• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo

सभामुखमा सापकोटा निश्चित



काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखमा अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरिएसँगै उनी सभामुख बन्ने निश्चित भएको छ । लामो समयको विवाद र अन्योल अन्त्य गर्दै नेकपाले सभामुखको टुंगो लगाएको हो । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको हो । नेकपा महासचिव विष्णु पौडेलले स्थायी कमिटीका सदस्य सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिए ।

सचिवालयको बैठक बस्नुअघि बालुवाटारमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच करिब तीन घण्टा उम्मेदवार टुंगो लगाउने विषयमा छलफल भएको थियो । छलफलबीच दुवै जना सापकोटालाई सभामुखको उम्मेदवार बनाउन सहमत भएका हुन् । ओली र दाहालबीच भएको छलफलमा सभामुख तत्कालीन माओवादी केन्द्रको भागमा परेकाले उम्मेदवार टुंगो लगाउने जिम्मेवारी दाहालकै भएको ओलीले बताएपछि उम्मेदवार टुंगो लगाउन सहज भएको नेकपा स्थायी कमिटीका एक सदस्यले बताए ।

दुई अध्यक्षको छलफलमा ओलीले दाहाललाई सभामुख उम्मेदवार टुंगो लगाउने जिम्मेवारी दिएपछि सापकोटाको नाममा सहमति जुटेको हो । सभामुख उम्मेदवार टुंगो लगाउनेबारे नेकपामा किचलो भएकाले एक महिनादेखि संसद् बैठक बन्धक भएपछि प्रतिपक्षी दलहरूले आलोचना गर्दै आएका थिए । अब नेकपाले उम्मेदवार टुंगो लगाएसंगै सोमबार बस्ने प्रतिनिधिसभाको बैठक अगाडि बढ्ने बताइएको छ । यसअघि प्रतिनिधिसभाको बैठक सूचना जारी गर्दै स्थगित हुँदै आएको छ ।

गत ४ पुसदेखि सुरु भएको संसद्को हिउँदे अधिवेशनको बैठक त्यसयता बस्न सकेको छैन । ११, १६ र २७ पुसमा बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो । आज संसद् बैठक बस्ने संसद् सचिवालयले जनाएको छ । उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेलाई यसअघि नै नेकपाले राजीनामा दिन निर्देशन दिइसकेको छ ।

तर, उनी उम्मेदवारको टुंगो नभएसम्म राजीनामा नगर्ने अडानमा थिइन् । उपसभामुख तुम्बाहाङ्फेले समेत सभामुख हुन दाबी गर्दै नेकपामा लबिङ गर्दै आएकी थिइन् । नेकपामा सुवासचन्द्र नेम्वाङ, पम्फा भुसाल, हरिबोल गजुरेल, जनार्दन शर्मा, टोपबहादुर रायमाझी लगायतको समेत सभामुख हुने चर्चा चलेको थियो ।

को हुन् सापकोटा ? नेकपाले सभामुखको उम्मेदवार बनाएका सापकोटा पार्टीका स्थायी कमिटी सदस्य हुन् । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ निवासी सापकोटाले त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरेका छन् । सात वर्षसम्म माध्यमिक विद्यालयका प्रधानाध्यापक भएका सापकोटाले १५ वर्ष शिक्षण गरेका छन् । सिन्धुपाल्चोकबाट सापकोटा तीनपटक सांसद पदमा निर्वाचित भएका थिए । २०६७ सालमा झलनाथ खनाल प्रधानमन्त्री हुँदा उनी सञ्चारमन्त्री र २०७२ मा केपी शर्मा ओली नेतृत्वको सरकारमा वनमन्त्री थिए ।

अध्ययनकै क्रममा २०२९ सालमा विद्यार्थी संगठनमा आबद्ध भई २०३५ सालमा (नेकपा चौथो महाधिवेशन)मा पार्टीको सदस्यता प्राप्त गरेका थिए । उनले २०३७ मा शिक्षक संघर्ष समितिको सदस्य (नेराशिस) जिल्ला उपाध्यक्ष, अध्यक्ष हुँदै नेराशिसको केन्द्रीय महासचिव र उपाध्यक्षको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन् । २०४८ मा शिक्षकबाट राजीनामा दिएर उनी पूर्णकालीन राजनीतिमा सक्रिय भएका थिए । उनी २०४९ मा संयुक्त जनमोर्चाको केन्द्रीय सदस्य भए । २०५१ मा नेकपा (एकता केन्द्र) को केन्द्रीय सदस्य, २०५१ असोजमा नेकपा (माओवादी) केन्द्रीय सदस्य भएका उनी २०५२ माघदेखि भूमिगत भए ।

२०५२ फागुनबाट सुरु सशस्त्र युद्धको नेतृत्वमा पूर्वी उपक्षेत्रीय ब्युरो इन्चार्ज, २०५७ मा दोस्रो राष्ट्रिय सम्मेलनबाट पोलिट ब्युरो सदस्यमा निर्वाचित भएका सापकोटा २०५८ मा पार्टीबाट गठन गरिएको ३ सदस्यीय वार्ता टोलीमा रही सरकारसँग वार्तामा सहभागी भएका थिए । १४ चैत २०६२ मा सिन्धुपाल्चोक ठोकर्पामा आयोजित कार्यक्रममा तत्कालीन शाही नेपाली सेनाले हेलिकोप्टरबाट प्रहार भएको गोली तीन ठाउँमा लागेर गम्भीर घाइते भएका उनी २०६२/६३ को दोस्रो जनआन्दोलनमा उपत्यका वरिपरिका जनतालाई जनआन्दोलनमा परिचालन गर्ने नेतृत्वमा थिए ।

२०६९ माघमा भएको एकीकृत नेकपा (माओवादी)को हेटौंडा महाधिवेशनवाट पोलिटब्युरो सदस्य निर्वाचित सापकोटा २०६९ साउनमा एकीकृत नेकपा (माओवादी) को स्थायी समिति सदस्य तथा पार्टीको केन्द्रीय प्रवक्ताको समेत जिम्मेवारी निर्वाह गरिसकेका छन् । २०७१ मा भएको विराटनगर सम्मेलनवाट स्थायी समिति सदस्य र २०७३ मा नेकपा (माओवादी केन्द्र) को कार्यालय सदस्यको जिम्मेवारी निर्वाह गरेका सापकोटा अहिले नेकपा स्थायी कमिटी सदस्य छन् । राजधानी दैनिकबाट