२५ भाद्र २०८३, बिहीबार
,
Latest
कानूनमन्त्री गौतमले राष्ट्रिय सभामा माफी मागिन् मन्त्रिपरिषद् बैठक जारी, बाढी प्रभावित क्षेत्रबारे छलफल हुँदै सरकारको केन्द्र सिंहदरबारबाट बाहिर सरेर ‘ज्वागल’ पुग्यो: अमरेश कुमार सिंह राष्ट्रिय सभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक सर्वसम्मतिले पारित झाँक्रीद्वारा सरकारलाई दलगत दृष्टिकोण त्यागेर विपद्मा समन्वय गर्न आग्रह कोइम्ब्रामा बाढी–पहिरोमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली सभा विपत्तिमा राजनीति होइन, उद्धार र नागरिकको जीवन रक्षा प्राथमिकतामा हुनुपर्छ : खुश्वु ओली हङकङमा ११औँ बीआरआई शिखर सम्मेलन सुरु, ७० देशका ६ हजारभन्दा बढी सहभागी गणेश पराजुली उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्दै सरकारसँग पाँच वर्षे कार्यक्रम र राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण छैन : सांसद बिष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

माघेसङ्क्रान्ति मेला शुभारम्भ



अ+ अ-

तीर्थस्थल देवघाटको बेनीमा आज बिहान बाँसको लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ । नेपाल सन्त समाजका अध्यक्ष एवं हरिहर सन्न्यास आश्रमका पीठाधीश ज्ञानानन्द सरस्वती, महेश सन्न्यास आश्रमका पीठाधीश रमाणानान्द गिरी, अभय वेदान्त साधना कुटिरका स्वामी कृष्णानन्द सरस्वती, गलेश्वर आश्रमका उपाध्यक्ष अद्वैतानन्द गिरी, सन्तमहन्त, वटुकलगायत विशिष्ट व्यक्तिको उपस्थितिमा बाँसको लिङ्गो ठड्याइएको हो । यसअघि गलेश्वर आश्रममा भेला भएर विधिवत् रुपमा लिङ्गोसहित यात्रा बेनीमा पुगेको थियो ।

यससँगै चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटमा माघेसङ्क्रान्ति मेला शुरु भएको छ । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार मेलालाई व्यवस्थित बनाइएको छ । विभिन्न उपसमितिमार्फत मेला व्यवस्थापन गरिएको जानकारी उनले दिए ।
देवघाट आउने सवारी साधनलाई ठिमुरा, रामनगर र दासढुङ्गाबाट आउने व्यवस्था मिलाइएको छ भने फर्कँदा तिनले आँपटारीको बाटो प्रयोग गर्नेछन् । दासढुङ्गामा देवघाट जोड्ने पुल सम्पन्न भएकाले देवघाटसम्म नै सवारी साधन पुर्याउन सकिने छ ।

अध्यक्ष पौडेलले भक्तजनले सो पुल प्रयोग गरेमा हाल प्रयोग हुँदै आएको बाटोको सवारी चाप घट्ने बताए । दासढुङ्गाबाट जाँदा चार किमी दूरीमा सवारी साधनबाट देवघाट नै पुग्न सकिन्छ । देवघाट समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले सवारीको पार्किङ, विद्युत्, शौचालय, सरसफाइ, खानेपानीलगायत व्यवस्था भइसकेको बताए । आपत्कालीन उद्धारका लागि सशस्त्र प्रहरी तयारी अवस्थामा छन् भने डुङ्गासहितको उद्धार टोली तैनाथ भएको छ । नेपाली सेना पनि उद्धारमा जुट्ने जनाइएको छ ।

चितवन र तनहुँ जोड्ने झोलुङ्गे पुलको मर्मतसम्भार गरिएको छ । पुलमा लामबद्ध भएर जान र आउनका लागि स्वयंसेवक र सुरक्षाकर्मी परिचालन गरिएका छन् । नदीमा नुहाउन मिल्ने ठाउँ पहिचान गरी सीमाङ्कन गरिएको छ । सङ्क्रान्तिको अघिल्लो रात आज धाममा भक्तजन दीप प्रज्वलन गरी भजनकीर्तनमा सरिक हुनेछन् । आजदेखि नै भक्तजन आउने क्रम शुरु भएको छ । ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघेसङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो ।

सो दिनदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामा र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । ‘भविष्य पुराण’, ‘विष्णुवचन’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोग भइने जनविश्वास छ ।