काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमसँग विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस एड्हानोम गेब्रेयससले शिष्टाचार भेट गर्नुभएको छ ।
छिमेकी मित्रराष्ट्र भारतको राजधानी नयाँ दिल्लीमा आज भएको भेटमा मन्त्री गौतमले नेपालमा मानसिक स्वास्थ्य सेवाको सुदृढीकरण, प्रजनन स्वास्थ्य तथा आप्रवासी स्वास्थ्यका विषयका नेपालको अवस्था स्पष्ट पार्नुभएको थियो ।
स्वास्थ्य बिमा र औषधि खरिद तथा व्यवस्थापन प्रणालीमा सुधार ल्याउन नेपाल सरकारले चालेका कदमबारे उहाँहरूबीच विस्तृत छलफल भएको मन्त्री गौतमको सचिवालयले जनाएको छ ।
सो अवसरमा महानिर्देशक गेब्रेयससले नेपाल सरकारले स्वास्थ्य क्षेत्रमा देखाएको उच्च प्रतिबद्धता र प्राथमिकताको प्रशंसा गर्नुभयो ।
उहाँले नेपालको स्वास्थ्य प्रणालीलाई थप प्रभावकारी बनाउन र तय गरिएका लक्ष्यहरू प्राप्त गर्न विश्व स्वास्थ्य सङ्गठनको तर्फबाट निरन्तर प्राविधिक तथा रणनीतिक सहयोग रहने आश्वासनसमेत दिनुभयो ।
स्वास्थ्य मन्त्री गौतम हाल नयाँ दिल्लीमा ‘डब्लुएचओ समिट अन ट्रेडिशनल मेडिसिन’ सम्मेलनमा सहभागी हुनुहुन्छ ।रासस










