१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन News Polar सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन News Polar सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार News Polar हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग News Polar राष्ट्रिय जलवायु नीति २०८३ बहसमा, हानी–नोक्सानी अभिलेखीकरणमा जोड

नेपालकै पहिलो ‘नेटवर्क आर्क पुल’को निर्माण सम्पन्न

नेपालकै पहिलो ‘नेटवर्क आर्क पुल’को निर्माण सम्पन्न
अ अ+ अ-

बिजुलीबजारस्थित धोबीखोलामा ‘नेटवर्क आर्क ब्रिज’ पुलको निर्माण सम्पन्न भएको छ । नेपालमा पहिलोपटक ‘नेटवर्क आर्क ब्रिज’ प्रविधिबाट यो पुलको निर्माण भएको हो ।

पछिल्लो समय विश्वभर रुचाउन थालिएको यो प्रविधिको पुल बलियो मात्रै नभएर सौन्दर्य प्रवद्र्धनको पक्षले पनि उत्कृष्ट मानिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सरकारले चार वर्ष पहिले एउटै ठेक्कामार्फत सडकको मुख्य लेनको दुवैतर्फ पुल निर्माणको काम शुरु गरिएकामा एउटा अघिल्लो वर्ष नै सम्पन्न भएर सञ्चालनमा आइसकेको छ । अर्काे दिशातर्फको पुल निर्माणको काम सकिएको र त्यससँग जोडिएका थप काम बाँकी रहेको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार पुल निर्माण सकिएपछि सो स्थानमा सडक कालोपत्र गर्न, पुलमा रङरोगन र बत्ती जडान गर्न बाँकी रहेको छ ।

निर्माण व्यवसायीले केही समयमै रङरोगन र सडक कालोपत्र गर्ने आयोजनामा कार्यरत इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “अबको केही समयमै पुल सञ्चालनमा आउनेछ ।” पुल निर्माण सम्पन्न हुँदै गर्दा पुलमा कस्तो बत्ती जडान गर्ने भन्ने टुङ्गो लाग्न बाँकी छ । आकर्षक र बढी लगानीमा निर्मित पुल भएकाले पनि हेर्दा आकर्षक बत्ती जडान गर्न चाहेको आयोजनाले जनाएको छ । ठेक्का सम्झौतामा भने सामान्य बत्ती जडान गर्ने उल्लेख थियो ।

निर्माण व्यवसायीले सम्झौतामा उल्लेख भएभन्दा फरक बत्ती जडान गर्न थप रकम माग्ने गरेको उहाँले बताउनुभयो । सरकारले चार वर्ष पहिले धोबीखोला पुल र वाग्मती पुलमा ‘नेटवर्क आर्क ब्रिज’ निर्माणको जिम्मेवारी दुई फरक ठेकेदार कम्पनीलाई दिइएको थियो । तीनकुनेस्थित वाग्मती पुलको निर्माण लामो समयदेखि ठप्प भए पनि धोबीखोला पुलको निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ ।

एउटै ठेक्कामा सडकको दायाँबायाँ दुवै पुल निर्माण गर्ने सम्झौतामा उल्लेख छ । वाग्मती पुलको निर्माण लामो समयसम्म अघि बढेको थिएन भने निर्माण हुँदा पनि डिजाइनअनुसार नभएको भनी सरकारले निर्माण रोकेको छ । त्यहाँ रहेका सबै अवरोध हटिसकेकाले अहिले ठेकेदार कम्पनीलाई काम गर्न कुनै बाधा छैन । शुरुका दुई तीन वर्ष विभिन्न अवरोधका कारण काममा ढिलाइ भएको थियो । ठेकेदारको ढिलाइका कारण मात्रै नभएर विभिन्न अवरोधका कारण काममा ढिलाइ भएको आयोजनाले बताउँदै आएको छ ।

देशभर निर्माण भइरहेका अरु पुलमा आफैँले डिजाइन गरेर ठेकेदार कम्पनीलाई त्यहीअनुसार काम गर्न ठेक्कामा दिइने गरिएकामा यस पुलमा डिजाइन समेत ठेकेदार कम्पनी आफैँले गरेको इञ्जिनीयर श्रेष्ठले बताउनुभयो । आयोजनाले दिएको ढाँचाअनुसार ठेकेदार कम्पनीले डिजाइन गर्ने सम्झौतामा नै उल्लेख भएको उहाँले जानकारी दिए । “ठेक्का अवधि शुरु भएपछिको पहिलो डेढवर्ष डिजाइनमा नै सकिएको थियो”, उहाँले भन्नुभयो, “त्यसपछिको डेढवर्षमा पनि त्यहाँ रहेका संरचना नहट्दा उनीहरूले सरासर काम गर्न पाएका थिएनन् ।”

