानकारी दिनुभएको छ । सरकारले चालेको कदम उपयुक्त भए पनि यसमा महिलालाई छाउगोठबाट घरसम्म पु¥याउने वातावरण तयार गर्नु सबैभन्दा चुनौतीपूर्ण काम भएको सरोकारवालाहरुको टिप्पणी छ ।