२० भाद्र २०८३, शनिबार
,
Latest
आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

वितृष्णालाई आशामा बदल्न राजनीतिक दलमा आत्मसुधार आवश्यकः उपसभापति शर्मा



अ+ अ-

रुपन्देही। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको राजनीतिक अवस्थालाई सुधार गर्दै लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि कांग्रेसले नेतृत्वदायी भूमिका खेल्ने बताउनुभएको छ ।

आज यहाँ भैरहवामा आयोजित पार्टी सदस्य भेटघाट कार्यक्रममा उहाँले राजनीतिप्रतिको बढ्दो वितृष्णालाई आशामा बदल्न राजनीतिक दलहरू आत्मसुधारमा लाग्नुपर्ने र त्यसको सुरुआत कांग्रेसले गरिसकेको बताउनुभयो ।

उपसभापति शर्माले विगतका राजनीतिक परिवर्तनमा कांग्रेसको भूमिका स्मरण गर्दै अब सुशासन र विकासको नेतृत्व गर्ने जिम्मेवारी पनि कांग्रेसकै काँधमा रहेको बताउनुभयो । “तरल राजनीतिक परिस्थितिमा संयमित भएर जनताका मुद्दालाई प्राथमिकतामा राख्नुपर्छ । सत्ता केन्द्रित सोचभन्दा माथि उठेर नागरिकको जीवनस्तर सुधारतर्फ ध्यान दिन जरुरी छ । यसका लागि कांग्रेसले सङ्कल्प गरिसकेको छ”, उहाँले भन्नुभयो ।

पार्टीभित्रको एकता र संगठन सुदृढीकरणमा जोड दिँदै उपसभापति शर्माले गुटबन्दी त्यागेर टोलस्तरसम्म पुगेर जनताको गुनासा सुन्न र समाधानको प्रतिज्ञा गर्न आग्रह गर्नुभयो । उहाँले मुलुकको आर्थिक सङ्कट र युवा पुस्तामा देखिएको नैराश्यताप्रति चिन्ता व्यक्त गर्दै नीतिगत सुधारको आवश्यकता औँल्याउनुभयो । सत्ता समीकरणका खेलहरूभन्दा माथि उठेर जनताको जीविकोपार्जनमा सुधार ल्याउने गरी सरकारले काम गर्नुपर्ने र त्यसमा कांग्रेसले स्पष्ट दृष्टिकोण अगाडि सारेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

नेता बालकृष्ण खाणले संविधान र लोकतान्त्रिक मूल्य–मान्यतामाथि चुनौती देखिएको उल्लेख गर्दै यसको रक्षाका लागि कांग्रेस बलियो हुनुपर्ने बताउनुभयो । “संविधान र प्रजातन्त्रको रक्षा गर्ने ऐतिहासिक जिम्मेवारी कांग्रेसको हो । विगतमा देशको हितमा गरेका कामको निरन्तरता र नयाँ सुधारका काम अगाडि सार्दै पार्टीले देशको नेतृत्व गर्नेछ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा रुपन्देही क्षेत्र नं १ का प्रतिनिभिसभा सदस्य उम्मेदवार हीराबहादुर खत्री, क्षेत्र नं २ का चुन्नप्रसाद पाण्डे, क्षेत्र नं ३ का सुशील गुरुङ, क्षेत्र नं ४ का आशुतोष मिश्र, क्षेत्र नं ५ का भरतकुमार शाहलगायत वक्ताहरूले सङ्गठन सुदृढीकरण, सुशासन र लोकतान्त्रिक मूल्यको संरक्षणलाई प्राथमिकतामा राख्दै अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो । रासस