२६ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सम्पदास्थलहरूको संरक्षण तथा मर्मतमा भएका गल्ती सच्याउन सर्वेक्षण



अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले भौतिक सम्पदास्थलहरूको संरक्षण, मर्मत तथा सम्भारका क्रममा विगतमा भएका त्रुटि सच्याउन सर्वेक्षणको काम थालनी गरेको छ ।

कामपा वडा नं २३ ले सर्वेक्षणको काम थालेको हो । प्राचीन सम्पदाका कुनै भाग टुटफुट भएमा त्यसलाई अड्याउन, थप बिग्रिन नदिन सिमेन्टलगायत आधुनिक निर्माण सामग्री प्रयोग भएका छन् ।

“यो काम सम्पदाको जग, पर्खाल, पेटी, गजुर, छानालगायत विभिन्न ठाउँमा भएका छन् । वडाध्यक्ष एवं कामपाको विधायन समितिका संयोजक मचाराजा महर्जनले जानकारी दिनुभयो ।

महर्जनका अनुसार वडाभित्र किराँतकाल, लिच्छवीकालदेखिका भौतिक सृजनाहरू छन् । मन्दिर, चिबहाजस्ता हिन्दू र बौद्ध धर्मसँग सम्बन्धित ८० वटा सम्पदा छन् ।

जीवित देवी श्रीकुमारीको निवास स्थान, नास द्यः, अट्को नारायण, जोर गणेश वडाका नाम चलेका सम्पदा हुन् । यी हरेक सम्पदासँग सम्बन्धित विशेष तथा वार्षिक पूजाआजासहितका धार्मिक र सामाजिक संस्कार सञ्चालन हुने गरेका छन् । उहाँ थप्दै भन्नुहुन्छ, “पुनरुत्थानका क्रममा आधुनिक निर्माण सामग्री हटाएर परम्परागत सामग्रीबाट मर्मतसम्भार गर्छौँ ।”

“अहिले वडाले प्राविधिक र स्थानीयको सहयोगमा कुन ठाउँमा के भएको छ ? त्यसको पुनःस्थापनाका लागि कस्ता बस्तु तथा सामग्री चाहिन्छन् ? लागत अनुमान कति हुन्छ ? अध्ययन गरिरहेको छ । यसबाट प्राप्त तथ्यका आधारमा पुनरुत्थान, नियमित मर्मतसम्भार तथा संरक्षण र दिगोपनाका लागि बजेटको व्यवस्था गर्छौँ”, महर्जनले योजना सुनाउनुभयो ।

वडाले थालेको यो कामको प्रशंसा गर्दै स्थानीय सम्पदा संरक्षणकर्मी गणपतिलाल श्रेष्ठ भन्नुहुन्छ, “पुरिएर आधा संरचना भएका चिवहाःलाई वडाले वास्तविक स्वरूपमा फर्काएर घुम्ने ठाउँ, पूजाआजा गर्ने ठाउँ बनाइदिएको छ । यसले केवल भौतिक संरचनाको मौलिकपनमात्र फर्काएको छैन, धार्मिक आस्था र सामाजिक जीवनमा प्राणसमेत भरेको छ ।”

वडाबाट चल्ने सबैभन्दा ठूलो जात्रा, येँःया (इन्द्रजात्रा) हो । यसबाहेक वडावासीले पाहाँचह्रे, सकीमिला पुन्ही, यमरी पुन्ही, चथा (गणेश चतुर्दशी), गुँला, यंलासहितका संस्कार मनाउँछन् । गुंला पर्वमा स्वयम्भू जाने चलन छ ।

वडाध्यक्ष महर्जनका अनुसार यंला महिनामा (थने) माथिल्लो टोलका स्थानीयहरू आआफ्ना पीठमा, दथु टोल (मध्य सहरका स्थानीय) ल्हुति र म्हेपिमा र कोने (तल्लो टोल) का मानिस पचली भैरव जाने चलन छ । भौतिक सम्पदाको पुनरुत्थानले सामाजिक प्रचलनका सम्बन्धहरूलाई दिगो बनाउने वडाको अपेक्षा छ । रासस