२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया

नेपथ्य सङ्गीत यात्रा गीतसँगै सन्देशबाट पनि रमाए चितवनका दर्शक

नेपथ्य सङ्गीत यात्रा गीतसँगै सन्देशबाट पनि रमाए चितवनका दर्शक
अ अ+ अ-

नारायणगढ: नेपथ्य टोलीले ‘हो रामा रामा’ गीतबाट प्रस्तुति सुरु गरेसँगै नारायणगढको क्याम्पा चौरमा अनेकथरि ‘इफेक्ट’ को प्रयोग देखिन थाल्यो । मञ्च धुवाँमय बन्यो, दर्शक घेरामा पताकाहरू उड्न सुरु भए । रङ्गीबिरङ्गी बत्ती फनफनी घुम्न थाले । दर्शकले चिच्याएर माहोललाई थप रोमाञ्चक बनाए ।

दर्शकको उल्लासमय उपस्थितिमाझ नेपथ्यले एक दशक पुरानो गीत ‘हो रामा रामा’ पछि ‘भेडाको ऊन’ र झन्डै साढे तीन दशक पुरानो ‘छेक्यो छेक्यो’ सुनायो । त्यतिन्जेल मैदानका कुनाकाप्चामा रहेका थोरै खाली ठाउँ पनि भरिइसकेका थिए । बाहिर भने टिकट सकिएकाले निराश भई फर्कनेहरूको लर्को देखिन्थ्यो ।

रामपुर क्याम्पसबाट भर्खरै आर्किटेक्चर इन्जिनियरिङ पास गरेका प्रज्वल अधिकारी भने ‘केही उपाय लागिहाल्छ कि’ भनेर पछिसम्मै कुरिरहेका थिए । कन्सर्टका लागि छापिएका टिकट एक दिन अगावै सकिएको घोषणा भइसकेको थियो । अनलाइनबाट बिक्री भइरहेको टिकट पनि शो सुरु हुनुभन्दा केही घण्टा अगावै सकिएको थियो । अन्य कन्सर्टमा झैँ नेपथ्यको टिकट गेटमै पाइन्छ भन्ने विश्वाससाथ आएका प्रज्वल निराश बन्न पुगेका थिए ।

यो त्यही क्याम्पा चौर हो, जसको छेवैमा ‘नारायणी कला मन्दिर’ छ । २५ वर्षपहिले त्यस सभागृहमा पाँच सय दर्शक जुटाउन पनि नेपथ्यलाई हम्मे–हम्मे परेको अनुभव ब्याब्डका गायक अमृत गुरुङसँग छ । मङ्गलबार साँझ भने क्षमताले नै नधान्ने गरी दर्शक ओइरिएका थिए ।

‘हेर्न आइसकेका दर्शकलाई सकेसम्म प्रबन्ध मिलाउने कोसिस गरेका थियौँ,’ स्थानीय आयोजक ‘नेपाल डायरिज’ का बिनेश थापा भन्दै थिए, ‘क्षमताले नै नभ्याउने भएपछि अनलाइनको टिकट पनि रोक्न बाध्य भयौँ ।’

करिब आठ हजार दर्शकमा तन्नेरी वयका युवकयुवतीको बाहुल्य थियो । तर अरू उमेर समूहका दर्शक पनि उल्लेख्य थिए । तिनैमध्ये एक थिइन् ९० वर्षीया ऋद्धिकुमारी केसी ।

‘अमृतले गाएका सबै गीत मलाई मन पर्छ,’ एकपटक काठमाडौँमा पनि नेपथ्य कन्सर्ट हेरिसकेको सुनाउँदै केसीले भनिन्, ‘यहाँ पनि नेपथ्य आइपुगेको थाहा पाएपछि परिवार र आफन्तको साथसहयोगमा हेर्न आएकी हुँ ।’

उता गायक अमृत घरी ‘रोदीमा जस्तो नाचौँ न हई’ भनेर ‘लामपाते सुरती’ गाइरहेका थिए भने घरी ‘मायामा जातपातको कुरा हुँदैन’ भनेर तन्नेरी मनलाई उचाल्ने गरी ‘चरी म¥यो’ गीत सुनाइरहेका थिए ।

अमृतले छेवैको नारायणीमा बगिरहेको सप्तगण्डकीको पानीका मुहान् अर्थात् गण्डक भेगका हिमालहरूको बयान गर्दै स्वदेशलाई चिन्न र बुझ्नका लागि मुलुक घुम्ने अवसर नछुटाउन आह्वान गरे अनि धौलागिरि हिमाल आसपास तयार पारिएको गीत पस्के –

