२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक रात अमेरिकामा



अ+ अ-

ठेलाम ठेल गर्दे सानो सुरंङ्ग भित्र पसे, सिढीमा झण्डै नचिप्लेको, करिब २४ वटा सिढी तल झरेपछि रेल स्टेण्डमा पुगे । ओहो जमिन मुनि पो रेल, म कहाँ छु, जमिन माथि वा मुनि मैले कुनै मेसो पाउनै छाडेको थिए ।

म पुग्नु पर्ने अर्को स्टेशनको वोर्ड देखे, अब पुगिन्छ भनेर मन शान्त भएर आयो । लेखिएको थियो, यले युनिभर्सिटी ४४० कि.मी उत्तर । सायद् यसलाई मोनो रेल भन्छन् क्यार म मनमनै केहि बोल्दै थिए । मेरो हुलिया करिब सुकुना क्याम्पस पढ्दाको जस्तै थियो । आखिर के परिवर्तन हुन्छ र मान्छे बीस वर्षमा ? बाहिरी आवरण त उस्तै उस्तै हुने न हो आधा कपाल र दारीहरु फुलेका छन्,आँखाको छेउमा तीन धर्के मुजाहरु थपिए, हात हेरे, खुट्टा हेरे । तर यो मनमा भने बडो बेजोड परिवर्तन भएछ क्यारे बीस वर्षमा ।

कस्तो मन हो सोचेको सोचै मात्र गर्छ, आफैसंग लडेको लड्यै छ निरन्तर । भौतिक जगत संग लडेर कहिँ सकिन्छ ? अनि कोसंग हो त लड्ने ? मनसंग ? बिचारसंग ? के म सोचेरै यहाँ आई पुगेको हुँ ? कि मेरो प्रारब्धले यहाँ ल्याई पुर्याएको हो । मेरा हजुरबुबालाई त बुबाले त चिन्न पाउनु भएन रे, कसले पठायो त मलाई यहाँ ।

हेल्लो कवीजी कहिले हो ? म झस्के, पछाडि फर्केको त मेरो सुकना क्याप्मसको लगौटीया पो छ । ईन्सटामा त बडो रोमान्स मोडमा देखिन्थ्यो कुखुराका फिला २ थान, १ थान काल्सवर्ग एउटा चश्मा टि शर्टमा राखेर,अर्को कालो चश्मा टाउकामा भिरेको आधा आकास हातले छेकुँदा भैm गरेर पूर्ण फ्रफुल्लित मुद्राको फोटो मलाई अघिल्लो महिना पठाएको साथी हो उ । आज उसलाई देखेर मलाई खनारको जुट मीलबाट बेलुका घर फर्केको मेरो छिमेकी दिलीप भाईको याद आयो ।

ओहो साथी म हिजो झरेको नि, के गर्नु तिमीहरुले नेपालमा बस्नेलाई मान्छे नै गनेनौ त, म ठट्टा पारमा साच्चै कुरा भन्दै थिए, उ आधा खुशी आधा वेखुशी भए जस्तो लाग्यो । उसले भन्यो दिक्षान्तमा हो ? अनि बस्ने कि फर्कने ? सोधि त हाल्यो । प्रश्न सोध्नेसंग उत्तर सुन्ने आँट पनि हुनु पर्छ यो कुरा मनमै राखेर भने, हो अर्को हप्ता फर्किन्छु । मैले यति बोल्दा उसको उनुहारमा उज्यालो थपिएको थियो । उ हतारमा थियो, यसो उता पर्केर सेलमा राखेको खानाको प्याकेट नजिक पुगेर म तिर फर्कदै थियो,मैले हातमा भर्जिनियामा बस्ने रेग्मीनी दिदीले पर्ठाईदिएको खानाको बट्टा झोलाबाट निकाल्दै थिए ।

उ मेरो नजिक आयो र भन्न थाल्यो के गर्ने नेपालमा नेता खराब, पार्टी खराब, नीति नियम कसैले मान्दैन,सबै खाने मात्र छन्, कर्मचारी तन्त्रको व्याख्या गर्यो, व्यपार, कालो बजारी उसले सबै क्षेत्र सक्यो, केहि कुराको त प्रमाण नै पो देखाउला झै गर्यौ । म चुपचाप सुनिरहे मेरो मुखमा उसलाई फकाउने जवाफ धेरै तयार भै सकेका थिए जस्तै पाल्पामा बिहान टिपेको रायोको साँग बेलुका कतारको भान्छामा पुग्छन अचेल, दार्चुलामा डोल्पामा बोलेर सरर पुगेका छन्, हजुरआमाको बैक खातामा सामाजिक सुरक्षा भत्ता पुगेको छ । करिब ९० हजार विद्यार्थीहरु भर्खरै विश्विद्यालयबाट दिक्षित भएका छन् ।

