१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

इँटाभट्टा दबिएका बाल सपना

इँटाभट्टा दबिएका बाल सपना
फाइल तस्वीर
अ अ+ अ-

भक्तपुर। चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित इँटाभट्टामा दाङ घोराहीका १४ वर्षे सागर घर्ती बिहान पाँच बजे काममा तल्लिन छन् ।

उनी चिसो बिहानीमा चिसो माटोलाई साँचोमा राखेर इँटा बनाइरहेका छन् । घर्तीको सपना भविष्यमा पुलिस बन्नु हो । तर पढाइ लेखाइ गर्ने समयमा उनी बुवालाई साथ दिन काठमाडौँ आइपुगेका छन् ।

आर्थिक अवस्था कमजोर भएपछि बुवाको साथ लागेर आफू पैसा कमाउन यहाँ आएको उनले सुनाए । यहाँ कमाएको पैसाले घरमा रहेकी आमाको उपचार र बहिनीलाई पढाउन खर्च हुने उनको भनाइ छ ।

कक्षा ५ सम्म पढेका सागरलाई अझै पनि पढ्ने इच्छा छ । गत वर्ष पढाइलाई निरन्तरता दिन बुवा, आमा, बहिनीसँगै घर फर्किएका थिए । तर यस वर्ष भने फर्कने टुङ्गो छैन । सर्लाही रानीघाँटबाट आमाबाबुसँगै भक्तपुरको इँटाभट्टामा आइपुगेकी ११ वर्षीया रामप्यारी विकको भविष्य पनि सागरको जस्तै साँघुरो झ्याउलीको कुनामा कोचिएको छ ।

गरिबीको पीडा र तीन जना सन्तानमध्येकी जेठी उनी १० वर्ष हुँदा गतवर्ष पनि यही इँटा भट्टाको झ्यालीमा ६ महिना आमाबाबुसँगै बसेर फर्किएकी थिइन् ।

यहाँ उनको दैनिकी भाइबहिनीको रेखदेख गर्ने र अपराह्नपछि बिहान बनाएको इँटा पल्टाउने र सुकाउँदै बित्ने गरेको छ । त्यस काम गरेवापत उनले छुट्टै पारिश्रमिक भने पाउँदिनन् । उनले गरेको कामको पारिश्रमिक पनि बाबुले लिएको ठेक्कामै परेको छ । रामप्यारीको बुबा कान्छा विक छोरीलाई बालश्रममा लगाएको स्वीकार गर्नु हुन्न ।

त्यसैगरी आमाबुवासँग रोल्पादेखि आएकी १५ वर्षीया जुनकिरी सार्कीको कथा पनि उस्तै छ । उत्कट पढ्ने इच्छा हुँदा हुँदै उनी इँटाभट्टाको धूलोसँगैै पढ्ने उमेर बिताउनुपरेको छ । चाँगुनारायण नगरपालिका–८ सुडालस्थित एक इँटाभट्टामा काम गर्न थालेको पाँच वर्ष बितिसक्दा उनको पढ्ने चाहनाले पूर्णता पाएन ।

बुवाआमासँगै इँटाभट्टामा आइपुगेकी उनले मङ्सिरदेखि वैशाखसम्म इँटाभट्टाकै झ्याउलीमा बस्ने, इँटा पार्ने, बोक्ने काम गर्दै आएकी छिन् । जुनकिरी भन्छिन्, “पढ्ने चाहना त छ तर आमाबाबुको कमाइले ऋण तिर्नै पुग्दैन ।”

नाइकेको लहलहैमा तीन वर्ष अगाडि इँटाभट्टा प्रवेश गरेका १४ वर्षीय मने अर्थात मनबहादुर खड्का अब पढेर के हुन्छ र भन्ने अवस्थामा पुगेका छन् । भकुण्डेवेँसीमा रहेको परिवार छाडेर पैसा कमाउने रहरमा इँटाभट्टामा छिरेका उनले छ महिना इँटा भट्टामा र छ महिना बसका खलासीका काम गर्दै आएका छन् ।

“यहाँ खान पाइएकै छ, दुई चार सय भए पनि पैसा खेलाउन पाएको छु, कहिले इँटाभट्टा त कहिले  खलासी गरिरहेको छु, मेरो सपना त ड्राइभर बन्ने हो ।”

इँटा बोक्दै गरेकी १७ वर्षीया टुल्की विकलाई सबैभन्दा ठूलो चिन्ता एक वर्षकी एउटा छोरीको छ । श्रीमान्सँगै इँटाभट्टामा काम गर्दै आएकी विकलाई ठेक्का लिएको इँटा सबै सिध्याउँदा पाए हातमा रकम लिएर गाउँ फर्कन पाउने आशा उनको मनमा छ ।

एक अध्ययनअनुसार देशभरिका इँटाभट्टामा करिब २८ हजार बालश्रमिक छन् । भक्तपुरका इँटाभट्टा मात्रै ५०० भन्दा बढी बालबालिका छन् । त्यसो त भक्तपुरका चार वटा इँटाभट्टालाई बालश्रममुक्त घोषणा गरिएको पाँच वर्ष भयो । तर कुनै अनुगमन छैन । अहिले तिनै इँटाभट्टामा बालश्रमिक छन् । नियमनकारी निकाय नहुदाँ बालश्रम रोक्न सकिएको छैन ।

इँटा व्यवसायी सङ्घ भक्तपुरका अध्यक्ष नातीभाई ह्याम्बाले इँटाभट्टालाई बालश्रम मुक्त बनाउन खोजे पनि अभिभावकसँगै आउने बालबालिकालाई रोक्न नसकिएको बताउनुहुन्छ । रोल्पा, दाङ, रुकुम, सर्लाही, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकलगायतका जिल्लाबाट मजदुरसँगै आउने बालबालिकालाई काम नलाउ भने पनि अभिभावकले काम लगाउने गरेको व्यवसायीको गुनासो छ ।

अहिले बालबालिकाको पढाइका लागि स्कुल पठाउने व्यवस्था गरेको बताउँदै नाइकेसँगै आउने बालबालिकालाई काममा नलगाउने गरेपछि आउन छाडेको उहाँ बताउनुहुन्छ । इँटाभट्टामा पहिलाको जस्तो बालश्रम नरहेको उहाँको दाबी छ ।

बालश्रमको क्षेत्रमा विगत ३१ वर्षदेखि काम गर्दै आएको संस्था समाज सेवा तथा मानवअधिकारमा महिला र बालबालिका (सिविस) की अध्यक्ष विमला ज्ञवालीले अहिले ११ लाख बालबालिका कुनै न कुनै श्रममा आबद्ध रहेको बताउनुहुन्छ ।

आफ्नो संस्थाले बालश्रम रोक्नलाई गाउँमै अभिभावकलाई स्वरोजगार बनाउने कार्यक्रमसमेत रामेछाप, सिन्धुपाल्चोकलगायतमा सुरु गरेको बताउँदै सरकारले अभिभावकलाई गाउँमै स्वरोजगार बनाउन सके बालश्रम रोक्न सहज हुने बताउनुहुन्छ ।

बाल अधिकारकर्मी युवराज घिमिरेले नेपालमा अहिले पनि करिब दुई लाख बालबालिका जोखिमपूर्ण श्रममा संलग्न रहेको बताउनुहुन्छ । बालश्रममा आउनुको मुख्य कारण गरिबी नै रहेको उहाँको भनाइ छ । गाउँगाउँका स्थानीय सरकारले स्वरोजगार बढाउन सके बालश्रम रोकिने उहाँको भनाइ छ ।