काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बैठक भोलि दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
उनका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ। बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम र पार्टीको आगामी महाधिवेशनको तयारीबारे छलफल हुने जनाइएको छ।
कांग्रेसले यसअघि पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरे पनि कार्यतालिकाअनुसार तयारी अघि बढ्न नसकेको अवस्थामा बैठक बस्न लागेको हो।
स्रोतका अनुसार भोलिको बैठकले महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने विषयमा निर्णय गर्न सक्ने बताइएको छ।