तिम्रो गुगल र मेरो गुगल एउटै हो भाइ मात्र फरक तिमी यँहा बसेर गुगलबाट काम खोज्छौ हामी नेपालमा बसेर गुगलमा राम्रो नेता खोज्छौ र थप्दै भने भने अब कुन दिन देखि तिमीहरुले हामी सबैलाई खराब भन्न थाल्छौ, तिम्रा टम्«प, वाइृडेन, बुस सबैलाई देखियो, तिमीहरुले मज्जाले भोगरहका छौं कुन दिन बोरा बोकाएर फकाई दिन्छ टुंगो छैन ,यति मात्र के भनेको थिए,यता खाना सकियो रेल पनि आयो, उ पनि गयो ।

म सरर निलो समुन्द्र हेर्दै थिए,समुन्द्र सकियो झ्यालमा हेरे अर्को झ्यालमा त करिब १० वर्ष संगै काम गरको कार्यालयको भु.पु.सर हुनुहुँदोरहेछ । फेसबुकमा जस्तो देखेको उस्तै मान्छे लाग्यो । कुराकानी छोटो नै गर्नु थियो उहाँ अघिल्लो स्टेशनमा ओर्लने यात्रि । हामीले एकै छिन विगत सम्झयौं, काम गरेको बेलाका समय, समुदाय, समाज,खोला नाला, उकाली ओराली,पाखा पखेरालाई सम्मान गर्यौ । मनको अमिलो पनि संस्थाका सबै तह र तप्कालाई धुलो चटाएर गाली गरेर सफा गरियो ।

साला सधै सिण्डिीकेट मात्र ? के क्षमता भएको मान्छेले घर घर पुगेर गेटमा तोरीको तेल, मार्सी चामल बोक्नु पर्छ र ? सरले सबैलाई एक एक गरि सम्झनु भएको थियो । सबैको दिन आउछ सर, म भन्दै थिए । केहि परिवर्तन हुदैन हेर्नुहोला जब सम्म मनमा, सोचमा परिवर्तन हुदैन । ल देवीजी काम सकेर कल गर्नु होला भन्र्दै ….प्रा.लि को कार्ड हातमा राखेर सर विदा हुनु भयो । म फेरि एक्लै ।

अगाडीको दृश्य हेर्दे, घरि दाँया घरि वाँया गर्दै गर्दा किन किन भित्रैबाट मलाई त्यहाँको समुन्द्रको पानी त हाम्रै हिमालबाट पुगेको जस्तो लाग्न थाल्यो, त्यँहा बहने हावा पनि हाम्रै बनबाट सुसाउदै पुगेको जस्तो । घामलाई एक्लो देखे, हाम्रो देशमा त घामसंगै लामटाङ,अन्नपुर्ण, सिस्ने, अपी हिमालहरु आँगनमा र आँखामा आउछन् । सडकबाट देखिने ति बिरुवाहरु पुरै कृतिम लाग्न थाले आधा मनले होईन बिरुवा नै हो भन्छ, आधा मनले भाइ यो अमेरिका हो यहाँ धेरै कुरा कृतिम छन् भन्छ । म दोधारमै थिए ।

अर्को स्टेशनबाट फुत्त चढिन् कविता । मेलै लेख्न नसकेकी कविता थिन् उनी । हाम्रा आँखा–आँखा जुधि गए । ओहो तपाँइ कहिले हो ? आएर हात समाउदै मेरै सिटमा बसिन, सिटमा के भन्नु मंसंगै बसिन । कवितासंग एक पटक मात्र भेट भएको थियो तर खतरा भेट । मलाई डि.भी चिठ्ठा परेको बेला उनका दाजुहरु अमेरिकामा थिए रे, अनि मैले उँनिंसंग कागजी विवाह गरेर अमेरिका आउने अनि यहाँ आए पछि मलाई छोडेर दाजुबहिनी बस्ने रे ।

मलाई प्रस्ताव सुन्दै स्वार्थ मिसिएको लागेको थियो, मैले सरकारी कर्मचारीले जस्तै पछि हेरौला, बुझौंला भनेर त्यो संकट टारी दिए । म धरानमा तालिममा गएको बेला मेरै अफिस पुगेर मिठो चिया खाएर फर्केकी हुन कविता । मैले पनि यो त अमेरिका पो हो भन्दै गालामा मजाले मया गरिदिए, उनि रातो पीरो भएकी थिईन । मलाई यति माया गरिन् यति प्रस्तावहरु राखिन मैले सबै हासेरै टारिदिए । म उनका सबै कहानी सुन्न तयार थिए, आजको समय उनको थियो ।

उनि भन्दै थिईन म एक वर्ष पछि विद्यार्थी भएर यहाँ आए दुई वर्ष पछि दाइहरुबाट छुट्टै बस्न थाले । म घरकी कान्छी छोरी सबै काम अरुले गर्नुहुन्थ्यो म बसेर खान्थे, अहिले सबै काम म गर्छु तर खान पनि पुग्दैन, मैले तपाँईलाई देखे पछि अरुसंग विहे गर्नै मन लागेन । केहि वर्ष त तपाइँलाई नै अमेरिका ल्याउने योजनामा थिए पछि म एक्लैलाई त यति धौ छ भनेर तपाईँलाई भौतिक रुपमा बिर्सेर मनमै राखेर दिन बिताए ।

