१९ भाद्र २०८३, शुक्रबार
,
Latest
तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’को सुरुङबाट एक जनाको जीवित उद्धार भक्ति, आस्था र उल्लासमा श्रीकृष्ण जन्माष्टमी-फोटो फिचर कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना अस्मिताले पाइन् घरमै नागरिकता लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

हरेक आन्दोलनमा निजी क्षेत्र केन्द्रमा परेका छन्-चन्द्रप्रसाद ढकाल



अ+ अ-

रुपन्देही। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले हरेक आन्दोलनमा निजी क्षेत्र निशाना (केन्द्र) मा परेका बताउनुभएको छ । उहाँले निजी क्षेत्रप्रति किन यति नकारात्मक सोच र बुझाइ छ भन्दै प्रश्न गर्नुभयो ।

आज भैरहवामा आयोजित सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीको ६७औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रमा अध्यक्ष ढकालले कुनै व्यवसाय सञ्चालन गर्नु भनेको त्यो व्यवसायी÷व्यक्तिको फाइदाका लागि मात्र नभई आमनागरिकका लागि पनि हुने स्पष्ट पार्नुभयो । उहाँले त्यो व्यवसाय फाइदाजनक नभए टिकाउ हुन नसक्ने बताउनुभयो ।

“कुनै उद्योग–व्यवसाय सञ्चालन गर्नु भनेको रोजगारी सिर्जना, राज्य सञ्चालन गर्न राजस्वमा योगदान गर्नु, पूर्वाधार बनाउनु र आमनागरिकले सेवा पाउनु हो भन्ने किसिमको सन्देश दिनुपर्छ । यसबारे आमनागरिकलाई बुझाउनुपर्छ”, अध्यक्ष ढकालले भन्नुभयो ।

उहाँले नेपाल सरकारले विद्यालयलाई शान्ति क्षेत्र भने जस्तै महासङ्घले निजी क्षेत्र, औद्योगिक प्रतिष्ठान, कलकारखानालाई हडताल, आगजनी र तोडफोड गर्न नमिल्ने क्षेत्रका रूपमा प्राथमिकतामा राखी योजनाबद्ध रूपमा खाका बनाएर सरकारलाई दिएको जानकारी दिनुभयो । वर्तमान सरकारको मन्त्रिपरिषद्ले यथाशीघ्र यसबारे निर्णय गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

राजनीति गर्नेले राजनीति र जागिर गर्नेले यो धेरै भयो भनेर छोड्न सक्ने भए पनि व्यवसायीले जस्तोसुकै अवस्थामा छाड्छु भन्न नसक्ने उहाँले दाबी गर्नुभयो । “मेरो हकमा भन्नुहुन्छ भने मेरो कम्पनीअन्तर्गत काम गर्ने २० हजार छन् । एक जनाले पाँच जनाको परिवार पालेका छन् । एक लाख मानिस आश्रित छन् । मेरो टाउकोमा अरबौँको ऋण छ । मैले छोडे भने एक लाख रोजगारीको अवस्था के होला ? मैले छोडे पनि बैंकले मलाई छोड्नेवाला छैन”, उहाँले भन्नुभयो ।

अध्यक्ष ढकालले निजी क्षेत्र नभएको भए के अवस्था हुन्थ्यो होला भन्दै प्रश्न गर्नुभयो । वार्षिक रूपमा सरकारी निकायले तीन हजार ५०० देखि चार हजारलाई रोजगारी दिएको जनाउँदै उहाँले निजी क्षेत्रले ८६ प्रतिशत बढीका लागि रोजगारी सिर्जना गरिरहेको बताउनुभयो । भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि आफ्नोतर्फबाट पहल गरिरहने उहाँको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घको आगामी नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन हुनुपर्नेमा अध्यक्ष ढकालले जोड दिनुभयो । “छोटो समयमा महासङ्घको उचाइ बढेको छ, त्यसलाई निरन्तरता दिन सर्वसम्मत नेतृत्व चयन हुनुपर्छ भन्ने मेरो धारणा छ, यसका लागि यहाँहरूले पनि पहल गर्नुहोला”, उहाँले भन्नुभयो ।

त्यस्तै सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले स्थानीय सरकार निजी क्षेत्रका साथमा रहेको बताउनुभयो । उहाँले खुल्ला सीमाको चुनौतीसँगै अवसर पनि रहेको धारणा राख्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हेमराज ढकालले युवापुस्तालाई बेवास्ता गर्दा मुलुकमा समस्या आएको बताउनुभयो । उहाँले मुलुकमा धेरै सम्भावना रहेकाले कम काम गरे पनि धेरै प्रतिफल प्राप्त गर्न सकिने धारणा राख्नुभयो ।

उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले निजी क्षेत्रले मुलुकमा स्थायित्व खोजेका बताउनुभयो । उहाँले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो । उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठले निर्माण भइसकेको विमानस्थल नियमित सञ्चालन नहुँदा निजी क्षेत्र निराश बनेका बताउनुभयो ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीका अध्यक्ष नेत्रप्रसाद आचार्यले निजी क्षेत्रको प्रतिनिधिका रूपमा सङ्घले विगतदेखि राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र विकासमुखी नीतिलाई सरकार तथा राजनीतिक दलहरूको मुख्य एजेन्डा बनाउनुपर्ने माग गर्दै आइरहेको बताउनुभयो ।

कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष दिलीपकुमार कान्दु, महासचिव कृष्णप्रसाद घिमिरेलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा विभिन्न व्यक्ति तथा सङ्घसंस्थालाई सम्मान गरिएको सङ्घका सचिव मङ्गल भण्डारीले बताउनुभयो । रासस