१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर

प्रतिनिधिसभा सदस्य निर्वाचनः मनोनयनपत्र दर्ताको तयारी पूरा

प्रतिनिधिसभा सदस्य निर्वाचनः मनोनयनपत्र दर्ताको तयारी पूरा
अ अ+ अ-

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयनपत्र दर्ता गर्न तयारी पूरा भएको छ।

देशभरका ८८ मुख्य निर्वाचन अधिकृतका कार्यालय र ८८ निर्वाचन अधिकृतका कार्यालयमा सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ।

मुलुकभरका १६५ वटै निर्वाचन अधिकृतका कार्यालयमा उम्मेदवारको नाम मतदाता नामावलीमा छ, छैन भनी रुजु गर्न आवश्यक सामग्री पुगिसकेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिनुभयो ।

उहाँले यसपटक आयोगले आचारसंहितामै उल्लेख गरेर उम्मेदवारले सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था गरेको र उक्त विवरण खामबन्दी गरी बुझाउनुपर्ने बताउनुभयो । “आचारसंहिता पालना गर्छु, कानुनले अयोग्य ठहराएमा उम्मेदवारी रद्द हुँदा पनि मञ्जुर छ, निर्वाचन कानुनसम्बन्धी सबै व्यवस्थाको पालना गर्छु, जस्ता विषय उम्मेदवारले स्वघोषणामा अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने छ”, सहायक प्रवक्ता जिसीले भन्नुभयो ।

उम्मेदवारीसँगै १३ प्रकारका कागजात पेस गर्नुपर्ने

उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने व्यवस्था थरिएको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि यही मङ्गलबार हुने मनोनयनपत्र दर्ता गर्दा उम्मेदवारको नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि, कुनै स्थानीय तहको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा आवश्यक पर्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो ।

उम्मेदवारी दिँदा सङ्घीय, प्रदेश वा स्थानीय सरकार तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व अथवा नियन्त्रणमा रहेको वा तीनै तहका सरकारबाट अनुदान प्राप्त संस्थाबाट पारिश्रमिक पाउने गरी बहाल रहेको भए त्यस्तो पदबाट राजीनामा दिएको निस्सा पनि उम्मेदवारले पेस गर्नुपर्ने उहाँले सुनाउनुभयो ।

उम्मेदवारले प्रतिनिधि तोकी मनोनयनपत्र दर्ता गर्ने भएमा प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २४ सँग सम्बन्धित अनुसूची ११ बमोजिमको प्रतिनिधि मुकरर गरेको फारम भर्नुुपर्नेछ ।

यसैगरी प्रचलित कानुनबमोजिम योग्यता पुगेको व्यक्तिले मनोनयनपत्र दर्ता गर्दा वा गराउँदा प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ८ बमोजिम सोही निर्वाचन क्षेत्रको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका एक जना प्रस्तावक र एक जना समर्थक भई विवरण भरी सहीछाप गरेको मनोनयनपत्र पनि पेस गर्नुपर्ने आयोगले जनाएको छ ।

दलको तर्फबाट उम्मेदवारी दिएको भए मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिको पदाधिकारीले प्रदान गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को अनुसूची ७ बमोजिमको उम्मेदवार मनोनयनको औपचारिक पत्र आवश्यक पर्नेछ । एकल चुनाव चिह्न लिई संयुक्त रूपमा निर्वाचनमा सहभागी दलहरूको हकमा प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को अनुसूची ८ बमोजिमको उम्मेदवार मनोनयनको औपचारिक पत्र पनि समावेश गर्नुपर्ने आयोगले जनाएको छ ।

निर्वाचन अधिकृतको कार्यालयमा रु १० हजार धरौटी जम्मा गरेको रसिद वा भौचर पनि पेस गर्नुपर्नेछ । महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा भने धरौटी रकममा ५० प्रतिशत छुट हुने आयोगका प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । विपन्नका हकमा स्थानीय तहले आर्थिक रूपमा विपन्न भनी सिफारिस गरेको पत्र पनि समावेश गर्नुपर्नेछ ।

उम्मेदवारले प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २१ सँग सम्बन्धित अनुसूची ९ बमोजिमको ढाँचामा आफ्नो चल, अचल सम्पत्ति, बैंक तथा वित्तीय संस्थामा रहेको खाता, धितोपत्र, सेयर, ऋणपत्र, कसैलाई ऋण दिएको वा लिएको भए त्यसको समेत सम्पूर्ण विवरण उल्लेख गरी सिलबन्दी गरेको सम्पत्ति विवरण पनि पेस गर्नुपर्ने जनाइएको छ ।

निर्वाचन निर्देशिका, २०८२ को दफा २२ सँग सम्बन्धित अनुसूची १० बमोजिम भरिएको वैयक्तिक विवरण फारम, निर्वाचित, मनोनीत वा नियुक्त भएको निकायबाट कुनै पनि प्रकारको पेस्की लिएको भए फर्छ्यौट भएको ब्यहोराको निस्सासमेत संलग्न गर्नुपर्नेछ ।

लेखापरीक्षणबाट कुनै पनि उम्मेदवारका नाममा किटानीसाथ असुलउपर गर्नुपर्ने भनी कायम भएको बेरुजु भए फर्छ्यौट गरेको निस्सा र निर्वाचन आचारसंहिता, २०८२ को अनुसूची ३ बमोजिमको प्रतिबद्धता पत्र पनि समावेश गर्नुपर्ने आयोगले आजै जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तो छ निर्वाचन कार्यक्रम

मङ्गलबार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म १६५ वटै निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ ।

माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयनपत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको छ भने माघ ७ गते दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी त्यसै दिन बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

यसैगरी माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको प्रवक्ता भट्टराईले बताउनुभयो । रासस