म एक्लो छु, म बाच्न चाहन्छु । उनले मोबाईल झिकेर मेरो ह्रवाटसप नम्बर सुरक्षित गरिन । मेरो अफिस आयो, बाई बेबी भन्दै मेरो हात ओठले छोएर उनि अर्को स्टेशनमा झरिन् । म हेरेको हेरै । मैले भने यो अमेरिका हो भाइ अमेरिका र म अमेरिकामा छुँ ।

म बसेको रेल हो की बस हो । के हो ? के हो ? मेसो पाउन सकिन । यात्रा जारी छ । कोही बोलेको आवाज सुनिदैन । हैन मान्छेलाई मौन बनाउने के औषधी रहेछ यहाँ । म सोच्दै थिए उ बेला बिराटचोक बाट बेलबारी अभ्यास शिक्षणमा जाँदा हामी बोलेको बोल्यै बेलबारी पुग्थ्योै । आज अमृत सरले क्या बेजोड पढाएको यार साला किताबै नेहेरी ग्रामर सबै पढाईदिन्छ यार, अनि त्यो केशब सर छ नि त्यो त नोट हेर्दे नोट लेख्न लगाउने यार अलि विस्तारै भन्नु नि मैले त एक प्याराग्राफ त छाडि दिए, भरे नोट सार्नु पर्ला ।

त्यो छ नि विद्यार्थी नेता भन्ने शम्भु, हो त्यसको बहिनी पो रै छ त अनिता, अनि पो खुब भाउ खाने रै छे, पास हुनु पर्यो नि नेता भएर के हुन्छ र अर्को बर्ष चिन्छे म को हुँ त्यसले । अर्कोले थप्यो घरबेटीले पहिले त साग टिपेर खानु भन्थे अब देखि त १ रुपयाँ मुठा अरे । अरे यार मेरो घरको बारीमा लगेर आखै हरियो बनाई दिउ जस्तो के, किन्न त बुधबारे बजार छ दै छ नि । बत्ति बालेर पढेको को नि रिस गर्छन यार ।

म यति बोल्ने मान्छे आज चुपचाप छु । समय बित्यो स्टेशन आयो । गुगल म्याप हेर्दै कलेज जादै थिए ओए देवे, धेरै पहिले सुनेको आवाज कानमा ठोक्कीयो म झसंग भए, गोठाले बेलाको साथीको याद आयो, डण्डी बियो खेल्दा जसरी बोलाउथ्यो उसै गरि आवाज आउदा हामी फेरि अमेरिकाबाट चारकोसे झाडि मुनतिरको खुल्ला मैदानमा पुग्यौ जहाँ प्रेमे सदा पीठारीको गाछीमा थियो,बुद्धीलाल चौधरी धानबारीमा मुसाको दुलो खोज्दे थिए, गीता भौजी पैनीमाथीको डुँडमा बसेर जाल थापेर माछा मार्दै थिईन । बुच्चेका बा आईतबारे बजार जादै थिए ।

खवाईनी ठुलीआमा बारीमा धनिया मुठो पार्दै थिईन । टिमाईको बासघारीमा के पुगेका थियौ । मौनता तोडदै मनोज बोल्यो किन ढिला गरिस ? म त अघि नै आईपुगेको मलाई भन्दै थियो । खै यार म ढिला हो कि अमेरिका ढिला हो । धेरै साहित्य नछाँट, उ त्यो चौरमा हो तेरो आज कार्यक्रम, मैले सबै बुझेर आए । तेरो पालो कतिबेला आउने हो, मेरो २ बज्छ होला । भरे बेलुका बेजुकोमा जाने है, बेजुले बोलाकी छे, थोरै बोल्ने मेरो साथीले अमेरिका आएर यति भनेर विज्ञानको दिक्षान्त समारोह तिर गयो ।

म मनोविज्ञानको समारोह तिर जादै थिए । कता कता ढोकाको प्यालबाट चिसो हावाले कानहरु चिसो भएछन्, म झल्यास्स बिउझिछु । बेलुका लगाएको टोपी सिरानीबाट भुईमा आफै चिसो भएछ, गलबन्दी सिरक भित्रै हराएछ । बाहिरको उज्याले भित्रै पुगि सकेको थियो । बुबाले गाई दुहेर दुध बजार पुुर्याई सक्ने बेला भएको थियो, घरमा कान्छी छोरी मुसे उठेर पुजा गर्ने बेला भएको थियो । अलि ढिला फोन गरेर गुड मर्निङ्ग भन्यो भने यति बेला हो हजुरको मर्निङ भनेर थर्काउछिन् । ओछ्यानबाट उठे ,एक छिन बसें । म जाजरकोटमा डेरामा छु । मेरा पात्रहरु सबैलाई सम्झे सबैलाई धन्यवाद दिए,अघि सम्म म अमेरिकामा थिए । आज बाडमिन्टन खेल्न नि ढिला भै गएछ । चिया खान तल झरे, फोनको घण्टी बज्यो ठुलीछोरीको पलिहलो सन्देश, ह्रयाप्पी न्यू इयर बाबा !

अस्तु ।
देवी प्याकुरेल