२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया

राप्तीमा थप २० घडियाल छाडियो

राप्तीमा थप २० घडियाल छाडियो
अ अ+ अ-

नारायणगढ । चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका गोही निकुञ्जअन्तर्गत जनकौली सामुदायिक वन क्षेत्रको राप्ती नदी प्रणालीमा छाडिएको छ ।

निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार मङ्गलबार २० वटा घडियाल नदीमा छाडिएको हो, जसमा तीन भाले र बाँकी पोथी रहेका छन् । छाडिएका २० गोहीसँगै यस वर्ष प्रजनन केन्द्रमा हुर्काइएका कूल १६५ घडियाल राप्ती नदी प्रणालीमा छाडिएको छ । उहाँका अनुसार केन्द्रमा हुर्काएर हालसम्म दुई हजार २४० घडियाल विभिन्न नदीमा छाडिएकामा राप्ती नदीमा मात्रै एक हजार ४८५ घडियाल छाडिएको छ ।

निकुञ्ज भएर बग्ने राप्ती नदी घडियालको प्राकृतिक बासस्थानका लागि उपयुक्त मानिन्छ । नारायणी तथा राप्ती नदी किनारबाट सङ्कलन गरिएका गोहीका अण्डा र केन्द्रमै रहेका गोहीबाट जन्मिएका बच्चालाई केन्द्रमा हुर्काएर प्राकृतिक बासस्थानमा छाड्ने गरिएको छ । हाल केन्द्रमा करिब ६०० को हाराहारीमा घडियाल रहेका छन् ।

नदी किनारबाट सङ्कलन गरिएका अण्डालाई केन्द्रको कृत्रिम ह्याचरीमा राखी बच्चा उत्पादन गरिन्छ । प्रजनन केन्द्रमा विभिन्न उमेर समूहका बच्चा घडियाललाई छुट्टाछुट्टै राखिन्छ । प्राकृतिक वातावरण अनुकूल भएकाले राप्तीमा बढी घडियाल छाडिँदै आएको छ । अवलोकनका क्रममा विशेषगरी राप्ती र नारायणी नदी बढी उपयुक्त देखिएका छन् । गत मङ्सिरमा गरिएको गोही गणना तथा अवलोकनका क्रममा राप्ती र नारायणी नदीमा जम्मा ३६६ घडियाल भेटिएका छन् । तीमध्ये नौवटा भाले रहेका छन् ।

घडियाल तुलनात्मक रूपमा शान्त स्वभावको हुन्छ र नदी तथा किनार छाडेर धेरै टाढा जाँदैन । घडियाल संरक्षण गर्ने उद्देश्यले सन् १९७८ देखि चितवन राष्ट्रिय निकुञ्जको कसरामा घडियाल गोही प्रजनन केन्द्र सञ्चालनमा छ । केन्द्रमा जन्मिएर हुर्काइएका घडियाललाई हरेक वर्ष प्राकृतिक बासस्थानमा छाड्ने गरिन्छ । पाँच वर्षसम्म संरक्षण केन्द्रमा राखी आफैँ आहार खोज्न र खान सक्ने अवस्थामा पुगेपछि नदीमा छाड्ने गरिन्छ ।

प्राकृतिक बासस्थानबाट अण्डा सङ्कलन गरी केन्द्रमा ह्याचिङ गरिएका तीनदेखि पाँच वर्ष उमेर समूहका करिब एक दशमलव पाँच मिटर लम्बाइ पुगेका घडियाल प्राकृतिक बासस्थानमा छाड्न योग्य हुने सूचना अधिकारी थापाले बताउनुभयो ।

प्रजनन केन्द्रमा हुर्काएर नदीमा छाडिएका घडियालमध्ये थोरै मात्र जीवित रहने गरेको पाइएको छ । कतिपय घडियाल हराउने, केही बाढीले बगाएर भारततर्फ पुग्ने तथा केही विभिन्न कारणले मर्ने गरेका छन् । नदीमा माछा मार्न प्रयोग हुने जालमा अल्झिएर घडियाल मर्ने समस्या बढ्दै गएको छ । निकुञ्ज र संरक्षणकर्मीले बर्सेनि जालमा बेरिएका घडियालको उद्धार गर्दै आएको थापाले बताउनुभयो ।