‘शिरफूल शिरैमा वनफूल वनैमा
हिउँको फूल धौलासिरिमा’

उनले कार्यक्रममा परोपकारको आह्वान गर्दै अर्को गीत ‘यो जिन्दगानी’ पनि सुनाए । त्यस क्रममा भने, ‘दानीहरूको उदारताले नै यस दुनियामा धेरैले बाँच्ने मौका पाएका छन् । छरछिमेकमा शिक्षाको उज्यालो नपाएका केटाकेटी छन् भने उनीहरूलाई स्कुलको दैलो टेकाइदिनुजस्तो पुण्यको काम अर्को केही हुँदैन हई…  ।’

चार वर्षपछि फेरि आफ्नो सहरमा आएको ब्यान्डले मनोरञ्जनसँगै सामाजिक सन्देश पनि फैलाइरहँदा रामपुर कृषि क्याम्पसबाट एक्वाकल्चरमा एमएससी गरिरहेका सन्देश घिमिरे उत्साहित देखिन्थे ।

करिब २२ वर्षअघि दुर्घटनामा एउटा खुट्टा गुमाएका उनी बैसाखी टेकेरै कार्यक्रमको आनन्द लिइरहेका थिए ।

‘नेपथ्यका सबै गीतमा शुद्ध नेपाली आत्माको गन्ध पाउँछु,’ सन्देश भनिरहेका थिए, ‘त्यसैले यो ब्यान्डको कार्यक्रम सकेसम्म छुटाउने गरेको छैन ।’
यसअघि पनि चितवनमै नारायणी नदीको किनारमा नेपथ्यको कन्सर्ट हुँदा आफू उपस्थित रहेको उनले सुनाए ।

कन्सर्टमा विदेशी अनुहार पनि ठाउँ–ठाउँमा देखिन्थे । तिनैमध्ये एक थिए नेदरल्यान्ड्सका मार्टेन । ३० वर्षअघि नेपाली युवती विष्णु खड्कासँग बिहे गरेदेखि यहाँको लोकसंस्कृतिसँग नजिकिन सुरु गरेको बताउने उनले केही महिनाअघि बेल्जियममा नेपथ्यको कन्सर्ट हुँदा पनि हेरेको अनुभव सुनाए ।
‘ससुराली आएको बेला यहाँ पनि नेपथ्य प्रस्तुत हुँदै छ भन्ने थाहा पाएपछि आफन्तको समूह बनाएरै उपस्थित भएका छौँ,’ मार्टेनले भने, ‘यो ब्यान्डका गीतहरूमा नेपाली पहिचान बढी छ भनेर नै सकेसम्म छुटाउन मन लाग्दैन । यो नेपालको बेस्ट ब्यान्ड हो ।’

कन्सर्ट अघि बढ्दै जाँदा ‘गाउँ–गाउँबाट उठ’ को पालो आइपुग्यो । अमृतले दर्शकमा जागेको भावनालाई विचारले समेत जोड्ने प्रयत्न गर्दै आसन्न निर्वाचनमा डर वा प्रलोभनमा नफसी योग्य प्रतिनिधि चयन गर्न आह्वान गरे ।

कार्यक्रमको अन्त्यतिर सधैँजस्तै सर्वकालिक हिट गीतहरू ‘रेशम’ र ‘तालको पानी’ प्रस्तुत भए । अन्तिममा ‘रातो र चन्द्रसुर्जे’ बाट कार्यक्रमको बिट मारियो ।

मञ्चमा अमृतलाई सदाझैँ ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

यो शृङ्खलाको अन्तिम कन्सर्टका लागि नेपथ्य रमणीय पर्वतीय नगरी बन्दीपुरतर्फ प्रस्थान गरिसकेको छ । त्यहाँस्थित टुँडिखेलमा फागुन २ अर्थात् भ्यालेन्टाइन्स डे कै साँझ नेपाली लोकरक गुन्जिनेछ ।

दर्शक सुविधालाई ध्यानमा राखेर अनलाइनबाट सोझै टिकट काट्न सकिने प्रबन्ध मिलाइएको छ । अनलाइन बुकिङका लागि नेपथ्यको आधिकारिक वेबसाइट www.nepathya.com.np मार्फत आफ्नो सिट सुरक्षित गर्न सकिनेछ ।