सडक पुल निर्माण गर्ने स्थानमा खानेपानी, बिजुली, ढललगायत संरचना नहट्नुले ठेकेदारले सरासर काम गर्न नपाएको उहाँको भनाइ छ । सडकमा रहेका संरचना सम्बन्धित निकायले हटाउनुपर्ने भए पनि पटक÷पटक ताकेता गर्दासमेत नहटाएकाले काममा ढिलाइ भएको उहाँको दाबी छ । आयोजना आफैँले यहाँका संरचना हटाएर काम गर्ने स्थान खाली गरेको थियो । नेपालमा पहिलोपटक भित्रिएको यो प्रविधि शहरी क्षेत्रका लागि उपयुक्त रहेको इञ्जिनीयर श्रेष्ठले बताउनुभयो । अरू पुलमा भार बहन पुलको तल्लो भागले गर्ने भए पनि यसमा भार माथिल्लो भागमा पर्छ । अरू सामान्य प्रविधि (आरसिसी) भन्दा पुल हेर्दा सुन्दर देखिने र लामो आयु हुने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अरू पुलको औसत आयु ५० वर्ष भएकामा यसको एक सय वर्ष हुन्छ ।” माइतीघरदेखि भक्तपुर सडक विस्तारको काम केही वर्ष पहिले जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा सम्पन्न भएको थियो । जाइकाले पूरै सडक ६ लेनको निर्माण गरेपनि धोबीखोला र वाग्मती पुल चार लेनका थिए । सडक चौडाइ कम भएकाले यी पुल र नजिकैका सडकमा दैनिक जाम हुँदा यात्रु र चालक हैरान छन् ।

के हो नेटवर्क आर्क ब्रिज ?

‘नेटवर्क आर्क’ अहिले नेपालमा बनिरहेका पुलहरु भन्दा बिल्कुलै फरक प्रवधिको हुन्छ ।

यो आर्कमा नै आधारित हुने भएकाले देख्दा पनि निकै फरक खालको हुन्छ । यसलाई निर्माण गर्दा शुरुमा खोला र खोल्साको वारिपारि सडकको चौडाइ बराबरकै ‘अब्युटमेन्ट’ अर्थात् बलियो जगसहितको संचरना निर्माण गरिन्छ । यो ‘अब्युटमेन्ट’ पुलको भार थेग्ने प्रमुख संरचना हो । आर्क ब्रिजमा अहिले नेपालमा बनिरहेका पुलमा जस्तो बीच÷बीचमा पिल्लर प्रयोग गरिँदैन । पिल्लर नहालेपनि ‘अब्युटमेन्ट’को आधारमा पुलको वारपार आर्क फिक्सीङ गरिन्छ । र, माथिल्लो भागमा बाङ्गो आकारका आर्क राखिन्छ । आर्कलाई ‘अब्युटमेन्ट’मा जोडिन्छ ।

आर्कमार्फत नै पुलको भारलाई बोक्ने संरचना फिक्स गरिन्छ । पुलमा गाडी गुड्दा त्यसको भार आर्क हुँदै ‘अब्युटमेन्ट’मा पर्छ । पुलको सम्पूर्ण भारलाई आर्कले नै थेग्छ । त्यसैका कारण पिल्लर नभएपनि यो प्रविधिको पुल बलियो मानिन्छ । यो पुल बनाउन अहिले प्रयोगमा रहेको प्रविधि भन्दा सजिलो छ किनभने खोलाको बीचमा पिल्लर ठड्याउनु पर्दैन, जसका कारण कम खर्चिलो पनि छ । विश्वका विकसित देशको प्रविधि नेपाल भित्र्याउने उद्देश्यले यस पुलको निर्माण शुरु भएको आयोजनाले जनाएको छ । पुलको माथिल्लो भागमा अर्धवृत्ताकार संरचना निर्माण गरिएको छ । बीचमा बलिया तार जडान हुने र तिनका बीचमा दलिन राखिने श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “नेटवर्क तारले पुलको भारवहन क्षमता तल र माथि गरेर सन्तुलन ल्याउनेछ ।” यो पुल निर्माणका लागि वि.सं ०७१ पुसमा ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ । जेई कन्स्ट्रक्सन प्रालिले पुल निर्माणको जिम्मेवारी पाएको थियो । पुल तीन वर्षमा सक्नेगरी पहिलो पटक ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता अवधिमा सम्पन्न नभए पनि पुल निर्माणमा सोही ठेकेदारलाई म्याद थप गर्दा काम सम्पन्न हुने भन्दै आयोजनाको सिफारिसमा सरकारले आगामी पुसम्मका लागि एक वर्ष अवधि थप गरेको हो । सो पुलको चौडाइ १२ मिटर र लम्बाइ ५१ दशमलव ४५ मिटर छ ।