५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

प्लास्टिक निषेधसहित देवघाटमा माघे सङ्क्रान्ति मेलाको तयारी

प्लास्टिक निषेधसहित देवघाटमा माघे सङ्क्रान्ति मेलाको तयारी
फाईल फोटो
अ+ अ-

नारायणगढ । हालै प्लास्टिक निषेधित क्षेत्र घोषणा गरिएको देवघाटमा यस वर्ष हुने माघे सङ्क्रान्ति मेलालाई व्यवस्थित, सुरक्षित बनाउँदै धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तयारी थालिएको छ । मेलालाई मर्यादित रूपमा सञ्चालन गर्न देवघाट क्षेत्र विकास समितिले व्यवस्थापन मूल समिति र विभिन्न शीर्षकगत उपसमितिहरू गठन गरी सक्रियता बढाएको हो ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार १५१ सदस्यीय मेला व्यवस्थापन मूल समिति गठन गरिएको छ । मेलाको सफल व्यवस्थापनका लागि स्वयंसेवक परिचालन, धुनी व्यवस्थापन, बजार व्यवस्थापन, सरसफाइ तथा अस्थायी शौचालय व्यवस्था, खानेपानी व्यवस्थापन, प्राथमिक स्वास्थ्य उपचार, विद्युत् तथा बत्ती व्यवस्था, डुङ्गा व्यवस्थापन, आकस्मिक उद्धार, स्नानघाट व्यवस्थापन, मूल समितिको सचिवालय सञ्चालन, सूचना, सञ्चार तथा प्रचारप्रसार, मेला सुरक्षा व्यवस्थापनलगायत कार्यका लागि छुट्टाछुट्टै १९ वटा उपसमिति गठन गरिएको उहाँले जानकारी दिनुभयो ।

मेलाको व्यवस्थापनका लागि भरतपुर महानगरपालिका, गैँडाकोट नगरपालिका, देवघाट गाउँपालिका, चितवन, तनहुँ र नवलपुर जिल्लाका प्रशासन तथा सुरक्षा निकाय एवं अन्य सङ्घसंस्थासँग समन्वय गरिएको बरालले बताउनुभयो । मेला भर्न आउने भक्तजनका लागि रुट निर्धारण तथा चितवनतर्फको सडक मर्मत कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।

देवघाटस्थित झोलुङ्गे पुलबाट भारी मालसामान ढुवानीमा रोक लगाइसकिएको जनाउँदै निर्देशक बरालले मोटरसाइकलसहित सबै सवारीसाधनको आवतजावत झोलुङ्गे पुलमा निषेध गरिएको बताउनुभयो । उहाँका अनुसार पैदल यात्रुहरूले भने पुल प्रयोग गर्न सक्नेछन् ।

सवारीसाधनका लागि दासढुङ्गा पुल तथा ठिमुरा क्षेत्र प्रयोग गर्न सकिने र चितवनतर्फ सवारी पार्किङ गरी डुङ्गामार्फत रु ५० शुल्क तिरेर वारपार गर्न सकिने व्यवस्था मिलाइएको निर्देशक बरालले जानकारी दिनुभयो ।

मेलालाई मासु, मदिरा तथा धुम्रपानरहित बनाउने प्रयास गरिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा ईश्वरीराज लौडारीले बताउनुभयो । उहाँका अनुसार यही पुस ११ गतेदेखि देवघाटधाम क्षेत्रलाई प्लास्टिक निषेधित क्षेत्र घोषणा गरिएको छ । उहाँले मेलामा आउने भक्तजनहरूलाई प्लास्टिकजन्य सामग्री नल्याउन आग्रह गर्नुभयो ।

प्रदूषणका कारण वातावरण, नदीनाला तथा धार्मिक पर्यावरणमा नकारात्मक असर परिरहेको उल्लेख गर्दै अध्यक्ष डा लौडारीले नारायणी नदी तथा देवघाटधाम क्षेत्रको स्वच्छता कायम राख्न एकपटक प्रयोग हुने प्लास्टिक झोला ९४० माइक्रोनभन्दा पातलो०, प्लास्टिक बोतल, गिलास, प्लेटलगायत सामग्रीको प्रयोग क्रमशः निषेध गरिएको जानकारी दिनुभयो । वैकल्पिक रूपमा जैविक तथा वातावरणमैत्री सामग्री प्रयोग गर्न उहाँले सबै श्रद्धालु, शवयात्री, आगन्तुक तथा स्थानीयवासीलाई आग्रह गर्नुभयो ।

नेपालको मध्यभागमा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधाम पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छ । मुक्तिनाथबाट प्रवाहित शालिग्रामवाहिनी कृष्णागण्डकी र गोसाइँकुण्डबाट उद्गम भएको त्रिशूली नदीको सङ्गमस्थलका रूपमा रहेको यो क्षेत्र पुराणहरूमा आदिप्रयाग, हरिहर क्षेत्र, कदम्ब तीर्थ तथा चक्रतीर्थका नामले चिनिन्छ ।

देवघाटधाममा एकादशी, पूर्णिमा, सङ्क्रान्ति तथा ग्रहणका अवसरमा नियमित मेला लाग्ने गर्दछ । तीमध्ये माघे सङ्क्रान्तिमा विशेष मेला लाग्ने परम्परा छ । यस अवसरमा देश तथा विदेशबाट ठूलो सङ्ख्यामा श्रद्धालु भक्तजनको आगमन हुने समितिले जनाएको छ ।

माघे सङ्क्रान्तिलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । ज्योतिषीय गणनाअनुसार सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने दिनलाई मकर सङ्क्रान्ति भनिन्छ । पद्मपुराणअनुसार यस दिन देवघाटधाममा स्नान गर्नाले अक्षय पुण्य प्राप्त हुनाका साथै प्रयागमा स्नान गरेसरहको फल प्राप्त हुने धार्मिक विश्वास रहिआएको अध्यक्ष डा लौडारीले बताउनुभयो । रासस